२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मौरीपालनबाट बार्षिक ५ लाख कमाउँदै आएको छुः माैरी व्यवसायी खड्का

मौरीपालनबाट बार्षिक ५ लाख कमाउँदै आएको छुः माैरी व्यवसायी खड्का

विशाल खड्का (राम कुमार)

सञ्चालक, सुरी मौरी पालन तथा घार उद्योग (दोलखा)

दोलखा गौरीसङ्कर गाउँपालिकाका विशाल खड्का लामो समय देखि मौरी पालन व्यवसायमा संलग्न व्यक्ति हुन् । उनले मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनी मौरीबाट उत्पादित मह मात्र बेच्दैनन् । मौरीका घारहरु पनि बिक्री गर्छन् । अहिले १ फ्रेम मौरी १ हजार रुपियाँमा बिक्री हुने गरेको र एक घार मौरीमा १० ओटा सम्म फ्रेम हुने गरेको उनी बताउँछन् ।

दोलखाको गौरीसङ्कर नगरपालिका अन्तरगत सुरीका स्थानीय बासिन्दा रहेका विशालले अहिले आफ्नो क्षेत्रका अन्य किसानहरुलाई पनि मौरी पालनमा लाग्नको लागि उत्प्रेरित गर्दै आएका छन् । बार्षिक रुपमा आफूले करिब ५० घार मौरी बिक्री गर्दै आएको खड्का बताउँछन् । मौरी पालन व्यवसाय कम लगानी र कम मेहनतमा राम्रो आम्दानी लिन सकिने क्षेत्रहरु मध्ये एक रहेको बताउँछन् खड्का । मौरी पालन व्यवसायमा लाग्नको लागि ठूलो रकम लगानी गर्नुपर्दैन । साधारण लगानीबाट पनि यस कार्य-व्यवसायमा संलग्न हुन सकिन्छ ।

विगतमा नेपालमा रोजगारी र कमाईका अवसर नदेखेर वैदेशिक रोजगारीमा ३ बर्ष बिताएका खड्का अहिले भने आफैं स्वरोजगार बनेका छन् । आफ्नो परिवारको जिवीकोपार्जन मात्र उनले गरेका छैनन् । अन्य थुप्रै व्यक्तिहरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित समेत गरिरहेका छन् । दोलखाको सुरी क्षेत्रमा नै राम्रो आर्थिक अवसरको माध्यमको रुपमा मौरी पालन व्यवसायलाई अपनाएका खड्का फर्निचर व्यवसायमा समेत संलग्न छन् ।

वैदेशिक रोजगारीबाट फर्किएपनि परम्परागत तवरले हुँदै आएको कृषि कार्यमा नै उनी संलग्न भए । पछि काष्ठ व्यवसायमा संलग्न भए उनी । संयोगले जुरेको मौरीपालन सम्बन्धी तालिमले उनलाई मौरीपालन व्यवसायमा डोहो¥याएको हो । उनले चितवनको भण्डाराबाट मौरीपालन सम्बन्धी तालिम हासिल गरेका हुन् ।

मौरी पालन व्यवसायमा खड्का वि.सं २०७० देखि संलग्न भएका हुन् । शुरुमा उनले परीक्षणकै रुपमा २–३ घार मौरी राखेर प्रवेश गरेका खड्काको व्यवसाय फस्टाउँदै गयो । अहिले गाउँ छिमेक सबैजसोले धेरै थोरै मौरीघार राखेर मौरीपालन कार्य गर्दै आएका छन् । सबैजसोलाई खड्का आफैंले मौरी उपलब्ध गराउँदै आएकाछन् । अन्य व्यावसायिक क्रियाकलापमा समेत संलग्न रहँदै आएका खड्काले मौरीपालन व्यवसायलाई पनि सँगसँगै अघी बढाउन सकेकोमा गर्व महसुस गर्छन् । अहिले मौरीपालनबाट नै बार्षिक करिब ५ लाख रकम कमाई गर्न आफूलाई कुनै कठिनाई नहुने दाबी गर्दै खड्का भन्छन्, ‘अवसरहरु ठम्याउन सक्ने हो भने नेपालमा नै राम्रा अवसरहरु भेट्न सकिन्छ । केवल धैर्यता र निरन्तर आशावादी रुपमा आफू संलग्न भएको काममा खटिइरहनुपर्छ ।’

मौरीबाट उत्पादन हुने महको विशेष महत्व छ । नेपालमा मागको तुलनामा निकै कम परिमाणमा उत्पादन हुने भएकोले बजार खोज्न धेरै दुखः गर्नपर्दैन । आफ्नो घरमा नै मह किन्ने ग्राहकहरु आउने गर्छन् । यी कुराहरुलाई हेर्दा नेपालमा मौरीपालनको भविष्य समेत निकै राम्रो देखिन्छ । यसैकारण अन्य क्षेत्रका सफल व्यवसायीहरु समेत मौरीपालनमा संलग्न भएको पाइन्छ ।

शुरुको अनुभव
जुनसुकै व्यवसाय पनि शुरुका दिनमा कष्टकर हुन सक्छ । यसलाई अस्वभाविक रुपमा लिन नहुने खड्काको धारणा छ । शुरुमा खड्काले पनि केही तालमेल मिलाउन नसक्दा मौरीपालनबाट राम्रो लाभ लिन सकेनन् । अहिले त्यही कामले व्यावसायिक रुपमा नै उनले सञ्चालन गरेका छन् । यही मौरीपालन व्यवसायमा राम्रो गरेबापत खड्काले विश्व खाद्य दिवसको अवसरमा दोस्रो उत्कृष्ट पुरस्कार समेत प्राप्त गरेका छन् । अहिले आफ्नो व्यवसाय मार्फत ३ जना व्यक्तिलाई रोजगारी सृजना गर्न सफल छन् खड्का ।

मौरीपालन सम्बन्धी जान्नुपर्ने कुरा
नेपालमा अहिले मेलिफेरा र सेरेना गरी २ प्रजातिका मौरीहरु उपलब्ध छन् । मेलिफेरा तराई क्षेत्रमा उपलब्ध हुन्छ भने पहाडी क्षेत्रमा सेरेना प्रजातिको मौरीको वर्चस्व रहँदै आएको छ । पछिल्लो समय मौरीको लागि चरन क्षेत्रको अभाव हुँदै गएको छ । मौसम परिवर्तन, आगलागी, कृषिजन्य उत्पादनबाट विमुख हुँदै गएको नेपाली परिपाटी लगायतले मौरीपालनको लागि चुनौतीहरु थपिँदै जाने क्रम बढ्दो छ । मौरीपालन नेपालभरी नै गर्न सकिने भएपनि यसलाई राम्रो चरनयुक्त क्षेत्र उपयुक्त हुन्छ ।

सामान्यतया बर्षमा २ पटक (मंसिर र जेठमा) मौरीबाट मह संकलन गर्न सकिन्छ । छोटो अवधिको तालिममा संलग्न भई मौरीको रेखदेख र स्याहारसुसारका विधिहरु सिकेर परम्परागत घारको तुलनामा आधुनिक घार निर्माण गरी मौरी पालन गर्दा तुलनात्मक रुपमा बढी आम्दानी लिन सकिन्छ । मौरीको घार निर्माणको लागि टुनीको काठ उपयुक्त मानिन्छ । परम्परागत तवरले मह उत्पादन हुँदै आएको मौरीपालनमा नयाँ प्रविधि भित्र्याउन सकेको खण्डमा नेपालमा यस क्षेत्रबाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ । यद्यपि आफू मौरीपालनमा संलग्न भएपश्चात् मौरीको लागि उपयुक्त वातवरण भने सृजना गराउनु निकै जरुरी रहन्छ ।

अन्त्यमा
अहिले राज्यबाट उपलब्ध गराउने कृषि कर्जा वास्तविक कृषकको पहुँचमा पुग्न नसक्दा कृषि सम्बन्धी विभिन्न क्रियाकलापमा संलग्न वास्तविक कृषकले यसको लाभ पाउन नसकेको बताउँछन् खड्का । आगामी दिनमा राज्य पक्षले यस कुरालाई विशेष महत्व दिनुपर्नेमा उनको जोडध छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij