
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेम केसी एक विकासप्रेमी नेताको रुपमा युवा पंक्तिको नेतृत्व गर्ने व्यक्ति हुन् ।
संघीय व्यवस्था पछिको स्थानीय तहको दोस्रो निर्वाचनमार्फत सम्पूर्ण मदानेबासीको हकहित र पूर्वाधार विकासको अभिप्रायले आफूले उम्मेदवारी दिएको मदानेबाट अध्यक्ष पदका उम्मेदवार प्रेम केसीले बताएका छन् ।
मदानेको विकास र समृद्धिको आफ्नो सपना साकार पार्न स्थानीय विकासप्रेमी जनसमुदायको साथसहयोग आफ्नो नेतृत्वको गाउँपालिकालाई निरन्तर आवश्यक रहने समेत केसीले अपेक्षा गरेका छन् ।
आफू लगायत निर्वाचित जनप्रतिनिधिहरुले मात्र सिङ्गो मदानेको विकास गर्न सम्भव नहुने बताउँदै उम्मेदवार केसीले स्थानीय जनताहरुका सुझाव सल्लाह बमोजिम नै विकास गतिविधिहरु सञ्चालन गर्ने समेत बताएका हुन् ।
यसपटकको स्थानीय तहको निर्वाचनको समयमा अन्य दलहरुले बाहिर देख्दा नेकपा (एमाले)लाई धोका दिनको लागि मात्र गठबन्धन गरेजस्तो देखिएपनि उक्त गठबन्धन समग्र मुलुकलाई विकास र समृद्धिको पक्षमा अघी बढाउन चाहने सम्पूर्ण नेपाली जनताहरुको आकाङ्क्षा विरुद्धको गठबन्धन भएको आरोप केसीको छ ।
साथै जनताहरु भ्रममा नपरी सूर्य ध्वजावाहक सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन केसीले आग्रह समेत गरेका छन् ।
नेपालको समृद्धि, विकास र राष्ट्रिय स्वाभिमानको एजेण्डा लिएर नेकपा (एमाले) चुनावी मैदानमा खटिएको बताउँदै उम्मेदवार केसीले सुशासन र पहिचान सहितको समृद्धि कायम गर्नको लागि स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)लाई मतदान मार्फत विजयी गराउनुको विकल्प नभएको समेत बताएका छन् ।
समग्र मदानेको विकास र भविष्यको स्पष्ट खाका सहित मदानेको दिगो विकास एवं उपलब्ध स्रोतसाधनको उच्चतम उपयोेग मार्फत जनताको आर्थिक रुपान्तरण नै आफ्नो ५ बर्षे कार्यकालको मुख्य उद्देश्य हुने केसीले प्रष्ट पारे ।
उम्मेदवार केसीले अघिल्लो पटक एमाले तर्फका निर्वाचित अध्यक्ष दान बहादुर केसी नेतृत्वको मदाने गाउँपालिकाले समृद्ध मदाने निर्माणको लागि महत्वपूर्ण कामहरु अघी बढाएको, दिगो विकासको आवश्यकता बमोजिम महत्वपूर्ण नीतिहरु तर्जुमा गरेको र नगरप्रशासनलाई सुशासन र पारदर्शि एवं व्यवस्थित बनाएको भन्दै अघिल्लो नेतृत्वो प्रशंसा समेत व्यक्त गरेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा मदानेमा निरन्तर रुपमा नेकपा (एमाले)मा प्रवेश गर्नेहरुको जनलहर समेत निरन्तर कायम रहँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij