२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विपद् व्यवस्थापन एवं जोखिम न्यूनीकरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन एवं जोखिम न्यूनीकरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेशनल बिजनेश इनिसिएटिभ्सले प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धमा आयोजना गरेको कार्यशाला गोष्ठीमा विभिन्न क्षेत्रका प्राकृतिक जोखिम व्यवस्थापन सम्बन्धी गतिविधिमा संलग्न संघसंस्थाहरु, निजी क्षेत्रका प्रतिनिधिमूलक पात्रहरु, सञ्चारकर्मी एवं विज्ञहरुको उपस्थिति रहेको थियो ।


गोष्ठीमा प्राकृतिक विपदहरुका कारण, अहिलेका नीतिगत व्यवस्था, पूर्वतयारी, निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका, अहिलेका समस्या र चुनौतीका साथै आगामी दिनमा विपद्को समयमा हुन सक्ने जोखिम तथा क्षति न्यूनीकरणको लागि अपनाउनुपर्ने पहल लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।

कार्यक्रममा सहभागि प्रस्तोता एवं वक्ताहरुले जोखिम घटाउनको लागि मानवीय क्रियाकलापहरु पनि विशेष जिम्मेवार रहने बताएका छन् । विपद् व्यवस्थापनको लागि अनुसन्धान र नवप्रवद्धन कार्यहरुको प्रवद्धन गर्नुपर्ने, पाठ्यक्रममा नै विपद्जन्य घटनाको पूर्वतयारी एवं विपद् व्यवस्थापनको लागि अपनाउनुपर्ने उपायहरु समेटेर शैक्षिक कार्यक्रममा समेटिनुपर्ने, जोखिम घटाउन सञ्चार माध्यमबाट प्रवाह गरिने सूचना सम्प्रेषणको भूमिका महत्वपूर्ण रहने, विभिन्न सरकारी निकायहरु बीच सुमधुर अन्तरसम्बन्ध हुनुपर्ने, दातृ निकाय तथा गैरसरकारी संस्थासँग आवश्यक समन्वय हुनुपर्ने, राम्रो सञ्जाल विस्तार गर्नुपर्ने, सम्भावित जोखिम लक्षित क्वीक रेस्पोन्स टीम तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषयवस्तुहरु कार्यशालाको क्रममा उठान गरिएको छ ।

अहिले सम्म निजी क्षेत्र र सरकारी निकाय बीच समन्वयको अभाव रहेको, प्रविधि र ज्ञान हस्तान्तरणमा कमजोरी रहेको, विपद् पश्चात् तत्काल काममा खटिन राज्यका नीतिहरु बाधक रहेका, समस्यामा स्वतस्फूतः सहयोग गर्न तयार हुने निजी क्षेत्र एवं सहयोगीहरु प्रति राज्यको सकारात्मक दृष्टिकोण नरहेको, स्रोतसाधनको लक्षित वर्गमा उपलब्धता पुग्ने स्थिति नरहेको, क्षतिको स्थिति लगायतमा कमजोर एवं गलत तथ्याङ्क समेत सम्प्रेषण हुने गरेको एवं अनुगमन कमजोर रहेको जस्ता विभिन्न समस्याहरुका कारण विपद् व्यवस्थापन सोचेबमोजिम सहज रुपमा हुन नसकेको कुरा सरोकारवालाहरुले उठाएका छन् ।

कार्यक्रममा धारणा राख्दै राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले निजी क्षेत्रले जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनको लागि महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । नेपालमा करिब ४० लाख व्यक्तिलाई रोजगारी सृजना गर्ने निजी क्षेत्रले आगामी दिनमा आफ्नो सोचमा परिमार्जन ल्याई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक खर्चमा मात्र केन्द्रित नभई आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि एवं ज्ञान हस्तान्तरण र विपद सतर्कतामा पनि उद्योगीहरु केन्द्रित हुनुपर्ने, सबै उद्योगीले आफ्ना कर्मचारीलाई विपद् पूर्व जोखिम न्यूनीकरणका संस्कार एवं तौरतरिकाहरु समेत सिकाउनुपर्ने बताउनुभयो ।

उहाँले बदलिँदो परिवेशमा ऋक्च् भनेको भौतिक सामान र रकम हस्तान्तरण मात्र नभई दिगो संयन्त्र निर्माणको लागि गरिने पहल समेत रहेको बताउनुभयो । विपद् भइसकेपछि अपनाउने विधिहरु भन्दा सकेसम्म विपद् र जोखिम पूर्व नै न्यूनीकरणमा हाम्रो पहल केन्द्रित हुनुपर्नेमा उहाँको मुख्य जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका जोशीले नेपाल सरकारले दमकल, एम्बुलेन्स लगायतका समुदायको हितलाई लक्षित उपकरणहरु राज्यले आफ्नै कार्यक्रम अन्तरगत ल्याई समुदायलाई सहयोग पु¥याउनुपर्नेमा निजी क्षेत्र अग्रसर भई त्यसतर्फ खटिँदा पनि राज्यले भन्सार तथा करछुट लगायतमा सहजीकरण नगर्नु दुखद रहेको बताउनुभयो ।

नेशनल बिजनेश इनिसिएटिभ्सका महासचिव सुरेन्द्रवीर मालाकारले विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, समुदाय लगायत सबै एक साथ अघी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा विज्ञ रामचन्द्र न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरु मोहन कटुवाल, राज्य लक्ष्मी शाक्य लगायतले राखेका प्रश्नमा आयोजक पक्षले जवाफ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij