२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

गठबन्धन भताभुङ्ग भइसक्याे, एमाले पुनः पहिलाे पार्टी हुनेछः महासचिव पाेखरेल

गठबन्धन भताभुङ्ग भइसक्याे, एमाले पुनः पहिलाे पार्टी हुनेछः महासचिव पाेखरेल

काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले स्थानीय तहको निर्वाचनमा सम्पर्क मञ्चहरुको भूमिका विषयक एक कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ । हिजो (बैशाख १३ गते) आयोजित उक्त कार्यक्रम नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मूलतः काठमाडौंमा रही पार्टीकाे विभिन्न भूमिकामा रहेका व्यक्तिहरुको स्थानीय तह निर्वाचनमा महत्वपूर्ण भूमिका रहने कुरामा कार्यक्रम केन्द्रित थियो । निर्वाचनको क्रममा वुथ निर्माण, मतदाता पहिचान, मतदान सहजीकरण, धाँधलीरहित तवरले निर्वाचन सम्पन्न बनाउने लगायत विभिन्न क्रियाकलापमा क्रियाशिल कार्यकर्ताको भूमिका महत्वपूर्ण रहनेमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरिएको छ ।

कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी अध्यक्ष श्याम बस्नेत, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी उपाध्यक्ष ठानेश्वर बस्याल लगायतले अभिव्यक्ति राख्नुभयो ।

कार्यक्रममा बोल्ने सबै वक्ताहरुले नेकपा (एमाले) यसपटकको स्थानीय तह निर्वाचन मार्फत पुनः सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित हुने कुरामा जोड दिनुभएको छ ।

मुलुक समृद्ध बन्न नसक्नुमा परिवर्तनकारी ठूलो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउँदै अब नेकपा (एमाले) एउटा राजनीतिक दलको रुपमा मात्र सीमित नभई निर्वाचन मार्फत सबैले स्वीकार गर्न सक्ने ठूलो राष्ट्रिय शक्तिको रुपमा उदाउने पार्टी महासचिवको धारणा छ ।

अहिलेको गठबन्धनमा माधव कुमार नेपाल नेतृत्वको समाजवादी र प्रचण्ड नेतृत्वको माओवादी समेत पुँजीवादी अर्थतन्त्रको वकालत गर्ने दल नेपाली (काङ्ग्रेस)को छत्रछायामा रहेको र उक्त गठबन्धन स्पष्ट नीतिविहीन भएकोले मुलुक परिवर्तनको पक्षमा कुनै अपेक्षा गर्न नसकिने बताउनुभयो । साथै उक्त गठबन्धन विकास र समृद्धिको लागि बनेको नभई विकास, समृद्धि र शुसासनको पक्षमा एमालेले उठाएका विषयवस्तुहरुलाई अवरोध गर्नकै लागि बनेको समेत बताउनुभयो ।

मनोनयनको क्रममा गठबन्धन भित्र देखिएका असन्तुष्टि एवं बागी उम्मेदवारी लगायतका परिदृश्यले गठबन्धनकारी दलहरुलाई शुरुमै ठेस पुर्याएको समेत बताउनुभयो । विगतमा राष्ट्रिय पार्टी मानिने माओवादीले देशभरबाट केवल २५ प्रतिशत ठाउँबाट मात्र मनोनयन दर्ता गराएको र यसले पार्टीलाई सानो घेरामा खुम्च्याएको समेत तर्क गर्नुभयो ।

नेकपा (एमाले) आशा र विश्वास सहित निर्वाचनमा होमिएको एकमात्र पार्टी भएकोले आगामी दिनमा देशमा समृद्धि ल्याउने एकमात्र पार्टी नेकपा (एमाले) मात्रै रहेकोले मुलुकको विकासमा चिन्तित सही ट्रयाकमा हिँड्न नसकेका सम्पूर्ण बामपन्थी शक्तिहरुलाई नेकपा (एमाले)सँग सहकार्यमा आउन आग्रह समेत गर्नुभयो । नेपालमा धेरै दल रहँदा वैदेशिक चलखेल, अराजनीतिक गतिविधि, विचलन र जनतामा निराशा पैदा भएको बताउँदै अब मुख्य २ विचारधाराका दलहरु एमाले (समाजवादी) र काङ्ग्रेस (पुँजीवादी विचार) मात्रै मुलुकको आवश्यकता रहेको समेत स्पष्ट पार्नुभयो ।

पछिल्लो ६–८ महिनाको अवधिमा मुलुकको अर्थतन्त्र निकै नै कमजोर बनेको तथ्याङ्क राष्ट्र बैंकका रिपोर्टले स्पष्ट पारेको बताउँदै मूल्यवृद्धि ४ प्रतिशतबाट ७ प्रतिशत पुगेको र उक्त दर नजिकिँदै गएका चाडपर्वमा अझ बढ्ने, वैदेशिक मुद्रा सञ्चिती घटेको, रेमिट्यान्स घटेको बताउनुभयो ।

राज्य सञ्चालन क्षमता नभएका व्यक्तिहरुलाई राज्य सत्ता हस्तान्तरण गर्दा यस्तो स्थिति आएको बताउँदै आगामी दिनमा पुनः यस्तो अवस्था दोहोरिन नदिन अहिले एमाले कार्यकर्ता अत्यन्तै जागरुक बन्नुपर्ने समय भएको समेत बताउनुभयो ।

राष्ट्रिय स्वाधिनता र स्वभिमान एवं सबल अर्थतन्त्र एमालेका मुख्य एजेण्डा भएको बताउँदै नेकपा (एमाले) ती एजेण्डाहरुमा टेकेर निरन्तर अगाडि बढिरहेको र यसलाई सार्थक बनाउन प्राज्ञिक, बौद्धिक र क्षमतावान् व्यक्तिहरुको साथ आवश्यक रहने समेत नेता पोखरेलले बताउनुभयो ।

नेकपा (एमाले)का नेता केपी शर्मा ओलिले पहिलो कार्यकालमा जनताहरुलाई दीर्घकालिन सपना देखाएको र दोस्रो कार्यकालमा ती सपनाहरु साकार हुने आधारको रुपमा भारत र चीनसँगको निकट सम्बन्ध स्थापना, पानीजहाज, रेलको सुनिश्चितता एवं आकाश माथिको अधिकार सुनिश्चितता गर्न सफल भएको र अहिले ती योजनाहरु कार्यान्वयनको क्रममा रहेको बताउनुभयो । आगामी दिनमा विकास र समृद्धिका पक्षमा एमालेले उठान गरेका योजनालाई थप सार्थक बनाउन एमालेको जित अत्यावश्यक रहने समेत बताउनुभयो ।

कार्यक्रमको अवसर पारेर दाङ काठमाडौं सम्पर्क मञ्च, दैलेख काठमाडौं सम्पर्क मञ्च, दाङ–२ काठमाडौं सम्पर्क मञ्च, सुदुरपश्चिम सम्पर्क कमिटी लगायतले भित्तेपात्रो प्रमुख अतिथिको हातबाट भित्तेपात्रो सार्वजनिक समेत गरेका छन् । यसैगरी महासचिव पोखरेलले झण्डा हस्तान्तरण समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij