लमजुङ: जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ ।
दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । चालु आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८ दशमलव १ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ ।
ती आयोजनाबाट व्यावसायिकरुपमा बिजुली उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीका साथ निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ । जिल्लामा निर्माणाधीन रहेको जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो दोर्दी खोलामा पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, हिमालयन पावर पार्टनरद्वारा निर्माणाधीन २७ मेगावाटका दोर्दी जलविद्युत् आयोजना, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटका माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरिरहेका १२.१ मेगावाटका दोर्दी–१ जलविद्युत आयोजना रहेका छन् ।
त्यस्तै सुपर दोर्दीको प्रवद्र्धक पिपुल्स हाइड्रोपावर कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको सम्भाव्यता अध्ययन थालेको छ । यो आयोजना पनि निर्माणको तयारी थालिएको बताइएको छ । सो करिडोरमा निर्माणाधीन अवस्थामा रहेको आयोजना सुपरदोर्दी ख हो । सुपरदोर्दी ‘ख’ को हालसम्म ३५ प्रतिशत निर्माण सकिएको छ । पिपुल्स हाइड्रोपावरको प्रवद्र्धन रहेको आयोजनामा ५० प्रतिशत सुरुङ निर्माण काम सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताउनुभयो । सानिमा बैङ्कको अगुवाइमा नौ वटा बैङ्कको वित्तीय सहयोगमा अघि बढेको आयोजनामा रु आठ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ ।
ती चार वटै आयोजनाको निर्माण सम्पन्न भएसँगै एउटै खोलाबाट उक्त मेगावाट बिजुली उत्पादन हुनेछ । यस आयोजनाको ८५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्दै आएको छ । यी आयोजनामध्ये यस आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन सुपर दोर्दी ख आयोजनाको निर्माण कार्य ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । यस आयोजनाले ५ दशमलव १ किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र गरिसकेको छ ।
यस आर्थिक वर्षकै अन्तिम अर्थात् असार महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्यका साथ अघि बढिरहेको आयोजना कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताउनुभयो । यतिबेला आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण कार्य भई उपकरण जडान कार्य भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै, गत असार महिनामा दोर्दी खोलामा आएको बाढी पहिराले क्षति पु¥याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माणको कार्य भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान कार्य भइरहेको छ । आयोजनाका प्रबन्धक निर्देशक रायमाझीले भने, हामीले सबै निर्माण कार्य सम्पन्न गर्दै गत पुस महिनाभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असार महिनाभित्रमा बिजुली उत्पादन गर्ने कार्य तालिका रहेको छ ।
आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो, सो समयमा पनि निर्माण कार्य नसकिएपछि गत पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो ।
तर नाकाबन्धी, दोर्दी खोलामा आएको बाढी पहिरा, कोरोना सङ्क्रमण, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिँदै गएको आयोजना साइड इञ्चार्ज रमेश सिग्देलले बताउनुभयो । उहाँका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत्् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र यही चैत महिनाभित्र परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ । यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थललगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको छ ।”
चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने उहाँको भनाइ थियो । आयोजनाको शतप्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ । इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।
www.nepsealpha.com मा प्रकाशित
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij