
स्थापनाकालदेखि नै तुलसा डेरीले विभिन्न प्रकारका समस्याहरु झेल्दै आइरहेको छ । जब हामीले तुलसा डिरीको विधिवत उद्घाटन गरेर काम थाल्यौं । त्यसको २८ दिनपछि मुलुकमा महाभूकम्प गयो । जुन २०७२ साल वैशाख १२ गते शनिवारको दिन थियो । त्यसको असर दुग्ध उत्पादनदेखि सबै क्षेत्रमा नराम्रोसँग पर्यो । जसले मान्छेको बस्ने, खाने टुंगै भएन । त्यसले डेरी क्षेत्रमा पनि कति असर पर्यो भन्ने सबैलाई विदितै छ । त्यो महाभूकम्पको असरबाट जेनतेन बजार सुरु भएको थियो । ठ्याक्कै फेरि भारतले ९ महिना अघोषित नाकाबन्दी गरिदियो । त्यसको मारमा राज्यका सबै क्षेत्रलगायत डेरी क्षेत्र पनि नराम्रोसँग पर्यो । त्यसबेला प्रतिलिटर रु पाँच सय तिरेर डिजेल ल्याएर डेरी चलाउनुपर्ने स्थिति सिर्जना भयो । जुनबेला २० रुपैयाँको चाउचाउलाई मान्छेहरुले सय रुपैयाँसम्म तिरेर खान वाध्य हुनुपरेको थियो । तर, त्यस्तो बेलामा ३५ रुपैयाँको दूधलाई ३६ सपैयाँसम्म पनि कसैले तिर्नुपरेन । जुस्तोसुकै समस्यामा पनि हामीले उपभोक्ताहरुको लागि सहज रुपमा दूध उपलब्ध गराएरै छाड्यौं । त्यसपछि फेरि दुई वर्षदेखि कोरोनाको प्रभाव पर्यो । जसको कारण डेरी उद्योग शिथिल भएको अवस्था छ ।
आत्मनिर्भर बन्न सकेनौं
राज्यले जसरी दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने भनेर विभिन्न कार्यक्रमहरु अगाडि ल्यायो । तैपनि भनेजस्तो आत्मनिर्भर हुन सकेको अवस्था छैन । हुनतः अहिले कोरोनाका कारण बजार विस्तार राम्रो हुन नसकेको होला । कृषि क्षेत्रमा भनेजस्तो आम्दानी नभएपछि किसानहरु पलायन भएको अवस्था छ । अहिले बजारको मागअनुसार दुध आपूर्ति गर्न सकिएको छैन । देशमा पशुपालन गर्ने जनशक्तिहरु राजनीतिक हस्तक्षेपका कारण विदेश पलायन भइरहेका छन् । पशुपालनबिना दूधको परिकल्पना गर्न सकिँदैन । त्यसको लागि पशुपालन आवश्यक हुन्छ । दूध उत्पादन कम भएपछि खरिदमा ठूलो प्रतिस्पर्धा हुन्छ । उत्पादन कम भएपछि बिक्री र खरिद दुवैमा अस्वस्थ प्रतिस्पधा हुने नै भयो ।
बजेट वास्तविक किसानको पहुँचमा छैन
कृषि क्षेत्रमा आएको बजेट वास्तविक किसानले पाउँदैनन् । खाली टाठाबाठाले पहुँचका आधारमा सिंहदरबार वरिपरि घुमेर प्रपोजल बनाउनेले काठमाडौंमै उक्त बजेट अल्मल्याएर खाने गरेको स्थिति छ । यी विषयमा मिडियाहरुले उजागर गर्दागर्दै पनि राज्यले त्यतातिर ध्यान दिएको देखिँदैन । जो वास्तविक किसान हुन्छ उसले कृषि अनुदानको रकम पाउँदैन । जो न त किसान हो, न राज्य पक्ष, केवल उ विचौलियाको भूमिकामा हुन्छ, उसले नै त्यस्ता अनुदानका रकमहरु पाउने गरेको छ । राज्यले कृषि अनुदानको नाममा जतिपनि बजेट छुट्ट्याएको छ । त्यो गलत रुपमा प्रयोग भइरहेको छ ।
पशुपालक किसानहरु पेशाप्रति उदासिन
राज्यले सबैको अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसैगरी उद्योग क्षेत्रमा पनि राज्यले त्यो भूमिका निर्वाह गर्नुपर्ने हो । अहिले सहज रुपमा उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थ उपलब्ध गराउनु राज्यको दायित्व हो । डेरी उद्योगको कुरा गर्नुपर्दा अहिले कच्चा पदार्थ पनि सहज रुपमा पाउने अवस्था छैन । यसले गर्दा जब ड्राइ सिजन हुन्छ । त्यसबेला दूग्धजन्य कच्चा पदार्थ एकदमै आवश्यक हुन्छ । त्यसको नियमन, अनुगमन, उत्पादन र विक्रीको लागि बजार व्यवस्थापनमा सहजीकरण गर्नु राज्यको दायित्व हो । दुग्ध व्यवसायीहरुले बजारमा आवश्यक दूध उत्पादन गर्न कि प्रशस्त मात्रामा दूध चाहियो कि त्यसको कच्चा पदार्थहरु चाहियो । त्यो बाहेक मागअनुसार दुध उपलब्ध गराउन सम्भव छैन । यी कारणले धेरै दुग्धजन्य उद्योगहरु धरासायी हुने अवस्थामा छन् । दूधको जसरी बजारमा माग छ त्यो अनुसार उत्पादनको लागि राज्यले ध्यान दिएको छैन ।
उपत्यकाभित्र सञ्चालनमा रहेका डेरी उद्योगहरु
अहिले काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाभित्र नै ३५ देखि ४० को हाराहारीमा डेरी उद्योगहरु सञ्चालनमा छन् । राज्यले जति डेरी उद्योग सञ्चालन गर्न अनुमति दिएको छ । ती डेरी उद्योग सञ्चालन अनुमति दिइसकेपछि ती उद्योगहरु राम्रोसँग चल्न सकेका छन् कि छैनन् भन्ने विषयमा पनि अनुगमन गर्नुपर्छ । अहिले त्यो छैन ।
नेपालको अर्थतन्त्रमा डेरी उद्योगको भूमिका
नेपालको अर्थतन्त्रमा झन्डै ९ प्रतिशत योगदान डेरी उद्योगले निर्वाह गरेको छ । देशको अर्थतन्त्रमै ९ प्रतिशतसम्म आयआर्जनमा ठाउँ लिएको डेरी उद्योगको बारेमा राज्यले त्यति ध्यान दिएको देखिँदैन । नेपाल जस्तो देशमा कृषि क्षेत्र त्यो पनि डेरी जस्तो महत्वपूर्ण क्षेत्रमा राज्यको कम ध्यान नजानु एक प्रकारले गैर जिम्मेवारपन मान्नुपर्छ ।
किन डेरी उद्योग फस्टाउन सकेनन्
नेपालमा डेरी उद्योग फस्टाउन नसक्नुका पछाडि विभिन्न कारण छन् । त्यसमा राजनीतिक अस्थिरता, राज्यको उदासिनता, पेशागत मर्यादाको खडेरी, दक्ष जनशक्तिको अभाव लगायत महत्वपूर्ण छन् । फेरि पछिल्लो समय विश्वमा समस्या भएर देखापरेको कोरोनाका कारण पनि डेरी उद्योगहरु धरासायी भएका हुन् । अर्को राज्यले उद्योग दर्ता र सञ्चालनको लागि अनुमति दिन्छ तर त्यो उपयुक्त ढंगले चलेको छ कि छैन भनेर अनुगमन गर्दैन ।
स्तरीय उत्पादनमा जोड दिँदै तुलसा डेरी
तुलसा डेरीले गुणस्तरीय उत्पादनलाई जोड दिएको छ । दुध भनेको संवेदनशील खाद्य वस्तु हो । यो बच्चादेखि बृद्धसम्म, स्वस्थदेखि बिरामीसम्म सबैले खान मिल्ने हुनुपर्छ । दुधलाई पोषिलो खाद्य पदार्थको रुपमा लिइन्छ । त्यसैले पनि यसमा गुणस्तरीय कच्चा पदार्थको आवश्यकता पर्दछ । तुलसा डेरीले ती विषयमा अत्यन्तै ध्यान दिएको छ । यस उद्योगले मागअनुसार उत्पादन बढाउन लागिपरेको छ । सायद अब एक-दुईवर्षभित्र हामी तुलसा डेरीलाई उपत्यकाका सबै स्थानमा आफ्ना उत्पादन पुर्याउने कम्पनीको योजना छ ।
दूध संकलन
तुलसा डेरीको लागि दूध आयात गर्दा सबैभन्दा बढी चितवनबाट हुने गर्छ । त्यसपछि नवलपरासी, मकवानपुर र बुटवललगातका क्षेत्रबाट पनि ल्याउने गरिन्छ । त्यहाँ रहेका दुग्ध उद्योग सहकारी संस्थामार्फत हामीले आवश्यक दुध संकलन गर्ने गरिएको छ । अहिले तुलसा डेरीको लागि दैनिक १२ देखि १५ हजार लिटर दूध आवश्यक पर्छ ।
लागत
तुलसा डेरीमा व्यक्तिगत र बैंक-वित्तीय संस्थाको गरेर झन्डै ३५ लाख हाराहारीमा लगानी भएको छ । यो अति सम्वेदनशिल खाद्य वस्तु उत्पादन गर्ने उद्योग भएकाले लगानी महँगो हुन्छ । यसका कच्चा पदार्थहरु पनि महंगा हुन्छन् । त्यसकारण हामीले अहिलेसम्म तुलसा डेरीमा ३५ लाख माथि लगानी गरेका छौं । बजारको मागअनुसार अगाडि जानको लागि अझै लगानी थप्नुपर्ने आवश्यकता छ । साथै उद्योगले दूध उत्पादन र वितरण गर्नुका अलावा आगामी दिनमा दूध तथा दूग्धजन्य पदार्थबाट विभिन्न किसिमका मिठाइहरु पनि उत्पादन गर्ने योजनामा यो उद्योग रहेको छ । जसअन्तरगत लालमोहन, रसवरी, बर्फीलगायत हुनेछन् । त्यसैगरी लामो समयसम्म प्रयोग गर्न मिल्ने हिसाबले गुणस्तरयुक्त दही उत्पादन गर्ने योजनामा उद्योग छ ।
मुलुकको अर्थतन्त्रमा सहकारी अवधारणा
सवल अर्थतन्त्रको लागि सहकारी अवधारणा एकदमै राम्रो हो । सानासाना टुक्रामा छरिएर रहेका रकमलाई संकलन गरेर देशको औद्योगिक क्षेत्रमा लगानी गर्नु एकदमै आवश्यक हुन्छ । त्यसको सुपरभिजन चाहीं राम्रो हुनुपर्छ । त्यसरी सहकारीमार्फत लगानीलाई व्यवस्थित गरेर मोटो रकम जुटाएर औद्योगिक विकासमा योगदान पुर्याउन सहकारीको भूमिका महत्वपूर्ण हुने गर्छ । साथै राज्यले जोखिम लिएर लगानी गरेर उद्योग चलाउने व्यवसायीलाई आवश्यक परे संरक्षण गर्ने नीति पनि लिनुपर्छ । उद्योग चल्दा राज्यलाई कर तिर, घाटामा गएर बन्द गर्नुपर्ने भए सबै आफैं व्यहोर भन्नु गलत छ । यसले उद्योगहरु फस्टाउन सक्दैनन् । अहिले बैंकहरुमा व्याजदर १२ प्रतिशत छ । अझ सहकारीहरुमा त १५–१६ प्रतिशत ब्याज दर छ । यति धेरै व्याजदरमा धेरै पैसा हुने मान्छेले त उद्योगमा लगानी गर्ने जोखिम नमोलेर बैंक-वित्तिय संस्थामा पैसा राखेर ब्याज खान नै राम्रो ठान्ने स्थिति पनि रहने गर्छ ।
तुलसा डेरीमा जनशक्ति
अहिले तुलसा डेरीमा ३०–३५ जना व्यक्तिहरु रोजगारीमा छन् । त्यसमा कर्मचारी, दूध ढुवानी गर्ने र अन्य समावेश छन् । मासिक रुपमा करिब २० लाख रकम त कर्मचारी तलबकै लागि पनि जोहो गर्नुपर्ने हुन्छ । उद्योगको मासिक रुपमा करिब डेढ करोड हाराहारी कारोबार हुने गरेको छ । यति कारोबार हुँदा पनि खासै सोचेजस्तो आम्दानी भने छैन । स्पष्ट औद्योगिक नीति नभएको कारण नेपालमा ठूलो कारोबार हुँदैमा राम्रो लाभ हुने स्थिति बन्न सकेको छैन । लगानी र जोखिमको अनुपातमा त्यस बमोजिम उद्योगले आम्दानी गर्न सकेको छैन । अवस्था सामान्य रहँदा उद्योग चलाउन त्यति गाह्रो नभएपनि मुलुकमा विभिन्न समयमा हुने प्राकृतिक प्रकोपदेखि अन्य समस्यालाई हेर्दा उद्योग सञ्चालनमा धेरै गाह्रो परिस्थिति सिर्जना हुने गर्छ । विगत साढे दुई वर्षदेखि कोरोना कहरले थलिएको उद्योग क्षेत्रले अलिअलि गति लिन थालेको थियो । पछिल्लो समय फेरि लकडाउनको हल्ला हुन थालेको छ । त्यसमा पनि स्मार्ट लकडाउन त शुरु भइसक्यो ।
डेरी उद्योगको समस्या
डेरी उद्योगमा देखिएको मुख्य समस्या भनेको कच्चा पदार्थ सहज रुपमा उपलब्ध नहुनु नै हो । दूध उत्पादन कम हुनु, भएपनि संकलन र ढुवानीमा समस्या हुनुलगायत झन्झटहरु छन् । त्यस पाटोमा राज्य पक्ष एकदमै उदासिन छ ।
कोरोना संक्रमणको बेला उद्योग चलाउनुपर्दा…….
कोरोना संक्रमणबाट म आफू पनि अछुतो रहन सकिन । यद्यपि जस्तोसुकै अवस्था आइपरेपनि उद्योग त चलाउनै पर्यो । आफैंलाई संक्रमण हुँदा ढुवानी र बजारविस्तारमा त्यत्तिकै समस्या सृजना भयो । कच्चा पदार्थ ल्याउन झनै समस्या भयो । आवश्यक खर्चदेखि स्टाफलाई तलबसुविधा त दिनैपर्यो । कर्मचारीहरु पनि खोजिम उठाएर काममा खटिरहेका हुन्थे । त्यतिबेला मैले व्यवस्थापन पक्ष कति महत्वपूर्ण हुँदो रहेछ भन्ने अझ नजिकबाट महसुस गर्न सकेँ ।
अन्त्यमा
दूग्ध उद्योगको मुख्य कच्चा पदार्थ दूध नै हो । दूधबाट दही बनाउने बेलामा चाहीं केही अन्य पदार्थ पनि प्रयोग गर्नुपर्ने हुन्छ । त्यसलाई एसएनएपी भनिन्छ । यस्ता पदार्थहरु बजारमा सहज उपलब्ध हुनुपर्छ । उद्यपि अहिले सम्म हामी कच्चा पदार्थमा आत्मनिर्भर हुन सकेका छैनौं । बाहिरी देशबाट ल्याउने पदार्थहरु नेपालमा नै उत्पादन गर्न हामीले पहल गर्नुपर्छ ।


(प्रस्तुती–ः कालिका महत)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij