काठमाडौं । टोखा नगरपालिकाका निवर्तमान मेयर एवं आसन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकाल मेयर पदका उम्मेदवार प्रकाश अधिकारीले आफूहरूले अघिल्लो कार्यकालमा विभिन्न समस्याहरुको वावजुद राम्रो नतिजा दिन सफलm भएको बताउनुभएको छ ।
आफूहरुको अघिल्लो कार्यकालको अनुभव बताउँदै अधिकारीले स्थानीय निकायको लागि नियमित गतिविधिको अलावा कानुन निर्माण गर्नुपर्ने अवस्था रहेको, नगरपालिकाको अलग्गै भौतिक पूर्वाधार एवं प्रशासनिक भवन नभएको, कोभिड–१९ को सामना गर्नुपरेको लगायत विभिन्न परिस्थितिले चाहेजति काम गर्न नसकेपनि ७५ प्रतिशत उपलब्धि हासिल गर्न सफल रहेको बताउनुभएको छ ।
यसपटकको निर्वाचन मार्फत अघिल्लो कार्यकालमा आफूले अघी बढाएका तर पूरा हुन बाँकी रहेका कार्यहरुलाई पूर्णता दिनुको अलावा नमुना टोखा नगरपालिका स्थापना गर्ने जनताको सपना साकार पार्नको लागि पुनः आफू लगायत आफ्नो सम्पूर्ण टीमलाई मतदान मार्फत विजयी गराउनुहुन अधिकारीले आग्रह गर्नुभएको छ ।
मतदाताको माया र सद्भावले आफूलाई निरन्तर कार्य क्षेत्रमा खटिन प्रेरणा मिलेको बताउँदै आफ्नो पहिलो कार्यकालमा जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने कार्यमा आफूहरुको निर्वाचित टीमको प्रदर्शन उत्कृष्ट रहेको समेत उहाँल बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार विकास लगायत विभिन्न क्षेत्रहरुमा आफूहरुले अपेक्षा गरेअनुसार प्रगति गर्न नसकेको स्वीकार्दै अधिकारीले पहिलो कार्यकालमा ७५ प्रतिशत विकास कार्य सम्पन्न भएको बताउनुभयो ।
‘सुखी टोखाबासी ः समृद्ध टोखा’को नारालाई साकार पार्ने र टोखामा रहेका ऐतिहासिक धार्मिक क्षेत्रहरुको संरक्षण र प्रवद्धन गर्ने आफूहरुको उद्घोषमा टेकेर नै आफूहरुले विकासका यी कामहरु सम्पन्न गरेको मेयरका उम्मेदवार अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार नगरपालिकाले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी विभिन्न योजनाहरु अघी सारेको छ । अल्पकालिन योजनाहरु सम्पन्न भइसकेका छन् । मध्यकालिन र दीर्घकालिन आयोजना कुनै निर्माण सम्पन्न हुने क्रममा रहेका छन् त कुनै सम्भाव्यता अध्ययन लगायत प्रक्रियामा छन् ।
अन्तरनिकाय समन्वय मार्फत आफ्नो नेतृत्वले यी कार्यक्रमहरु सफल पारेको समेत अधिकारीले बताउनुभयो । अर्को कार्यकाल निर्वाचित हुन सकेको खण्डमा नगरपालिकालाई थप सेवामैत्री बनाउने र विकासनिर्माणको क्षेत्रमा उल्लेख प्रगति गर्ने प्रतिबद्धता समेत अधिकारीले जनाउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij