
काठमाडौं महानगरपालिकामा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी ठूलो शक्तिको रुपमा उदय भइरहेको छ । वर्तमान नेतृत्वका माननीय राजेन्द्र लिङ्देन नेतृत्वका योजना र प्रतिबद्धता प्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । अहिले यस पार्टीले आम मानिसका समस्याहरु समाधानको अलावा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सनातन हिन्दू धर्म र राजसंस्था लगायतका विभिन्न एजेण्डाहरु बोकेको छ । सोहीबमोजिम ती एजेण्डाहरु जनतालाई बुझाउन र हाम्रा विकासका योजनाहरु पस्कँदै हाम्रो पक्षमा जनमत सृजना गर्नको लागि अहिले हामीले घरदैलो कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यद्यपि हाम्रा कार्यक्रमहरुमा काठमाडौं महानगरबासीहरुलाई विश्वास दिलाउन हामीलाई गाह्रो परेको छ । अन्य राजनीतिक दलहरुले अहिले सम्म जनताहरुलाई भुलभुलैयामा भुलाएका छन् । जनताका नाममा आफूले भने मोजमस्ती गरिरहेका छन् । राजनीतिलाई अहिले एक किसिमले व्यापारिक सिण्डिकेट जस्तो बनाएका छन् । जसले गर्दा जनताहरु शोषित भइरहेका छन् । राष्ट्र ऋणमा डुब्दै गएको छ । मुलुकमा आर्थिक सङ्कट सृजना हुन सक्ने स्थिति देखिएको छ । यो अवस्था आखिर कसरी आयो त ? अहिले श्रृलङ्कामा आर्थिक सङ्कट सृजना हुनुमा त्यहाँको परिवारवाद र आफन्तवादको आडमा राज्य चलाएको कारण पुष्टि भएको छ । त्यहाँ कागज किन्न नसकेर विद्यार्थी परिक्षा दिनबाट वञ्चित हुनुपर्यो । पेट्रोलियम पदार्थ आयात गर्न नसक्दा कलकारखानाहरु बन्द गर्नुपरेको छ । नेपालमा पनि जेठ १ देखि हप्तामा २ दिन बिदा दिने नियम ल्याईंदैछ । आखिर यस्तो अवस्था किन सृजना भयो त ? हाम्रो व्यवस्था नराम्रो त होइन । तर त्यो व्यवस्थामा बसेर राज्यसत्ता हाँक्ने व्यक्तिहरुमा इमान्दारिता नभई सुशासन कायम हुन नसकेको कारण अहिले यो अवस्था आएको मेरो बुझाई छ ।
भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह
हामीले राप्रपाको नारा नै तय गरेका छौं कि भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो । यसैगरी हामीले पार्टीमा आर्थिक लोभ, लालच र स्वार्थसिद्धिको भावले पार्टीमा आउन चाहने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छौं । अहिलेका हाम्रा सबै एजेण्डाहरु सम्पूर्ण नेपाली जनताका एजेण्डाहरु हुन् ।
विकासका एजेण्डाहरु
काठमाडौंबासीहरुले धेरै चाहना राखेका छैनन् । स्वस्थ वायु, ढल र दुर्गन्धको समाधान, पार्किङ, स्वच्छ खानेपानी, काम गरेर खाने वातावरणको खोजी यहाँका बासिन्दाले गरेका छन् । यी साधारण समस्या नै हुन् । जुन समाधान गर्न गाह्रो पर्दैन । अन्य दिगो महत्वका योजनाहरु पनि सार्थक पार्नुछ ।
काठमाडौंको नाम परिवर्तन गरौं
काठमाडौं शहरको नाम परिवर्तन गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यस शहरको नाम परिवर्तन गरेर सांस्कृतिक नाम कान्तिपुर कायम गरौं न त । यो प्राचीन नाम हो । कान्ति शब्दले नै उज्यालो, सुन्दर, कञ्चन भन्ने अर्थ बुझाउँछ । भक्तपुरले आफ्नो नाम अहिले पनि सोही भक्तपुर नै राखेको छ । विदेशमा पनि बम्बइलाई मुम्बई बनाइएको छ । कलकत्तालाई कोलकता राखिएको छ । यसरी नै कान्तिपुर हाम्रो पहिचान जोडिएको नाम समेत हो ।
सुकुम्बासी समाधान
सुकुम्बासी समस्या अहिले पनि ठूलो समस्याको रुपमा रहेको छ । सुकुम्बासीहरुलाई लालपुर्जा सहित अपनत्व हुने गरी सार्वजनिक जग्गामा बसोबासको व्यवस्था गर्नुपर्ने जरुरी छ । अहिले सुकुम्बासीमाथि राजनीति हुँदै आएको छ । यस किसिमको आफ्नो स्वार्थको लागि सुकुम्बासीलाई सडकमा पटक–पटक उतार्ने चलन प्रति मेरो असन्तुष्टि छ ।
काठमाडौं महानगरपालिका प्राधिकरण स्थापना
सबै विषयका विज्ञहरुको सहकार्य र समन्वयमा काम हुने गरी काठमाडौं महानगरपालिका प्राधिकरणको मैले परिकल्पना गरेको छु । महानगरपालिकामा रहँदै आएका प्रशासनिक झण्झटहरुलाई समाधान गर्नुपर्नेछ । महानगरपालिका भित्र हुने कुनै विकास योजनाहरु वडा–वडामा स्थानीय जनतासँग छलफल र राय सहित योजना कार्यान्वयन मेरो योजनामा रहन्छ ।
अन्त्यमा
हामीले इमान्दारीपूर्वक काम गर्यौं भने महानगर लगायत सिङ्गो राष्ट्रमा सृजना भएका सबै किसिमका विकृतिहरु हटाउन सक्छौं । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्ने हो भने त्यो काम महानगरपालिकाबाट नै शुरुवात गर्नुपर्छ ।
फोहोर माथिको राजनीति अन्त्य गरौं
महानगरमा फोहोरको स्थायी रुपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता छ । अहिले फोहोरको समस्या समाधान नहुनुमा फोहोर भित्र गरिएको फोहोरी राजनीतिले मुख्य भूमिका खेलेको छ । हुनतः शहरको परिकल्पना गर्ने समयमा नै ढलको समस्यालाई पहिले नै विचार गरेर यसको लागि उपयुक्त विधि हामीले अपनाउनुपर्ने थियो । त्यसो गरेनौं । अब जसरी हुन्छ, यसको वैकल्पिक समाधान निकाल्नुछ । हामीले बाग्मती सरसफाई अभियानमा करोडौं अरबौं खर्च गर्यौं । तर बाग्मती आखिर कहाँ सफा भयो ? हामीले साँच्चै कुनै स्वार्थ नराखी बाग्मती सफाई गर्ने हो भने भारतको यमुना नदी सफा भएजसरी दत्तचित्त भएर स्थायी समाधान निकाल्न तर्फ लाग्नुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij