काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको फागुन २७ गते हुन लागेको निर्वाचनको लागि यतिबेला ५ ओटा समूहहरु चुनावी मैदानमा उत्रिएका छन् । ई. दिलीप कुमार झाले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर समूहले सबै विधागत एवं वर्ग समुदायको प्रतिनिधित्व गर्ने इन्जिनियरहरुलाई समेटेको देखिन्छ ।
बहुसङ्ख्यक अग्रजहरुको समेत साथसहयोग रहेको र नयाँ पुस्ताका युवाहरुलाई स्थान दिइएको यस समूहका अध्यक्ष दिलीप कुमार झा नेपाल इन्जिनियर्स एसोसिएसनका विभिन्न पदमा लामो समय क्रियाशिल रही उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरेका अनुभवी खारिएका पात्र हुन् ।
‘लोकतान्त्रिक इन्जिनियर समूहमा मतदान, इन्जिनियरिङ समस्याको समाधान’ नारा सहित चुनावी मैदानमा खटिएको झा नेतृत्वको समूहले मूलतः इन्जिनियरिङ क्षेत्र सुधारको लागि विभिन्न आकर्षक कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।
विगतका कार्यकालहरुमा नेपाल इन्जिनियर्स एसोसिएसनमा बढी नै राजनीतिकरण हुन गई निर्वाचित प्रतिनिधिहरु आफ्नो मुख्य उद्देश्यबाटै विमुख हुने स्थिति रहेको तर्फ सङ्केत गर्दै झा आफ्नो नेतृत्वको नयाँ कार्यसमिति मार्फत नेपाल इन्जिनियर्स एसोसिएसनमा हुँदै आएको राजनीतिकरण अन्त्य हुने र स्वच्छ व्यावसायिक वातावरण निर्माणमा केन्द्रित भई अघी बढ्ने समेत बताए ।
झा भन्छन्, ‘नेपाल इन्जिनियर्स एसोसिएसन राजनीति गर्ने थलो होइन, राजनीति गर्न चाहने साथीहरुको लागि अन्य थुप्रै प्लेटफर्महरु छन् । एसोसिएसनलाई राजनीतिमुक्त बनाई आफ्ना गतिविधिहरु अघी बढाउन सकेमात्र यस संस्थाको गरिमा उच्च हुन सक्छ ।’
सार्कस्तरीय कमिटीमा रही काम गर्ने क्रममा आफूले सार्कका अन्य देशहरुमा पुग्दा ती देशहरुमा सामाजिक उद्देश्यले स्थापित संस्थाहरु कहीँ पनि राजनीतिबाट प्रभावित नहुने गरेको अनुभव समेत बताउँछन् ।
अब आफ्नो नेतृत्वमा बन्ने नयाँ कार्यसमिति मातहत समग्र इन्जिनियरिङ क्षेत्रलाई माथि उठाउन र इन्जिनियरहरुको हकहित र अधिकारको साथै आम इन्जिनियरहरुको आकर्षण केन्द्रको रुपमा नेपाल इन्जिनियर्स एसोसिएसनलाई स्थापित गर्ने योजना बमोजिम आफ्ना गतिविधिहरु परिचालित हुने समेत झा बताउँछन् ।
झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहलाई पूर्वअध्यक्षहरु हरेराम श्रेष्ठ, ध्रुव थापा, जीवराज पोखरेल लगायतका थुप्रै अग्रजहरुको साथसमर्थन रहेको छ ।
यस समूहका उम्मेदवारहरुमा उपाध्यक्ष पदमा ई. ऋषि कोइराला, महासचिवमा ई.कृष्णसिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ, सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतोका साथै बाग्मती प्रदेश सभापतिमा ई. जीवन कुमार श्रेष्ठ रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij