काठमाडौ । ललितपुरमा बिहीबारदेखि २३औं पुष्प मेला (फ्लोरा एक्स्पो) सुरु भएको छ । स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ बिहीबारदेखि जाउला खेल मैदानमा मेला सुरु भएको हो ।
बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङले पुष्प मेलाको उद्घाटन गरेकी छन् । मेलाको उद्घाटन गर्दै राज्यमन्त्री गुरुङले पुष्प व्यवसायको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।
कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले पुष्प व्यवसायको प्रवद्र्धनका लागि फ्यानलाई विभागले विगतदेखि नै साथ दिँदै आएको र यसलाई निरन्तरता दिने बताए ।
वनस्पती विभागका उपसचिव शिशिर पन्थीका अनुसार विभागले स्वदेशीफूलको अध्ययन अनुसन्धान गर्दै आएको र नेपालमा पाँच हजार पाँच सय प्रजातिका फूल फुल्ने वनस्पतिको पहिचान गरिसकेको बताए ।
मेलामामा ५१ स्टल रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार अफिसियल स्टल चार, प्रतियोगितात्मक प्रदर्शनीका स्टल दुइ र व्यवसायिक स्टल ४५ वटा छन् ।
मेलामा मौसमी फूल, आलकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिंचाइ प्रविधि आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij