राजेन्द्र महर्जन, वडा अध्यक्षका उम्मेद्वार, नेकपा (एमाले), कीर्तिपुर–३राजेन्द्र महर्जन कीर्तिपुर नगरपालिका वडा नम्बर ३ का निवर्तमान अध्यक्ष हुन् । यसपटक उनले पुनः सोही वडामा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । पहिलो कार्यकाल मूलतः नीतिगत व्यवस्था तय गर्ने क्रममा नै शुरुका बर्षहरु बितेको उनी बताउँछन् । आफ्नो वडामा विनियोजित बजेट मुलतः बाटो, पानी, ढल निकास, मन्दिर लगायत संरचना निर्माण लगायतका थुप्रै विकासमूलक कार्यमा उपयोग भएको महर्जनको धारणा छ ।
विकास नियमित क्रियाकलाप भएको बताउँदै महर्जन स्थानीय तह स्थापनाको पहिलो कार्यकालले विकासको जग तयार पारेको हुनाले अबको नेतृत्वलाई त्यति जगमा टेकेर विकासका गतिविधिहरु अघी बढाउन धेरै सहज हुने महर्जन बताउँछन् ।
भूकम्प पश्चात् माटोले पुरेर बस्ती बसेका कीर्तिपुर–३ खासिबजारका पोखरीहरुलाई पुनः पहिलेको भन्दा राम्रो स्वरुपमा फर्काउन सक्नुलाई आफ्नो अघिल्लो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिन्छन् महर्जन । अहिले कीर्तिपुरका पुरातात्विक ३ ओटा पोखरी मध्ये २ ओटा पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेका छन् । बाँकी एउटा पोखरीमा पनि धमाधम निर्माण कार्य भइरहेको छ ।
अब कीर्तिपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्दै लैजानुपर्ने र त्यो कार्य गाह्रो नभएको महर्जनको धारणा छ । साथै अबको विकास भौतिक पूर्वाधारको अलावा मानिसको चेतना जागरण, फोहोरमैलाको उचित व्यवस्थापन, सीप विकास र उद्यमशिल वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने समेत महर्जन बताउँछन् ।
अन्तर निकाय समन्वय आवश्यक रहन्छ
अहिले नेपाल सरकार मातहतका विभिन्न कार्यहरु सञ्चालन गर्ने क्रममा सरोकारवाला निकायहरु दूरसञ्चार प्राधिकरण, सडक विभाग, ढल निकास विभाग, यातायात कार्यालय लगायतसँग उचित समन्वय हुन सकेको छैन । जसले गर्दा (पटक–पटक सडक खन्ने क्रममा) एउटै कार्यक्रमको लागि एकातिर ठूलो रकम खर्च हुने, अर्कोतिर जनताले पटक–पटक सास्ती व्यहोर्नुपर्ने अवस्था रहँदै आएको छ । यसलाइ सम्बोधन गर्न नगरपालिकाले पहलकदमी लिनुपर्ने आवश्यकता छ ।
अहिलेको व्यवस्था अनुसार टेण्डर खोलिसकेपछि वडा कार्यालय वा नगरपालिकाले चाहेर पनि कुनै त्रुटि देखिएको खण्डमा त्यसलाई सच्याउन सकिने कुनै संयन्त्र छैन । कीर्तिपुर वडा नं ३ कार्यालयकै अगाडिकै ढल्पा–रारा हिल सडकमा पटक–पटक यस्तो समस्या दोहोरिँदै आएको छ । यस कार्यमा सामान्यतया स्थानीय जनताले त्यसो हुनुमा मुख्य दोषी वडा कार्यालय वा नगरपालिकालाई नै देख्ने गरेका हुन्छन् । तर किसिमको समस्या समाधान एउटै निकाय (नगरपालिका)को मात्र पहलमा समाधान नहुने भएकोले यी र यस्ता क्रियाकलालाई उचित समाधान गर्नु जरुरी रहन्छ ।
३ नम्बर वडामा एमालेको अवस्था
यस वडामा एमालेको अवस्था अत्यन्तै बलियो छ । लामो समय देखि यस क्षेत्रमा एमालेले नै विजय हासिल गर्दै आएको छ । कीर्तिपुरमा गठबन्धनका अन्य दलहरुको अवस्था कमजोर देखिएको छ । यसपटक एमालेले वडा–वडामा चुनावलक्षित कमिटीहरु गठन गरेको छ । यसलाई हेर्दा एमालेको अवस्था निकै राम्रो छ । हामीले अवश्य पनि विजय हासिल गर्नेछौं भन्नेमा हामी पूर्ण विश्वस्त छौं । कीर्तिपुर–३ मा पुरानो तथ्याङ्क अनुसार करिब २६ सय मतदाताहरु रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij