
सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी उपाध्यक्ष एवं एमाले नेता ठानेश्वर बस्यालले अहिले सम्म पनि काठमाडौंमा नै रहनुभएका एमालेका नेता कार्यकर्ताहरुलाई आफ्नो स्थानीय निकायमा यथाशिघ्र फर्कन आग्रह गर्नुभएको छ ।
उहाँले स्थानीय तह निर्वाचनमा सम्पर्क मञ्चको भूमिका विषयक कार्यक्रम काठमाडौंका कार्यकर्ता एवं मतदाताहरुलाई गाउँ फर्काउन अन्तिम लहर सृजना गर्ने कार्यक्रमको रुपमा समेत आफ्नो धारणा व्यक्त गर्नुभयो ।
पार्टीका विभिन्न जिम्मेवार कमिटीमा रहेर भोट हाल्न आफ्नो मतदान केन्द्र सम्म उपस्थित समेत नहुने व्यक्ति कुनै हालतमा एमाले हुन नसक्ने बताउँदै उहाँले पार्टी प्रति आस्थावान् हरेक व्यक्तिलाई गाउँ फर्कन र एमालेको पक्षमा जनलहर ल्याउन आग्रह गर्नुभएको छ ।
एमालेलाई जिताउन गाउँ नफर्कने कार्यकर्तालाई पार्टीले कारबाही गर्ने समेत बस्यालले बताउनुभयो ।
गठबन्धनको शक्ति कमजोर भइसकेको बताउँदै नेता बस्यालले लथालिङ्ग र भताभुङ्ग भइसकेको गठबन्धन अब भट्टीवालाहरु जमघट हुने प्लेटफर्ममा सीमित बन्दै गएको तर्क समेत गर्नुभयो ।
स्पष्ट नीति अङ्गिकार नगरेको गठबन्धन कमजोर बनिसकेको छ, उहाँको तर्क छ । उम्मेदवार मनोनयनको क्रममा देखिएका विभिन्न दृश्य एवं समाचारहरुले यसको पुष्टि गरिसकेको बताउँदै गठबन्धनकै कारण गठबन्धनकारी पार्टीहरु थप कमजोर बन्दै गएका र यसको लाभ नेकपा (एमाले)ले प्राप्त गर्ने र पहिलो पार्टीको रुपमा नेकपा (एमाले) नै स्थापित हुने समेत बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij