सूर्य धमाथु श्रेष्ठ, सञ्चालक, धमाथु काष्ठ कला – तारकेश्वर नगरपालिकासूर्यको बाल्यकाल सङ्घर्षपूर्ण नै थियो । जसोतसो उच्च शिक्षा सम्म अध्ययन गर्न उनी सफल भए । उच्च शिक्षामा चित्रकला विधाको अध्ययन गरेका श्रेष्ठ आफ्नो अध्ययनकै क्षेत्रलाई नै व्यवसायको रुपमा अपनाउने क्रममा कलात्मक काष्ठजन्य क्षेत्रमा जोडिन पुगेका हुन् । आफूले सिकेको कलाकृति सम्बन्धी ज्ञान र सीपलाई समुदायको लाभको निम्ति समर्पित गर्ने चाहनाले आफू काष्ठकलाकर्मी बन्न सकेको बताउँछन् सूर्य ।
काष्ठकलामा प्रवेश र विगतको पृष्ठभूमि
विगतमा काठमाडौंका नेवार परिवारका मानिसहरु अध्ययन पश्चात् सामान्यतया घर निर्माण लगायत कुल्ली काममा संलग्न हुने परिपाटी थियो । आफ्नो करियरका शुरुका दिनमा सूर्य आफू पनि घर बनाउने काममा सामेल नभएका होइनन् । घर निर्माण कार्यमा संलग्न रहँदा सूर्य त्यस कार्यमा सन्तुष्ट बन्न सकेनन् । अर्कै कामको खोजी गर्ने क्रममा उनी ललितपुरको एक कलात्मक काष्ठजन्य सामाग्रीहरु उत्पादन गर्ने कम्पनीमा जोडिन पुगे । त्यहीँबाट सूर्यले काष्ठकला सम्बन्धी महत्वपूर्ण व्यावहारिक ज्ञान र सीप हासिल गरेका हुन् । आफ्नो इच्छाशक्तिले नै परिवारले नअपनाएको व्यवसाय रोजेर त्यसमा आफू सफल बन्न सकेकोमा खुसी छन् सूर्य ।
काष्ठकलामा युवा संलग्नता बढ्नु जरुरी छः धमाथु
पछिल्लो समय नेपालमा रही काष्ठकला व्यवसायमा संलग्न हुनुपर्छ भन्ने मान्यताका युवाहरुको सङ्ख्या अत्यन्तै कम छ । नयाँ पुस्ताका व्यक्तिहरु कला जगेर्ना गर्नुपर्नेमा जागरुक त बन्दै गएका छन् । यद्यपि काष्ठकला सम्बन्धी कार्यलाई व्यावसायिक बनाउने मान्यता नयाँ पुस्ताका व्यक्तिहरुमा विकास हुन नसक्दा यस क्षेत्रको जुन हिसाबले विस्तार हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । यस क्षेत्रलाई व्यावसायिक बनाउनको लागि राज्य पक्ष पनि गम्भीर बन्नु जरुरी छ । कतिपय राज्यका नीतिगत व्यवस्थाका कारण पनि नेपालमा यस्ता सीपमूलक काममा लाग्न नयाँ पुस्ताका व्यक्तिहरु तयार बन्न नसकेको अवस्था छ । साथै श्रमको सम्मान गर्ने परिपाटी विकसित हुन नसक्दा आफू क्रियाशिल रहँदै आएको काममा पनि समर्पण भाव न्यून रहने र त्यसको प्रत्यक्ष प्रभाव उत्पादकत्वमा देखिने स्थिति समेत रहँदै आएको छ ।
कलासंस्कृतिको जगेर्ना गर्नुपर्ने आवश्यकता
नेपाली कलासंस्कृतिले विश्व बजारमा पृथक पहिचान बोकेका छन् । ती कलासंस्कृतिलाई लामो समय सम्म अजर अमर बनाइराख्ने माध्यमको रुपमा हाम्रा विभिन्न सृजना नै रहने गर्छन् । हाम्र्रा वास्तुकला, काष्ठकला, मुर्तिकला र चित्रकलाहरु नै हाम्रो कलासंस्कृति झल्काउने माध्यम बन्ने गर्छन् । सबै कलाको आफ्नै महत्व रहने गर्छ । अहिले यस्ता नेपाली कलाहरुको संरक्षण गर्नुपर्ने बारे सबैतिर चर्चा समेत हुँदै आएको छ । कलाकौशल जोगियो भने मात्र हाम्रो पहिचान पनि जोगिन सक्छ भन्ने कुरामा हामी सबै सतर्क रहनुपर्छ । जुन कुरा नयाँ पुस्ताका व्यक्तिहरुले पछिल्लो समय महसुस समेत गर्दै गएका छन् ।
विदेशीहरुमा बढी लोकप्रिय छन् नेपाली कलात्मक वस्तुहरु
नेपाली कलात्मक वस्तुहरुको माग नेपालमा भन्दा पनि बाह्य बजारमा बढी माग हुने गरेका छन् । अहिले थोरै परिमाणमा भएपनि नेपाली कलात्मक सामाग्रीहरु विश्वका चर्चित सङ्ग्राहलयहरुमा सजाएर राख्ने प्रचलन बढेको छ । साथै विभिन्न समयमा नेपालमा निर्मित बुट्टेदार काष्ठजन्य मुर्तिहरु चोरी भएर विदेश निर्यात हुँदै आएको खबर समेत सुनिने गर्छन् । यसरी मुर्ति चोरी हुनुको पछाडि विभिन्न कारणहरु हुन सक्छन् । जसले हाम्रा कलाको महत्व बुझ्न सक्छ, त्यसले मात्र यस्ता कलात्मक वस्तुको खोजी गर्ने हो ।
अहिले नेपाली पुरातात्विक ऐतिहासिक महत्वका कतिपय कलात्मक मुर्तिमा हाम्रो तत्कालिन समाजको वस्तुस्थितिको खोजी समेत हुँदै आएको पाइन्छ । जुन समयकालमा कलात्मक मुर्ति निर्माण गरिएको हुन्छ, ती मुर्तिमा त्यस समयको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक परिस्थिति अवश्य चित्रण हुने हुनाले हाम्रा परम्परागत त्यस्ता सम्पदाको संरक्षण गर्दै नयाँ संरचना विकास एवं इतिहासको उत्खननमा जोड दिनु जरुरी छ ।
व्यावसायमैत्री वातावरण निर्माण गर्नु जरुरी
नेपालमा राज्यले राम्रो व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्न सकेको छैन । नेपालमा रहेर राष्ट्रको अर्थतन्त्र विकासमा योगदान पुर्याउने उद्देश्यले काम गरिरहेका उद्योगी व्यवसायीहरुलाई राज्यले उचित सहयोग पुर्याउन सकेको छैन । नेपालमा नै उद्योग व्यवसाय फस्टाउने वातावरण निर्माण गर्न सकेको खण्डमा नेपालमा नै रोजगारी र राजस्व मार्फत अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन सकिन्छ ।
कलात्मक क्षेत्रको सम्भावना
हस्तकला अन्तरगत पर्ने काष्ठकला राम्रो सम्भावना बोकेको क्षेत्र हो । राज्यले नेपालमा उद्योग व्यवसाय प्रवद्र्धनको लागि उचित नीतिगत व्यवस्था गर्न सकेको खण्डमा काष्ठकला मार्फत नेपालमा नै ठूलो परिमाणमा रोजगारीका अवसर सृजना गर्न सकिन्छ । यसको लागि आवश्यक परे वैदेशिक लगानी समेत भित्र्याउन सकिन्छ । राम्रो अवसर र सम्भावना बोकेको यस क्षेत्रमा आवश्यक दक्षता भएका श्रमशक्तिको भने ठूलो समस्या छ । सूर्य धमाथु आफैं पनि प्रयाप्त जनशक्तिको अभावमा समयमा आफूले जिम्मेवारी लिएको काम निर्धारित समयमा पूरा गर्न सकिने अवस्था नरहेको बताउँछन् ।
नेपाली काठको गुणस्तर
नेपालमा उपलब्ध काठ तुलनात्मक रुपमा राम्रो गुणस्तरयुक्त छ । यद्यपि राज्यले स्वदेशी काठ उपयोग सम्बन्धी उचित नीति तय गर्न सकेको छैन । जसले गर्दा नेपालमा काठ कटानीसँगै त्यसको उचित संरक्षण तथा वृक्षारोपण गर्न सकिएको छैन । जसले गर्दा नेपालमा काठ अभाव हुँदै गएको छ । सरकारले रुख कटानसँग हाम्रो आवश्यकता बमोजिम नयाँ प्रजातिका समेत रुख रोप्ने नीति तय गर्नु जरुरी छ ।
काष्ठकलामा मासिक ८० हजार सम्मको कमाई
नेपालमा दृढ इच्छाशक्ति र राम्रो दक्षता भएका व्यक्तिले यहीँ राम्रो आम्दानी गर्न सक्छन् । आफूमा दक्षता हुन सकेको खण्डमा आफैंले कामको जिम्मेवारी लिएर समेत काम गर्न सकिन्छ । हाल धमाथुले सञ्चालन गर्दै आएको उद्योग धमाथु काष्ठकलामा कार्यरत कर्मचारीहरुले आफ्नो श्रम मार्फत मासिक ५० हजार देखि ८० हजार रुपियाँ सम्म मासिक पारिश्रमिक बापत प्राप्त गर्दै आएका छन् ।
युवाहरुलाई व्यवसायी सूर्यको सल्लाह
नेपालमा नै थुप्रै अवसरहरु उपलब्ध रहेको कारण यहाँ राम्रो वातावरण सृजना हुन सकेको खण्डमा सामान्य कामको लागि वैदेशिक रोजगारमा आकर्षित हुनु भन्दा कुनै सीपमूलक काम सिकेर नेपालमा नै रोजगारी गर्नु बढी लाभदायक हुने सल्लाह दिन्छन् धमाथु ।
काष्ठकलाका समस्या
अहिले पछिल्लो समय काठको मूल्य अत्यधिक वृद्धि हुँदै गएको छ । यद्यपि सोहीबमोजिम तयारी वस्तुको मूल्य भने बढ्न सकेको छैन । यस क्षेत्रमा अहिले कर समेत ठूलो समस्याको रुपमा रहँदै आएको छ । उद्योगले आफूले तिरेको वास्तविक मूल्य भन्दा कम दररेटको बिल प्राप्त गर्ने स्थिति कायम रहँदै आएको छ । उद्योगले ८ हजार तिरेर किन्ने काठको लागि २५ सय देखि ३ हजार रुपियाँको मात्र बिल प्राप्त गर्ने स्थिति छ । त्यही काठलाई अन्तिम तयारी वस्तुको रुपमा बिक्री गर्दा बजारमा करिब १० हजार पर्न जान्छ । जुन न्यून बिजकीकरणको कारण सृजना भएको समस्या हो । यसरी हेर्दा व्यापारीले एउटै ३ हजारको सामानमा ७ हजार मुनाफा लिएको देखिन आउँछ । यसको वास्तविकता भने फरक हुन्छ । न्यून बीजकीकरणमा संलग्न ठूला सप्लायर्स र आयातकर्ताको मारमा यसरी साना व्यवसायीहरु पर्ने स्थिति अहिले कायम रहँदै आएको छ । यस विषयमा सरोकारवाला मन्त्रालय एवं आन्तरिक राजस्व कार्यालयका उच्च पदस्थ व्यक्तिहरुलाई जानकारी नभएको होइन, तैपनि समस्या समाधानमा भने कसैको पनि ध्यान जान सकेको छैन ।
अन्त्यमा
राज्यले वास्तविक क्षेत्रका सार्वजनिक महत्वका कला, सीप र प्रविधिको क्षेत्रमा काम गर्ने उद्योगी व्यवसायीहरुको हितबाट मात्र हामीले चाहे बमोजिमको विकास हासिल गर्न सकिन्छ भन्ने कुरालाई बुझेर पनि त्यस दिशामा काम गर्न नसक्दा अहिले वास्तविक क्षेत्रका उद्योग–व्यवसायहरु मारमा छन् । राज्य पक्षका केही जिम्मेवार व्यक्तिहरु नै कमिसन वा कागजपत्र मिलाएर सरकारी कोषको लाभ लिन चाहने कर्मचारी वा स्वार्थ समूहको भावनाबाट प्रभावित हुँदा जुन ठाउँमा राज्यकोषको रकम खर्च नहुनुपर्ने हो, त्यहाँ खर्च भइरहेको र जहाँ राज्यको लगानी आवश्यक छ, त्यहाँ राज्यको उपस्थिति न्यून रहँदै आएको स्थिति छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij