
काठमाडौं । डा. मोजराज बगाले लामो समय देखि शिक्षा क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुनुहुन्छ । सचेत व्यक्तिहरु समाज परिवर्तनको लागि राजनीतिमा संलग्न हुनुपर्ने आवश्यकता महसुस गरेर यसपटकको स्थानीय तह निर्वाचनमा बगाले तारकेश्वर नगरपालिकाबाट मेयर पदको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै हुनुहुन्छ । विगतमा शिक्षा क्षेत्रमा क्रियाशिल रहँदै आएकोमा पछिल्ला दशकहरुमा मुलुकको राजनीति सही ट्रयाकमा चल्न नसकेको स्थितिले आफूलाई पनि राजनीतिमा संलग्न हुन बाध्य बनाएको बगाले बताउनुहुन्छ ।
सामाजिक समानता र न्याय स्थापनामा अहिलेका स्थानीय तहहरु चुकेको बगालेको विष्लेषण छ ।
प्रयाप्त स्रोतसाधन र अवसर हुँदाहुँदै पनि अघिल्लो कार्यकालका निर्वाचित प्रतिनिधिहरुले पूर्ण क्षमतामा काम गर्न सकेनन् । कहीँकतै भने उत्कृष्ट तवरले काम हुन सकेको उदाहरण दिँदै जनचाहना बमोजिमको विकासको लागि इच्छाशक्ति महत्वपूर्ण रहने र उपलब्ध स्रोतसाधनको सही तवरले विनियोजन र उपभोग गर्नुपर्ने बताउनुहुन्छ ।
आसन्न बैशाख ३० गते मतदान मार्फत जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले नै ५ बर्षको लागि स्थानीय तहको नेतृत्व चयन गर्ने भएकोले मतदाताहरु यतिबेला अत्यन्तै चलाख हुनुपर्ने डा. बगालेको धारणा छ ।
आफूले उम्मेदवार छनौट गर्दा व्यक्तिको विगतको पृष्ठभूमि, काम गर्ने क्षमता, व्यक्तिको इच्छाशक्ति, सबैलाई समेट्दै उचित निर्णय लिन सक्ने क्षमता एवं योग्यता लगायत विभिन्न पक्षहरुलाई आधार बनाउनुपर्ने र पार्टी भन्दा पनि व्यक्तिलाई चिनेर मतदान गर्नुपर्ने बताउनुहुन्छ ।
उपयुक्त पात्रलाई मतदान मार्फत निर्वाचित गरेको खण्डमा जनताले चाहना बमोजिमको परिणाम प्राप्त गर्न सक्ने बताउनुहुन्छ बगाले ।
यसपटकको निर्वाचनमा समाज रुपान्तरण, जनजागरण, दिगो विकासमा आधारित भौतिक पूर्वाधार, वातावरणीय पक्ष, उद्योग स्थापना एवं रोजगारी सृजना लगायत विविध पक्षहरुलाई आधार बनाएर आफूले उम्मेदवारी दिन लागेको बगाले बताउनुहुन्छ ।
आफूले जनताको पक्षमा महत्वपूर्ण एजेण्डाहरु अघी सारेको र सबै पक्षलाई मिलाएर ती एजेण्डाहरु सार्थक बनाउन आफू प्रतिबद्ध रहेको कारण जनताहरुले मतदान मार्फत आफूलाई निर्वाचित गर्नेमा बगाले आशावादी हुनुहुन्छ ।
लामो समय नेपालमा शिक्षा क्षेत्रमा संलग्न रहने क्रममा आफूले देखेका, भोगेका, अनुभव गरेका समस्याहरुलाई समाधानको माध्यमको अन्तिम अस्त्र राजनीति नै रहेकोले आफू प्राज्ञिक व्यक्ति हुँदाहुँदै पनि राजनीतिमा आउनुपरेको बगालेको तर्क छ ।
बगाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij