
पूर्वीनवलपरासी । नावालीका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई पूर्पक्षका लागि थुनामा राख्न नवलपुर अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
अभिनेता पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । बुधबार राति ९ बजे तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले अभिनेता शाहलाई तनहुँ लगेको जानकारी गराइएको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।
त्यस्तै तनहुँ अदालतको फैसलाअनुसार पनि पूर्पक्षका लागि अभिनेता शाह थुनामा नै रहेका छन् ।
जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेश चित्त नबुझेको भन्दै पुनरावेदनका लागि चैत १५ गते उच्च अदालत पोखरा गएका थिए ।
गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पल बिरुद्ध उजुरी परेको थियो ।
अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मा सर्मपण गरेका थिए ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ । पल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij