
यतिबेला देशभर स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ । निर्वाचनको चहलपहल बढेसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । यसै सिलसिलामा काठमाडौं भित्र पर्ने गोकर्णेश्वर नगरपालिकामा चुनावी गतिविधिहरु बारे जानकारी लिन नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका उद्दव बिष्टसँग हामीले कुराकानी गरेका छौं ।
यसपटकको चुनावी भेटघाटमा गोकर्णेश्वर नगरपालिकामा आफू निर्वाचित भएर आएपछि प्रशासनलाई व्यवस्थित, पारदर्शि र सुशासनमय बनाउने मुख्य एजेण्डा सहित बिष्ट चुनावी मैदानमा होमिनुभएको छ ।
गोकर्णेश्वर नगरपालिकामा अहिले सम्म सुशासन कायम हुन नसकेको, अपारदर्शिता र भ्रष्टाचार व्यापक रहेको, निर्वाचित जनप्रतिनिधिलाई सहज रुपमा जनतासँग भेटघाट गर्न सकिने स्थिति नरहेको र सरकारी कोषको दुरुपयोग हुँदै आएको स्थितिबाट बिष्ट असन्तुष्ट हुनुहन्छ । सोहीकारण आफ्नो उम्मेदवारी गोकर्णेश्वर नगरपालिकामा सुशासन कायम गर्नकै लागि भएको समेत उहाँ बताउनुहुन्छ ।
करिब ३४ हजार मतदाता रहेको उक्त नगरपालिकामा आफू निर्वाचित भई कार्यभार सम्हालेसँगै नियमित रुपमा विहान १० बजे देखि बेलुका ५ बजे सम्म कार्यालयमा नै रहेर आफूले प्रशासनलाई चुस्तदुरुस्त र व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुहुन्छ बिष्ट । लामो समय स्थानीय राजनीतिमा संलग्न रहेको कारण स्थानीय जनताहरुका समस्यालाई नजिकबाट बुझ्नुभएका बिष्ट स्थानीय सरकार प्रमुखको हैसियतले प्राप्त गर्ने नियमित तलबभत्ता, गाडी लगायतका सुविधाहरु नलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफूले पाउने तलब बापतको रकम शिक्षा क्षेत्रको विकासको लागि खर्चिने बिष्टको धारणा छ ।
आफ्नो नियमित आयस्रोतको अलग्गै व्यवस्था रहेकोले आफूले नगरपालिकाबाट आर्थिक लाभको कुनै अपेक्षा नगर्ने बताउँदै आफ्नो एकमात्र उद्देश्य सुव्यवस्थित, पारदर्शि नगरपालिका बनाउने रहेको समेत उहाँ बताउनुहुन्छ । सडक, खानेपानी, फोहोरमैला, नगरपालिकाको प्रशासनिक भवन निर्माण लगायतका विकासका पूर्वाधार निर्माण समेत आफ्नो प्राथमिकतामा रहने बिष्ट बताउनुहुन्छ ।
फोहोरमैला व्यवस्थापन सम्बन्धमा यस्तो छ विष्टको धारणा
फोहोरमैला व्यवस्थापनको लागि हामीले कसैलाई ठेक्कामा नदिई नगरपालिकाको आफ्नै पहलमा फोहोर व्यवस्थापनको काम गर्नेछौं । कार्यालय समयमा फोहोर संकलनका गाडी चल्न दिनेछ्रैनौं । फोहोरमैलाको उचित व्यवस्थापनको लागि विज्ञहरुसँगको छलफलबाट उचित समाधान निकाल्नेछौं । फोहोर व्यवस्थापनका नयाँ प्रविधिको अवलम्बन गर्न प्रयाश गर्नेछौं ।
गोकर्णेश्वरको राजनीतिक अवस्था
अहिलेको निर्वाचनमा करिब ३४ हजार योग्य मतदाताहरु गोकर्णेश्वर नगरपालिकामा रहनुभएको छ । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा सबै पदमा गरी नेकपाबाट २३, काङ्ग्रेसबाट २३ र राप्रपाबाट १ जनाले विजय हासिल गरेका थिए । जसमध्ये नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसका प्रतिनिधि विजयी हुनुभएको थियो ।
यसपटक अघिल्लो नेतृत्वको काङ्ग्रेसको नेतृत्वबाट असन्तुष्ट स्थानीय जनताहरुले सुशासन, पारदर्शिता र सहज रुपमा सेवा प्रवाह गर्न सक्षम नेतृत्व खोजी गरेका हुनाले यसपटक जनताले नेकपा (एमाले)लाई विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको नगरप्रमुख उम्मेदवार विष्ट बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij