
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन नजिकिएसँगै निर्वाचनमा तयारीमा व्यस्त उम्मेदवारहरु विभिन्न समूह मार्फत आ–आफ्ना चुनावी योजना सहित व्यस्त बन्दै गएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका ई. ऋषि कोइराला पनि आफ्नो भेटघाटलाई तीब्र बनाएका छन् ।
विगतमा आफ्नो व्यावसायिक अनुभव, सकारात्मक सोच र दृढ इच्छाशक्तिकै कारण आफ्ना हरेक योजनाहरुलाई साकार पार्दै आएका कोइराला आफ्नो व्यस्तताका बीच सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनमा रुपान्तरण आवश्यक रहेको बताउँछन् ।
एसोसिएसनका प्रशासनिक गतिविधिहरुलाई थप चुस्तदुरुस्त बनाई सम्पूर्ण इन्जिनियरहरुको गरिमामय साझा संस्थाको रुपमा नेपाल इन्जिनियर्स एसोसिएसनलाई परिचित गराउने उद्देश्यले नै आफूले एसोसिएसनमा उम्मेदवारी दिएको कोइराला बताउँछन् ।
साथै आफू प्रति आफ्ना परिचित एवं पररिचित शुभचिन्तकहरुले दर्शाउनुभएको माया र सद्भावले आफूलाई थप ऊर्जा प्रवाह गरेको समेत कोइरालाले बताए । साथै आफू सदैव इन्जिनियर साथीहरुको साथमा रहँदै आएको र साथमै रहिरहने समेत बताएका छन् ।
विगतमा निर्वाचनको समयमा उम्मेदवारले गरेका वाचाहरु आफु निर्वाचित भएपश्चात् पूरा गर्न बिर्सने प्रचलन रहँदै आएको स्मरण गर्दै यसपटकको निर्वाचनले त्यस्तो प्रचलन अन्त्य गर्नुपर्नेमा कोइराला जोड दिन्छन् ।
साथै समग्र इन्जिनियरिङ क्षेत्रको सुधारको लागि प्रयाप्त काम गर्न सक्ने नयाँ सोच र योजना भएका, अग्रजहरुको अनुभव र योगदानलाई सम्मान गर्न सक्ने, आवश्यकता अनुसार उचित निर्णय लिन सक्ने, सकारात्मक परिवर्तनको पक्षमा प्रयाप्त काम गर्न सक्ने र सबैलाई उचित व्यवहार गर्ने व्यक्ति एसोसिएसनको नेतृत्वमा आउन सकेको खण्डमा आगामी कार्यकालमा नै नेपाल इन्जिनियर्स एसोसिएसनको मुहार फेरिनु अनौठो नहुने कोइरालाको तर्क छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij