
नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबिना लड्ने तयारीका साथ चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ ।
निर्वाचन परिचालन सम्बन्धी अभियान निर्देशिका जारी गर्दै माओवादी केन्द्रले प्रदेशभरका सम्पूर्ण शक्ति निर्वाचनमा लागेको जनाएको छ । ‘हामीलाई हार्ने छुट छँदैछैन । हाम्रो हार, निर्वाचनमा हाम्रा उम्मेदवारहरूको हार वा पार्टीको मात्रै हार हुँदैन, हामी हार्यौँ भने जनता हार्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘अभियान टिममा रहने नेतृत्व वा टिम सदस्य कसैको हकमा पनि बहानाबाजी गरेर पन्छिनु वा देखामात्रै पर्ने कुरा क्षम्य हुनेछैन ।’
माओवादीले विपक्षीको भण्डाफोर रणनीतिका लागि छुट्टै ‘स्थानीय चुनाव प्रचार–प्रसार तथा प्रकाशन निर्देशिका’ पनि जारी गरेको छ ।
निर्देशिका अनुसार माओवादी केन्द्रले चैत १५ गतेभित्रै चुनावी अभियानसहित टोलहरूमा पुगिसक्न मातहतका कमिटीहरूलाई परिपत्र जारी गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले चैत १५ गतेभित्र सम्पूर्ण वडा कमिटीको बैठक सम्पन्न गरेर चुनावी अभियानसहित टोलटोलमा परिचालन हुन सर्कुलर जारी गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर संगठन सुदृढीकरण अभियान अघि बढाएको माओवादी केन्द्रले न्यूनतम ‘एक वडा एक टोल, एक टोल तीन सेल’ गठन गरी जनताको घरघरमा पार्टीको नीति र योजनाका बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij