२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सम्बन्धित गाउँ-ठाउँमा रही जनताको सेवामा सक्रिय र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छः चन्द्र थापा

सम्बन्धित गाउँ-ठाउँमा रही जनताको सेवामा सक्रिय र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छः चन्द्र थापा

चन्द्र थापा, नेता नेपाली काङ्ग्रेस, धादिङ

काठमाडाै‌ं । स्थानीय निर्वाचन नजिकिँदै गएसँगै विभिन्न राजनीतिक दलहरुमा आवद्ध व्यक्तिहरु पालिकाको उम्मेदवारको लागि होडबाजी गरिरहेका छन् । प्रायःसबैको कुरा यही सुनिन्छ छ कि म पालिकाको उम्मेदवार हुँ, मैले टिकट पाउनैपर्छ । मैले चुनाव जित्छु ! तर उनीहरुलाई थाहा छैन कि ? मेरो योगदान के हो ? मैले गर्न सक्ने के हो ? जनताबाट मत पाउँछु कि पाउँदिन ? मैले चुनाव हार्दा पार्टी कमजोर हुन्छ वा हुँदैन ? सोच्न जरुरी छ । साथै सबैकाे विश्वास प्राप्त गर्न सबै पक्षलाइ व्यवस्थित गर्न नसक्ने व्यक्तिलाइ पार्टीकाे तर्फबाट उम्मेदवार बनाउँदा पार्टी कमजाेर हुने र मतदाताहरुलाइ समेत अन्याय हुन सक्छ ।

अहिले पालिका अर्थात स्थानीय तहहरु जनतामा सेवा प्रवाहका आधार एकाईहरु बनेका छन् । राज्यलाई जनताको घर-दैलोमा पुर्याउने माध्यम अर्थात् घर-घरमा सिहंदरवारको उपस्थिति हो स्थानीय तह। स्थानिय निकाय जसकाे आफ्नै भूगाेल छ । खेतवारी छ, पानी छ, वनजंगल जस्ता अनेकौं श्रोतहरु छन् साथमा विभिन्न संस्कृति, भाषा धर्म र सभ्यता छ  । मुख्य कुरा जनता छन्  । यी सबैको सुखद व्यवस्थापनको लागि पालिकासँग संवैधानिक अधिकार छ । यी सबै विषयवस्तुको कार्यकारी प्रमुख भनेको मेयर वा गाउँपालिका अध्यक्ष अर्थात् अहिलेका उम्मेदवारमध्येकै निर्वाचित जनप्रतिनिधि हुने गर्छन् । अब हामी आफैं सोचाैं त हामीलाई कस्तो जनप्रतिनिधि चाहिएको छ ? तसर्थ आफुले उम्मेदवार घोषणा गर्दैगर्दा ५ वर्षमा कसरी समृद्ध पालिकाको रुपमा आफ्नाे पालिकालाइ उभ्याउन सक्छु ? जनताको चाहना कसरी पूरा गर्न गराउन सक्छु भन्ने उद्देश्य र स्पष्ट खाका आकाङ्क्षीमा हुनैपर्छ ।

पालिकाहरुमा विकासका आ-आफ्नै प्राथमिकता हुन सक्छन् । कसैलाई कृषि मुख्य रहलान् । कसैलाई पुर्वाधार, कसैलाई पशुपालन, कसैलाई पर्यटन, कसैलाई शिक्षा र स्वास्थ्य त कुनैले रोजगारी सृजना र औद्याेगिक विकासलाइ प्राथमिकतामा राख्लान् । कसैले रणनीतिक क्षेत्रमा लगानी गर्ने साेच बनाउलान् त कसैलाई गाउँठाउँको सुन्दरता प्रति चिन्ता रहला ।  अर्थात् प्रत्येक पालिकाका सम्भावना र आवश्यकता आफ्नै हुन्छन् । यसको मतलब पालिका प्रमुखसंग फरक-फरक आवश्यकता र सपनाहरु बुझ्ने सामर्थ्य हुनैपर्छ । सँगै यी सबै कामहरू गर्न गराउन प्रयाप्त श्रोत साधन नहुन पनि सक्छन् तर उब्जाउनुपर्छ र समस्यालाई समाधान अनि आवश्यकतालाई आविष्कारको रुपमा लिन सक्ने सामर्थ्य हुनुपर्छ

विकाससँग जोडिएका पक्षहरूमा दिगोपन, सुशासन र गुणस्तरियता हुनु अत्यन्त जरुरी छ । किनकि सुशासन बिना विकास सम्भव छैन । त्यस्तै सामाजिक न्याय बिनाको विकासले विभेद घटाउँदैन । साँच्चै भन्नुपर्दा हामीले भ्रष्टाचार घटाउनु छ  । जनताको सार्वभाैमिकता र मर्यादा उच्च बनाउनु छ । जसलाई प्रवद्धन गर्न उदार सुसंस्कृत अनि क्षमतावान नेतृत्व चाहिएको छ ।

अन्त्यमा, राजनीति आफैँमा उत्तरदायित्व समेत हो ।आफ्ना वाचाहरु प्रतिको उत्तरदायित्व, काम र परिणाम प्रतिको उत्तरदायित्व,पद प्रतिको उत्तरदायित्व । उत्तरदायित्व विनाको राजनीति अर्थहीन हुन्छ । तब समय दिन सक्ने, स्पष्ट भिजन भएको योग्य र दक्ष व्यक्तिलाइ पार्टीले स्थानिय निकायको उम्मेदवारको रुपमा उभ्याउँ ता कि उम्मेदवार पाँच वर्ष सिक्न आउने हैन । अरुलाइ सिकाउन र आफ्नो क्षमता देखाएर समृद्ध पालिका निर्माण गर्न सबल हाेस् । अहिले जनता पनि आफ्नो समस्या प्रति गम्भीर बन्ने नेताको खोजिमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij