उद्दव बिष्ट, नगरप्रमुख पदका उम्मेदवार, गोकर्णेश्वर नगरपालिका, नेकपा (एमाले)यतिबेला देशभर स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ । निर्वाचनको चहलपहल बढेसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । यसै सिलसिलामा काठमाडौं भित्र पर्ने गोकर्णेश्वर नगरपालिकामा चुनावी गतिविधिहरु बारे जानकारी लिन नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका उद्दव बिष्टसँग हामीले कुराकानी गरेका छौं ।
यसपटकको चुनावी भेटघाटमा गोकर्णेश्वर नगरपालिकामा आफू निर्वाचित भएर आएपछि प्रशासनलाई व्यवस्थित, पारदर्शि र सुशासनमय बनाउने मुख्य एजेण्डा सहित बिष्ट चुनावी मैदानमा होमिनुभएको छ ।
गोकर्णेश्वर नगरपालिकामा अहिले सम्म सुशासन कायम हुन नसकेको, अपारदर्शिता र भ्रष्टाचार व्यापक रहेको, निर्वाचित जनप्रतिनिधिलाई सहज रुपमा जनतासँग भेटघाट गर्न सकिने स्थिति नरहेको र सरकारी कोषको दुरुपयोग हुँदै आएको स्थितिबाट बिष्ट असन्तुष्ट हुनुहन्छ । सोहीकारण आफ्नो उम्मेदवारी गोकर्णेश्वर नगरपालिकामा सुशासन कायम गर्नकै लागि भएको समेत उहाँ बताउनुहुन्छ ।
करिब ३४ हजार मतदाता रहेको उक्त नगरपालिकामा आफू निर्वाचित भई कार्यभार सम्हालेसँगै नियमित रुपमा विहान १० बजे देखि बेलुका ५ बजे सम्म कार्यालयमा नै रहेर आफूले प्रशासनलाई चुस्तदुरुस्त र व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुहुन्छ बिष्ट । लामो समय स्थानीय राजनीतिमा संलग्न रहेको कारण स्थानीय जनताहरुका समस्यालाई नजिकबाट बुझ्नुभएका बिष्ट स्थानीय सरकार प्रमुखको हैसियतले प्राप्त गर्ने नियमित तलबभत्ता, गाडी लगायतका सुविधाहरु नलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफूले पाउने तलब बापतको रकम शिक्षा क्षेत्रको विकासको लागि खर्चिने बिष्टको धारणा छ ।
आफ्नो नियमित आयस्रोतको अलग्गै व्यवस्था रहेकोले आफूले नगरपालिकाबाट आर्थिक लाभको कुनै अपेक्षा नगर्ने बताउँदै आफ्नो एकमात्र उद्देश्य सुव्यवस्थित, पारदर्शि नगरपालिका बनाउने रहेको समेत उहाँ बताउनुहुन्छ । सडक, खानेपानी, फोहोरमैला, नगरपालिकाको प्रशासनिक भवन निर्माण लगायतका विकासका पूर्वाधार निर्माण समेत आफ्नो प्राथमिकतामा रहने बिष्ट बताउनुहुन्छ ।
कार्यालयबाट प्रवाह गर्ने सेवालाई व्यवस्थित गर्न बिष्टका यस्ता छन् योजनाहरु
नियमित रुपमा १० देखि ५ बजे सम्म कार्यालयमा नै रहने
प्रशासनलाई चुस्तदुरुस्त बनाउने
झण्झटमुक्त तवरले सेवा प्रवाह गर्ने
सेवा प्रवाह गर्ने क्रममा प्रविधिको प्रयोगलाई उच्च महत्व दिने
जनताका गुनासो सुन्न अलग्गै हटलाइनको व्यवस्था गरी तत्काल समाधान पहल गर्ने
जनताका सुझावलाई नगरप्रशासन सुधारको लागि उपयोगी बनाउने
फोहोरमैला व्यवस्थापन सम्बन्धमा यस्तो छ विष्टको धारणा
फोहोरमैला व्यवस्थापनको लागि हामीले कसैलाई ठेक्कामा नदिई नगरपालिकाको आफ्नै पहलमा फोहोर व्यवस्थापनको काम गर्नेछौं । कार्यालय समयमा फोहोर संकलनका गाडी चल्न दिनेछ्रैनौं । फोहोरमैलाको उचित व्यवस्थापनको लागि विज्ञहरुसँगको छलफलबाट उचित समाधान निकाल्नेछौं । फोहोर व्यवस्थापनका नयाँ प्रविधिको अवलम्बन गर्न प्रयाश गर्नेछौं ।
गोकर्णेश्वरको राजनीतिक अवस्था
अहिलेको निर्वाचनमा करिब ३४ हजार योग्य मतदाताहरु गोकर्णेश्वर नगरपालिकामा रहनुभएको छ । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा सबै पदमा गरी नेकपाबाट २३, काङ्ग्रेसबाट २३ र राप्रपाबाट १ जनाले विजय हासिल गरेका थिए । जसमध्ये नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसका प्रतिनिधि विजयी हुनुभएको थियो ।
यसपटक अघिल्लो नेतृत्वको काङ्ग्रेसको नेतृत्वबाट असन्तुष्ट स्थानीय जनताहरुले सुशासन, पारदर्शिता र सहज रुपमा सेवा प्रवाह गर्न सक्षम नेतृत्व खोजी गरेका हुनाले यसपटक जनताले नेकपा (एमाले)लाई विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको नगरप्रमुख उम्मेदवार विष्ट बताउनुहुन्छ ।
को हुनुहुन्छ उद्धव बिष्ट ?
नेकपा (एमाले)का विभिन्न कमिटीहरुमा रहँदै आफूले लिएको जिम्मेवारी सहज रुपमा पूरा गर्दै अघी बढ्नुभएका व्यक्ति हुनुहुन्छ उद्दव बिष्ट । वि.सं २०४४ देखि अनेरास्ववियु कमिटी सदस्य (नेपाल ल क्याम्पस)बाट राजनीतिक जिम्मेवारी लिँदै उहाँ निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । २०४९ मा नेकपा (एमाले)बाट गाविस अध्यक्षका उम्मेदवार बन्नुभएका उहाँ २०५४ को स्थानीय तह निर्वाचनमा निर्वाचित गाविस अध्यक्ष बन्न सफल हुनुभयो । झण्डै २ दशक नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी सदस्यको रुपमा क्रियाशिल रहनुभएका बिष्ट हाल गोकर्णेश्वर नगरपालिकामा नेकपा (एमाले)को अध्यक्षको भूमिका निर्वाह गरिरहनुभएका व्यक्ति हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij