२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

दिगाे विकास अवधारणा बमाेजिम अघी बढ्नु जरुरी छः उपकुलपति सुनिलबाबु श्रेष्ठ

दिगाे विकास अवधारणा बमाेजिम अघी बढ्नु जरुरी छः उपकुलपति सुनिलबाबु श्रेष्ठ

सुनिलबाबु श्रेष्ठ, उपकुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

– आवश्यकता बमोजिमको व्यावहारिक शिक्षा नीति हाम्रो आवश्यकता बनेको छ । हामीले प्राप्त गर्ने शिक्षास्तरले नै हाम्रो समाज कसरी विकास हुँदैछ भन्ने कुराको प्रतिबिम्बित गर्छ । अबको शिक्षा सोच परिवर्तनमा सघाउ पुर्याउने किसिमको हुनु जरुरी छ ।

– हामीले एक पटकमा ५० ओटा प्राथमिकता क्षेत्र तय नगखौं । कम्तीमा ५ ओटा क्षेत्र तय गरी ती क्षेत्रको लागि प्रयाप्त बजेट व्यवस्थापन गरी निर्वाध रुपमा काम हुने अवस्था सृजना गरौं ।

– मानव संशाधनको उचित व्यवस्थापन नै अहिलेको जगडिएको ठूलो समस्या बनेको छ । यसको व्यवस्थापन निकै जटिल छ । उचित ढङ्गबाट व्यवस्थापन गर्न सकेमात्र हामीले तीव्र लाभ हासिल गर्न सक्छौं ।

– हाम्रो साझा उद्धेश्य प्राप्तिमा हामी सबैको सामुहिक सङ्कल्पको आवश्यकता छ । यसरी सबै एकसाथ अघी बढ्न सकेमात्र हामीले चाहे बमोजिमको दिशामा हाम्रो समाजलाई अघी बढाउन सक्छौं ।

– राज्यले युवा जनशक्तिलाई ऊर्जाको रुपमा परिचालन गर्नु जरुरी छ । यसको लागि आत्मनिर्भरताको दिशामा लाग्न युवाहरुलाई उत्प्रेरित गर्नु जरुरी छ ।

– नेपाल विगतमा तुलनात्मक रुपमा अग्रस्थानमा थियो । अहिले हाम्रो मौलिकताबाट टाढिँदै जाँदा र आधुनिकताको सिको गर्दै जाँदा हामी पछि परेका हौं ।

– हामीले हाम्रा प्राकृतिक र मानवीय दुवै स्रोतको सही तवरले प्रयोग गर्न सकेनौं । समस्या यसै कारण सृजना भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) वि.सं २०३९ मा स्थापना भएको संस्था हो । विज्ञान र प्रविधिको क्षेत्रमा उन्नती प्रगति गर्दै मुलुकको विकास गर्ने, विज्ञान र प्रविधि क्षेत्रसँग सम्बन्धित अनुसन्धानहरुमा सहयोग पुर्याउने, उत्कृष्ट अनुसन्धाताहरुलाई पुरष्कृत गर्ने, नेपालमा के–कस्ता प्रविधिहरु विकास गर्न आवश्यक छन् भन्ने पहिचान गरी ती प्रविधिहरु विकास गर्ने वा नेपालमा भित्र्याउने लगायतका कामहरु यस संस्था मातहत हुँदै आएका छन् । नेपालमा भएका रैथाने सीप र प्रविधिको संरक्षण गर्दै वैज्ञानिक अनुसन्धानको माध्यमबाट ती मौलिक प्रविधिहरुलाई परिष्कृत गर्दै लैजाने लगायतका कामहरुमा यो संस्था संलग्न रहँदै आइरहेको छ ।

पानी, खाद्य पदार्थ लगायत विभिन्न वस्तुहरुको आवश्यकता बमोजिम अध्ययन गरी गुणात्मक पक्षहरुको विष्लेषण गर्ने कार्यमा पनि यो संस्था क्रियाशिल रहँदै आएको छ । संस्थाले मूलतः स्वदेशमा उपलब्ध भएका प्राकृतिक स्रोतसाधनहरुलाई प्रयोगमा ल्याई कसरी दिगो लाभ लिन सकिन्छ र त्यसबाट हाम्रा आवश्यकताहरु परिपुर्ति गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि काम गर्दै आइरहेको छ । यसको लागि नेपालमा उपलब्ध जडिबुटी, एग्रो फरेष्ट्री लगायतमा संस्थाले काम गर्दै आइरहेको छ ।

Science city को अवधारणा
हाल सातदोबाटोबाट गोदाबरी सम्मको ११ किलोमिटर दूरीमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरु सञ्चालनमा छन् । नास्टले ती संस्थाहरुसँग आवश्यकता बमोजिम सहकार्य गर्दै आइरहेको छ । साथै यस क्षेत्रलाई विज्ञान शहर (Science city) को रुपमा अघी बढाई विज्ञान र प्रविधिको क्षेत्रमा थप योगदान पुर्याउने अवधारणा समेत यस संस्थाले अघी बढाइरहेको छ ।

विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापनाको तयारी हुँदै
अहिले सम्म केन्द्रमा मात्र सीमित रहँदै आएको यस संस्थाले आफ्नो दायरा बिस्तार गर्दै आगामी दिनमा संघीय संरचना बमोजिम प्रत्येक प्रदेशमा विधागत विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापनाको तयारी अघी बढाएको छ । जुन प्रदेशमा जुन वस्तु वा उत्पादनको राम्रो सम्भावना रहन्छ, त्यहाँ सोहीबमोजिमका वृहद प्रवद्र्नात्मक एवं खोजमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा नास्टले जोड दिँदै आएको छ । सोहीबमोजिम प्रदेश नम्बर ७ मा हर्बल (जडिबुटी)को राम्रो सम्भावना रहेको, प्रदेश नम्बर ४ मा ग्रिन इकोनोमीको लागि राम्रो रहेको, प्रदेश नम्बर ५ मा रैथाने प्रविधिहरुको अध्ययन अनुसन्धान गर्न उपयुक्त देखिएको छ । यसैगरी प्रदेश नम्बर ३ देशकै मुख्य शहरी क्षेत्रको रुपमा रहँदै आएको छ ।

यतिबेला सिङ्गो मुलुक नै शहरीकरण हुँदै गएको अवस्थामा आगामी दिनमा नयाँ सृजना हुन सक्ने समस्याहरु बारे अध्ययन गर्ने, भावी जोखिम न्यूनीकरणको लागि आवश्यक पहल गर्ने, व्यवस्थित बसोबास एवं शहरीकरण, फोहोरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण लगायतका कार्यक्रमहरु सञ्चालन गरी मानवीय गतिविधिहरुलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ । सोहीबमोजिम प्रदेश नम्बर ३ मा विभिन्न कार्यक्रमहरु अघी बढाइएका छन् । प्रदेश नम्बर २ चुरे क्षेत्र भएको हुनाले चुरेको विकास, संरक्षण र अध्ययन अनुसन्धान गर्नु जरुरी छ । यसरी नै जहाँ जुन सम्भावना छ, त्यहाँ सोही किसिमका कार्यक्रमहरु अघी बढाउन सकेको खण्डमा हामीले व्यवस्थित विकास गर्न सकिन्छ भन्ने कुरामा जोड दिँदै सोहीबमोजिमका क्रियाकलापहरुमा यस कार्यालयले आफ्ना कदमहरु अघी बढाइरहेको छ ।

नेपालकाे  अबकाे विकास  नीति कस्ताे हुनुपर्छ भन्ने  सम्बन्धमा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठसँग रही तयार गरिएकाे सामाग्री यहाँ प्रस्तुत गरिएकाे  छः

दिगो विकासको आवश्यकता
अहिलेको पुस्ताले विकासका कामहरु अघी बढाउने क्रममा वातावरणीय पक्षमा पनि विशेष जोड दिनु जरुरी छ । हामीले अहिले विकास गतिविधिहरु अघी बढाउँदा दिगोपनमा जान सकेनौं भने त्यसको प्रभाव हाम्रा सन्तानहरुलाई पनि पर्न जान्छ । पृथ्वीका संरचना नै ध्वस्त हुने गरी गरिएको विकासले मानव जीवनलाई दिगो लाभ प्रदान गर्न सक्दैन । यसैकारण अहिले दिगो विकास अवधारणा विकास भएको छ, हामीले हाम्रा क्रियाकलापहरु दिगो विकास अवधारणा बमोजिम नै अघी बढाउनुपर्ने आवश्यकता छ ।

मानव विकासमा जोड दिनु आवश्यक
विकासको लागि सबैभन्दा महत्वपूर्ण पक्ष मानव विकास नै रहँदै आएको छ । अहिले सम्म हामीले हाम्रा विकास गतिविधिहरु यही मानव विकासलाई लक्षित गरी अगाडि बढाउँदै आइरहेका छौं । जहाँ भौतिक प्राप्तिको अलावा खुसी र सन्तुष्टिले पनि विशेष महत्व राख्छन् । हाम्रा सामाजिक आर्थिक परिवर्तनहरु पनि यही मानव विकासकै उद्देश्यबाट निर्देशित हुने गरेका छन् । हामीसँग उपलब्ध जल, जमीन, जङ्गल, हावापानी, खनिज पदार्थहरु जे छन्, यी वस्तुहरुको उपयोगबाट हाम्रा आवश्यकताहरु परिपुर्ति गर्न सकेको खण्डमा हामी समृद्ध हुन सक्छौं । हाम्रो आवश्यकता बमोजिमका नयाँ प्रविधिहरु विकास गर्न सकेको खण्डमा पनि हामीले राम्रो लाभ लिन सक्छौं । यी सबै क्रियाकलापको लागि क्षमतायुक्त जनशक्ति आवश्यक रहन्छ । अहिले नेपालमा प्रयाप्त युवा जनशक्तिहरु छन् । हाम्रो विकास र समृद्धिको लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहने गर्छ । दक्ष र चेतनशिल जनशक्तिबाट नै हामीले अपेक्षाकृत लाभ लिन सक्छौं । राम्रो पोषण, उचित स्वास्थ्य र स्तरीय शिक्षाको अभावमा अहिले सम्म हामीले हाम्रो आवश्यकता बमोजिमका जनशक्ति उत्पादन गर्न सकेनौं । ठूलो परिमाणमा स्वस्थ, उच्च चेतनशिल र क्षमतावान् दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु नै हाम्रो लागि ठूलो विडम्बना बन्न पुगेको छ । यसैकारण यहाँका युवाहरुलाई वैदेशिक रोजगारमा पठाएर जे नेपालमा भित्रिन्छ त्यसबाटै हाम्रो जीविकोपार्जन गर्नुपर्ने स्थिति हाम्रो बाध्यता हुन पुगेको छ । वैदेशिक रोजगारमा रहेका युवाहरुले नेपालमा पठाएको रकम पनि यहाँ सही ठाउँमा सही तवरले उपयोगमा आउन सकेको छैन । आधुनिक बन्ने नाममा विलासिताका वस्तुहरुमा हाम्रो ठूलो धनराशि खर्च भइरहेको छ । जसले हाम्रो अर्थतन्त्र ऋणात्मक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

अबको आवश्यकताः सीपयुक्त जनशक्ति उत्पादन
अबका दिनमा हामीले सीपमूलक जनशक्ति उत्पादनमा जोड दिनु अत्यन्तै जरुरी छ । सन् १९६० को दशक सम्म हामीले कोरियामा चामल निर्यात गथ्र्यौं । अहिले त्यहाँ जनशक्ति पठाइरहेका छौं । नेपालको सम्भावना सन् १९६० को दशकमा जस्तो थियो, अहिले पनि तुलनात्मक रुपमा ठूलो ह्रास आएको छैन । बरु विकासक्रमसँग भित्रिएका नयाँ प्रविधिहरुले हाम्रो उत्पादन क्षमता अझ वृद्धि हुने स्थिति छ । अहिले सम्म हाम्रा जे–जस्ता कमीकमजोरीहरु भए, त्यसबाट पाठ सिकेर अघी बढ्ने हो भने नेपालले आगामी दिनमा तुलनात्मक रुपमा छोटो अवधिमा नै राम्रो प्रगति गर्न सक्छ । यसको लागि हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा कदम चाल्न ढिला गर्नुहुँदैन । यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो दिशा स्पष्ट गरी सोहीबमोजिम हामीले हाम्रो सोचमा परिवर्तन ल्याउनु जरुरी छ ।
कस्तो हुनुपर्छ अब नेपालको विकास मोडल

अहिले प्रविधिको विकासले नेपाल र अमेरिका बीचको दूरी घटेको छ । अमेरिकामा विकास भएका नयाँ प्रविधिहरुबारे नेपालबाट इन्टरनेटको माध्यमबाट सजिलै जानकारी हासिल गर्न सकिन्छ । अहिलेको अवस्थामा सूचना र प्रविधिले सबैलाई समान अवसर सृजना गरेको छ । कसैले आफ्नो उन्नती गर्नको लागि अर्कोलाई नोक्सानी पुर्याउनुपर्ने अवस्था अहिले छैन । यस्तो अवस्थामा हामीले हाम्रो दिगो लाभको लागि पहिले त हामी आफैं आत्मनिर्भर बन्नुछ । हामीलाई कम्तीमा स्तरीय पोषणयुक्त खाना, लत्ताकपडा, आवास, शिक्षा र स्वास्थ्यको सुनिश्चितता हुन सकेको खण्डमा हामी विकासको दिशामा अर्को एउटा फड्को मार्न सक्नेछौं । मलाई लाग्छ, हामीले चाहेको समाजवादमुखी अर्थतन्त्रको आधारभूत उद्देश्य नै यही हुनुपर्छ । नेपाललाई अब यही मोडलमा विकास गर्नुपर्ने जरुरी छ ।

This undated image shows the building of Nepal Academy of Science and Technology, in Lalitpur district. Photo: WrackAce Marz via public google maps

मानव विकास हरेक विकासको लागि सबैभन्दा महत्वपूर्ण रहन्छ । अन्य भौतिक विकासहरु मानवीय आवश्यकतालाई मुख्य भूमिकामा राखेर अघी बढाइन्छ । यद्यपि मानव खुसी, सन्तुष्टिको उद्देश्यले अन्य भौतिक पक्षहरुलाई बढी जोड दिइरहँदा कतै मानव बाह्य वस्तुहरुमा नै हराइरहेको त छैन, अर्थात यान्त्रिक उपलब्धिले मानव सृजनशिलता र आत्मसन्तुष्टिबाट त अलग्गिइरहेको छैन भन्ने कुरा अहिलेको हाम्रो मुख्य चासोको विषय बन्न पुगेको छ ।

निश्चित क्षेत्रमा केन्द्रीत विकासमा जोड दिउँ
अहिले हामीले कुनै विकास अवधारणा अघि बढाउने क्रममा एकैपटकमा धेरै कार्यक्रमहरु अघी सार्छौं । हामीसँग कति स्रोत छ र त्यस स्रोतले कति काम गर्न सकिन्छ भन्नेमा हामीले खासै ध्यान दिँदैनौं । जसले गर्दा हामीले अघी बढाएका कुनै पनि कार्यक्रम पूर्वनिर्धारित कार्यतालिका बमोजिम सम्पन्न हुन सकेका छैनन् । हामीसँग स्रोत सीमित छ । त्यस स्रोतको सही प्रयोग तब मात्र हुन सक्छ, जब हामी कुनै निश्चित समयावधिमा निश्चित उद्देश्य मात्र परिपुर्ति हुने गरी अघी बढ्छौं । हाम्रा स्रोतलाई धेरै तर्फ एकैपटक प्रयोगमा ल्याउन खोज्दा कतै पनि सही परिणाम नआउन सक्छ ।
हो, हामीसँग जल, जमीन, जङ्गल, जडिबुटी, खनिज पदार्थहरु छन् । यी प्राकृतिक स्रोतलाई मानवीय आवश्यकता अनुकुल बनाउनको लागि आधुनिक प्रविधि र सीपयुक्त जनशक्तिको माध्यमबाट विकास र प्रशोधन गर्नु जरुरी रहन्छ । हामीले कम लागतमा तुलनात्मक रुपमा बढी लाभ लिन सकिने र हाम्रो आवश्यकता पनि सम्बोधन हुने गरी यस्ता स्रोतहरुको व्यवस्थापन गर्नु जरुरी छ । केही आधारभूत विधाहरुमा बढी केन्द्रित हुने नीति लियौं भने हामीले परिणाममुखी विकास गर्न सक्छौं ।

प्राकृतिक स्राेत प्रयोग सम्बन्धमा स्पष्ट नीति हुनुपर्छ
हामीसँग प्रयाप्त जङ्गल छ । त्यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने सम्बन्धमा हामीले स्पष्ट नीति लिनैपर्ने हुन्छ । जङ्गल पालेर मात्र अधिक लाभ लिन सकिन्छ भन्ने हुँदैन । वनमा कस्ता प्रकृतिका बोटविरुवा छन् र तिनले कस्ता किसिमका मानवीय आवश्यकता परिपुर्तिमा सहयोग पुर्याउँछन् भन्ने कुरा पनि अध्ययन गरेर सोहीबमोजिम अघी बढ्न सके हामीले तुलनात्मक रुपमा बढी लाभ लिन सक्छौं ।

विकासशिल देशमा उक्लिँदै नेपाल
अब नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासशिल देशमा उक्लिँदैछ । यसको लागि अहिले हाम्रा विभिन्न विकासमूलक सूचकहरु सकारात्मक नै बन्दै गइरहेका छन् । हाम्रो सम्भावना उच्च रहँदारहँदै पनि अहिलेको अवस्थामा विकास तुलनात्मक रुपमा न्यून रहनुमा हामीले विगतमा सही दिशा अवलम्बन गर्न नसक्नु नै हो । विगतमा हामीले विकासको नाममा केही गल्तिहरु अवश्य गर्यौं । त्यसको परिणाम अहिले भोग्दैछौं । आगामी दिनमा हामीले विगतका गल्तीहरुबाट सिक्नुछ । हामी जनताका आधारभूत सेवासुविधामा पहुँच बिस्तार गर्दै कल्याणकारी राज्य अवधारणा सहित विकासको मूलधारमा अगाडि बढ्नुछ । थुप्रै बाधाव्यवधानहरु छन् । तैपनि सकारात्मक तवरले सोच्नु जरुरी छ ।

स्थानीय तहसँगै मुलुक स्थायित्वको दिशामा
अहिले नेपालमा संघीय व्यवस्था अनुसार स्थायी संरचनाको रुपमा स्थानीय निकायहरु स्थापना भइ कम्तीमा पहिलो कार्यकालमा ती निकायहरु व्यवस्थित बन्न सकेका छन् । शुरुमा कार्यसम्पादनको लागि भौतिक संरचना पनि नभएको र नीतिगत व्यवस्थाहरु नभएको अवस्थालाई सबै स्थानीय निकायहरुले पार गरिसकेका छन् । साथै तुलनात्मक रुपमा थोरै नै भएपनि ती निकायहरुले विकासका कामहरु अघी बढाइरहेका छन् । स्थानीय निकायका आगामी नेतृत्वबाट तीब्र रुपमा विकासका कार्यहरु अघी बढ्नेमा आशावादी हुन सक्ने थुपै्र आधारहरु तय भइसकेका छन् । अहिले विभिन्न ग्रामीण भू–भागमा दिगो विकास अवधारणा सहित थुप्रै गुरुयोजनाहरु बनेका छन् । भ्रष्टाचारलाई न्यूनीकरण गर्दै सुशासन र पारदर्शिताको लागि सबै सरकारी निकायका जिम्मेवार व्यक्तिहरुलाई वास्तवमै जिम्मेवार बनाउने आधार निर्माण गर्नु अहिलेको हाम्रो मुख्य आवश्यकता बनेको छ ।
अनुसन्धानमा हाम्रो लगानी अत्यन्तै कम छ

नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा लामो समय पहिले देखि नै महत्वपूर्ण सभ्यताको विकास गरेको थियो । विगत एक–डेढ शताब्दी पहिले जुन हिसाबले हाम्रा भौतिक संरचना हामीले विकास गर्न सकेका थियौं, त्यस बमोजिम हामीले गति लिन नसक्दा हामी पछि परेका हौं । अहिले अझै पनि हामी अनुसन्धानमा पछाडि छौं । कोरियाले अनुसन्धानमा ठूलो रकम खर्चंदै आएको छ । कुल ग्र्राहस्थ उत्पादनको ४.४५ प्रतिशत अनुसन्धानमा खर्च हुने गरेको छ । जबकि नेपालले ०.४ प्रतिशत मात्र अनुसन्धानमा खर्चने गरेको छ ।

चेतनास्तरमा अभिवृद्धि गर्नु प्रमुख चुनौती
हरेक नेपालीमा चेतनास्तर अभिवृद्धिबाट नै हाम्रा यावत् समस्याहरु न्यूनीकरण गर्दै लैजान सकिन्छ । जस्तो कि स्वास्थ्य अवस्था सुधारको लागि रोग लागेपछि गरिने उपचार भन्दा पनि पहिले नै सतर्कता अपनाउने स्थिति सृजना गर्ने स्थिति अति महत्वपूर्ण हुने गर्छ । वेरोजगारी समस्या घटाउनको लागि स्वरोजगारमूलक क्रियाकलापहरुमा अभिप्रेरित गर्ने र सीप एवं दक्षता विकासमा जोड दिन र नयाँ सृजनशिलतालाई प्रवद्र्धन गर्नु जरुरी रहन्छ । यसको लागि हाम्र्रो आवश्यकता बमोजिमको व्यावहारिक शिक्षा नीति अवलम्बन गर्ने र जनशक्तिको उच्चतम क्षमता विकासमा जोड दिनु निकै जरुरी छ । यसो हुन सकेमात्र हामीले आगामी केही बर्षमा नै अपेक्षाकृत रुपमा हाम्रो विकास स्थितिलाई अति तीव्र रुपमा माथि उठाउन सक्छौं ।

अन्त्यमा,
विभिन्न समस्या र बाधाव्यवधानका बीच पनि हामीले सुन्दर भविष्यको परिकल्पना गरेका छौं । सकारात्मक परिणाम अवश्य प्राप्त गर्नेछौं । एकैपटकमा केही पनि प्राप्ति हुँदैन, क्रमिक रुपमा अघी बढ्ने हो, धैर्य गर्नुपर्छ, केही समय त अवश्य लाग्छ । हाम्रा विकासका आधारहरु लगभग तयार भइसकेका छन्, अब त्यसमा ईटाहरु मात्र थप्दै जाने हो । साथै अबको हाम्रो मुख्य ध्यान नेपाली युवा जनशक्तिको क्षमता विकास गरी आफैं अवसर खोज्ने स्थिति सृजना गर्ने परिस्थिति सृजना गर्नु हो । यसो हुनसकेमात्र हरेक नेपाली युवा नेपालमा नै रही यहाँको विकासमा योगदान पुर्याउन तयार हुनेछन् । जबसम्म हाम्रो युवा जनशक्ति क्षमतावान् भई स्वदेशमा नै रहेर काम गर्न तयार हुँदैनन्, तब सम्म हामीले अपेक्षाकृत रुपमा विकासको गति लिन सक्दैनौं ।

———————————————————————————–

नाष्ट मातहत हुँदै आएका कामहरु
अहिले यस संस्थाले विज्ञान पार्क निर्माणको काम अघी बढाउँदैछ । सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक इन्धन लगायत विभिन्न क्षेत्रको अध्ययन गर्दै सीप हस्तान्तरण गर्ने उद्देश्यले यस संस्थाले अहिले ‘सेन्टर फर एक्सेलेन्सः समृद्धिको लागि नवप्रवद्र्धन केन्द्र’ स्थापना गरेको छ । सीप र प्रविधि हस्तान्तरण एवं नयाँ खोजको लागि आइटी क्षेत्रमा पनि यस संस्थाले काम गरिरहेको छ । कोरियन सरकारको सहयोगमा  NIA नामक संस्थाले एक्सेलेन्स सेन्टर बनाइदिएको छ । जसअन्तरगत मोबाइल बसहरु संस्थालाई प्राप्त भएका छन् । ती बसहरु दूरदराजमा रहेका नेपालीहरुलाई निःशुल्क सुविधा प्रदान गर्ने कार्यको लागि प्रयोगमा ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij