२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मुलुकमा समृद्धिकाे परिकल्पना र जनआकाङ्क्षा सम्बाेधनको लागि एमालेको विकल्प छैनः नेता बिष्ट

मुलुकमा समृद्धिकाे परिकल्पना र जनआकाङ्क्षा सम्बाेधनको लागि एमालेको विकल्प छैनः नेता बिष्ट

गोकर्ण विष्ट, पूर्वमन्त्री एवं संघीय सांसद, गुल्मी–२

यतिबेलाको आर्थिक परिसूचकहरुलाई विचार गर्दा अर्थतन्त्र अत्यन्तै सङ्कटपूर्ण स्थितिबाट अघी बढिरहेको छ । मुलुकको वैदेशिक मुद्राको सञ्चिती, व्यापार घाटा, विप्रेषण आप्रवाह लगायतका विभिन्न सूचकहरुले यस्तै देखाउँछन् । साथै अहिलेको गठबन्धन सरकारले पनि जनताको विश्वास गुमाउँदै गएको छ । अघिल्लो सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएका कार्यक्रमहरु पनि अहिलेको सरकारले कार्यान्वयन गर्न सकेको छैन । नयाँ कार्यक्रमहरु ल्याउनु त टाढाको कुरा हो । साथै नेपाल २ महाशक्ति राष्ट्रहरुको थिचोमिचोमा पर्न सक्ने स्थिति समेत देखिएको छ ।

नेकपा (एमाले) स्वाधिनता, आत्मसम्मान र राष्ट्रियतालाई बचाउँदै नेपाली जनताहरुको जीवनलाई माथि उठाउन चाहने नेपालको एकमात्र पार्टी हो । यतिबेला नेकपा (एमाले) मुलुकलाई समृद्ध बनाउने अभियानमा छ । हामीले २०६२–६३ को जनआन्दोलनको उपलब्धि स्वरुप गणतन्त्र प्राप्त गरेका हौं । यद्यपि यो जनआन्दोलन न त बेलायतको जस्तो पुँजीवादी क्रान्तिको परिणाम हो, न त चीनमा भएको जस्तो जनवादी क्रान्तिबाट नै हासिल हुन सकेको हो । हामी एक्लैले जनआन्दोलन सफल पारेका होइनौं । हामी परिवर्तनकारी र जनवादी हुँदाहुँदै पनि पुँजीवादी अर्थतन्त्रको वकालत गर्ने नेपाली काङ्ग्रेसलाई समेत साथमा लिएर त्यो आन्दोलन सफल पारेका हुनाले आन्दोलनका परिणामलाई संस्थागत गर्न केही गाह्रो परेको अवश्य हो । अहिले हामीले संविधानमा व्यवस्था गरेरै समाजवादको बाटो तय गरेका छौं । अब हामीले पुँजीवादी दलहरुलाई निर्वाचन मार्फत तह लगाएर समाजवादी अर्थतन्त्रको स्थापना गर्नुछ । नेपालमा फेरी पनि पुँजीवादी शक्तिहरुले बहुमत प्राप्त गरेको खण्डमा जनआन्दोलनका उपलब्धिहरु संस्थागत हुन र बच्न सक्ने छैनन् ।

सिमान्तकृत वर्गलाई माथि उठाउने चुनौती एमालेकाे काँधमा
अहिले समाजमा हुने र नहुने बीचको दूरी बढ्दो छ । सिमान्तकृत वर्गका जनताहरुको अवस्थालाई कसरी माथि उठाउने र धनी गरीबबीचको दूरी घटाउँदै मुलुकलाई कसरी सबल अर्थतन्त्र भएको मुलुकको रुपमा विकास गर्ने भन्ने कुरा हाम्रो ठूलो चुनौतीको विषय बनेको छ । यसको लागि संविधानले अङ्गिकार गरेबमोजिम मुलुकलाई समाजवादको दिशामा अघी बढाउन र समतामूलक समाज निर्माण गर्नको लागि नेकपा (एमाले)ले अघी सारेका नीति र सिद्धान्तहरुलाई सार्थक बनाउनुछ । यसको लागि नेकपा (एमाले)को विजय अत्यन्तै महत्वपूर्ण हुनेछ ।

हामी एक्लै निर्वाचन सामना गर्न तयार छौं
पार्टी प्रति आस्थावान् वफादार तमाम कार्यकर्ता एवं मतदाताहरुको तागत र चेतनाले नै आगामी स्थानीय, प्रदेश र संघ ३ ओटै तहका निर्वाचनहरुमा विजय हासिल गर्न नेकपा (एमाले) सफल हुनेमा हामी आशावादी छौं । यतिबेलाको परिस्थिति विगत भन्दा फरक छ । हामी एक्लै निर्वाचनमा होमिँदैछौं । अन्य सबै राजनीतिक शक्तिहरु नेकपा (एमाले)सँग डराएका छन् । अलग–अलग रुपमा एमालेसँग चुनाव लड्न अन्य कुनै पार्टीले पनि हिम्मत गरेका छैनन् । गठबन्धन बनाएर मात्रै अन्य दलहरु निर्वाचनमा आउनुको उद्देश्य जसरी पनि नेकपा (एमाले)लाई परास्त गर्ने नै रहेको सहजै बुझ्न सकिन्छ । यद्यपि हामीले पनि एक्लै अन्य सम्पूर्ण शक्तिहरुलाई परास्त गर्नको लागि सोहीबमोजिम तयारी गरेका छौं । हाम्रो अन्तिम परिणामबाट मात्रै नेकपा (एमाले)को शक्ति जनताहरुले थाहा पाउन सक्नुहुनेछ । जसरी आकाशमा भएका लाखौं ताराहरुले पनि प्रकाश दिन सक्दैनन् । तैपनि एउटा सूर्यले सिङ्गो संसारलाई झकमक्क उज्यालो बनाउन सक्छ । नेपाली जनताहरुले त्यही सूर्यको किरणको खोजी गरिरहेका छन् ।

तुलनात्मक रुपमा कमजोर छ नेपालीहरुको आर्थिक अवस्था
यतिबेला नेपाली जनताको अवस्था तुलनात्मक रुपमा अत्यन्तै कमजोर छ । कुनै समय दक्षिण कोरियालाई नेपालले खाद्यान्न सहयोग गरिरहेको थियो । अहिले दक्षिण कोरियाको भौतिक विकास, सामाजिक परिसूचकहरु, औद्योगिक विकास लगायतले उक्त देश निकै विकास भइसकेको बताउँछन् । साथै अहिले नेपालले नै दक्षिण कोरियाबाट खाद्यान्न सहयोग ल्याउनुपर्ने स्थिति सिर्जना भएको छ । केही दशक पहिले सम्म नर्वेको अवस्था पनि त्यस्तै अत्यन्त दयनीय थियो । हिउँ भित्रको माछा मारेर जीविकोपार्जन गर्नुपर्ने स्थितिमा रहेको नर्वे अहिले विश्वको दोस्रो ठूलो प्रतिव्यक्ति आम्दानी भएको देश बन्न पुगेको छ । जबकि नेपाली जनताहरुको अवस्था भने अहिले पनि आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने स्थितिमा छ । आखिर नेपालमा यस्तो अवस्था किन सृजना भयो ? यो महत्वपूर्ण विषय हो । यसको जवाफ जनताहरुलाई राजनीतिक दलहरुले दिनुपर्छ । त्यो जवाफ नेकपा (एमाले)ले मात्रै दिन सक्छ ।

ठूला सपना देखाएका छैनौं
समाजवादको आधार तयार पार्ने विषय अघी सारिरहँदा अहिले पनि नेकपा (एमाले)ले कुनै असम्भव कार्यक्रम अघी सारेको छैन । रात नै नपर्ने गरी निर्माण गरिएका चीनका जस्ता ठूला र असम्भव पूर्वाधार विकासको सपना नेकपा (एमाले)ले देखाएको छैन । १६ सय किलोमिटर क्षेत्रफलमा येल्लो नदी हिँडाउने सपना एमालेले बाँडेको छैन । अहिले पनि नेपाली जनताका गरिबी, बेरोजगारी, अशिक्षा, खानेपानी, सिँचाई, विद्युत, स्वास्थ्य लगायतका आधारभूत सपनाहरु मात्र एमालेले अघी सारेको छ । जनताका आधारभूत आवश्यकता मात्र कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा नेकपा (एमाले) केन्द्रित छ । साँचो अर्थमा नेपाली जनताका आधारभूत आवश्यकता पूरा गरी मुलुकलाई समृद्ध बनाउने कार्यक्रम मात्र अघी सारेका छौं ।

कमजोर छैन एमाले
केही व्यक्तिहरुले नेकपा (एमाले)लाई विभाजन गर्न चाहेर अलग्गै पाटी स्थापना गरेको स्थितिमा अहिले पनि नेकपा (एमाले) कमजोर छैन । आगामी निर्वाचनमा गुल्मी जिल्लाका २ ओटै निर्वाचन क्षेत्र, ४ ओटै प्रदेश र सबै स्थानीय तहहरुमा एमालेले विजयको झण्डा फहरिनेछ । देशभर एमालेको पक्षमा लहर बनेको छ । निर्वाचनलाई सार्थक बनाउनको लागि नेकपा (एमाले)का नेता कार्यकर्ताहरु सोही किसिमले आत्मविश्वास, गौरव र मेहनत सहित कार्यस्थलमा आफ्नो जिम्मेवारी पूरा गर्न खटिनुभएको छ ।

पार्टी भित्रका अन्तरसङ्घर्षलाई स्वभाविक रुपमा लिनुपर्छ
नेकपा (एमाले)मा समयक्रममा विभिन्न आरोहअवरोहहरु पैदा भएका छन् । कहिलेकाहीँ पीडादायक क्षणहरु पनि आएका छन् । कहिले पार्टीभित्र सृजना हुने वैचारिक अन्तरसङ्घर्ष त कहिले समाजमा उत्पन्न हुने लोकतान्त्रिक अभ्यास विरुद्धका समस्या हामीले सामना गर्नुपरेको छ । कहिलेकाहीँ लोकतन्त्र भित्र पनि निराशाको स्थिति पैदा भएहोला । तैपनि त्यसलाई समाधान दिन नेकपा (एमाले) निरन्तर क्रियाशिल भइ नै रहेको छ ।

युवा वर्गलाई विकासे गतिविधिमा खटाऔं
अहिले नेपालमा स्थानीय जनशक्तिको अभाव बढ्दो छ । अहिले नेपालीहरु आधुनिक जीवनशैलिको नाममा श्रमबाट टाढिँदै गएका छौं । विलासिताका वस्तुहरु प्रति आकर्षित बन्दै गएका छन् । अहिले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो छ । आगामी २० बर्षमा अहिलेका युवाहरु अधिकांश वृद्धअवस्थामा पुग्नेछौं । एउटा तथ्याङ्कले देखाएको छ कि मानिसलाई ६० बर्ष सम्म उपचारको लागि जति खर्च आवश्यक पर्छ, त्यो भन्दा बढी स्वास्थ्य खर्च ६० बर्ष भन्दा माथि करिब ४ गुणा बढीले बृद्धि हुने गर्छ । त्यो अवस्था हाम्रो लागि निकै दयनीय हुन सक्नेछ । वृद्धहरुको हेरचाहको लागि नेपालमा युवाहरुको सङ्ख्या कम हुनगई बाहिरबाट युवा जनशक्ति नेपालमा ल्याउनुपर्ने हुन सक्छ । ६० बर्ष भन्दा माथिका जनशक्ति हाम्रो मुलुकको लागि आर्थिक भार हुने पक्का छ । तैपनि हामीले वृद्धावस्थाका अभिभावकहरुको स्याहारसम्भार त जुनसुकै तवरले भएपनि गर्नैपर्छ । नेपालमा बाहिरबाट जनशक्ति ल्याएर काममा लगाउने हाम्रो क्षमता नभएको कारण त्यतिबेला हाम्रो मुलुक गम्भीर सङ्कटमा जान सक्ने स्थिति आउन नदिन हामीले अहिले नै समयमै मेहनत गर्नुपर्ने जरुरी छ । अझै ढिला भइसकेको छैन । हामीसँग अझै २० बर्षको प्रयाप्त समय छ । यस बीचमा हामीले प्रयाप्त विकास गर्नुछ । हामीले यस बीचमा पूर्वाधार विकास एवं सामाजिक सांस्कृतिक उन्नतीको लागि प्रयाप्त काम गर्न सक्छौं । त्यसको अगुवाई नेकपा (एमाले)ले मात्रै गर्न सक्छ ।

अन्त्यमा
अहिले नेपालबाट लाखौं युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । कोही खाडी, मलेसिया त कोही जापान, युरो, अमेरिका र बेलायतका यात्रामा छन् । ती जनशक्तिलाई नेपालमा कसरी रोक्ने र बाहिरका जनशक्तिलाई उनीहरुको क्षमता र पुँजीसहित कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्नेमा हामी अविश्रामपूर्वक लाग्नुपर्नेछ । अब हामीले आगामी १५ बर्ष विकासको यात्रामा यसरी लाग्नुपर्नेछ कि जसबाट अमेरिका, जापान लगायतको सपना पनि नेपाल हुन सकोस् । यसको लागि हामीले औद्योगिक विकास, प्राकृतिक स्रोतसाधनको परिचालन, युवा जनशक्तिको क्षमता विकास एवं कामको सम्मान हुने स्थिति सृजना गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij