२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल चेम्बर अफ कमर्सले मनायो भन्सार दिवस

नेपाल चेम्बर अफ कमर्सले मनायो भन्सार दिवस

 

नेपालका व्यवसायीहरूको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले ७०औँ भन्सार दिवस मनाएको छ । चेम्बर अफ कमर्सले मङ्गलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी भन्सार दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरूमा अनलाइन प्रणाली पूर्णरूपमा लागू गर्न लागिएको जानकारी दिए ।

महानिर्देशक सापकोटाले भन्सार विभागले भन्सार नाकामा व्यापारलाई सहजीकरण गर्ने काम गरिरहेकाले यसलाई थप व्यवस्थित बनाउन पूर्णरूपमा अनलाइन प्रणाली लागू गर्न लागेको बताए । भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरूले भोग्दै आएका झन्झट समाप्त हुने उनको भनाइ छ ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोशेढुङ्गा सावित हुने दाबी गरे । सरकारले भन्सारमा व्यापारलाई सहजीकरण गर्ने काममा कुनै कसर बाँकी नराख्ने मरासीनीले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारका साथै व्यापार सहजीकरण गर्नुपर्ने बताएका थिए । भन्सारमा आयातलाई नियन्त्रण नगरेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । सरकारले निजी क्षेत्रको सहकार्यमा अब निर्यातलाई प्रर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर र उद्यमशील बनाउने गरी काम गर्नुपर्ने उनले बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनुपर्ने धारणा राखेका थिए । उनले भन्सार दरबन्दी जबसम्म घट्दैन् तबसम्म सतप्रतिशत भ्याट दिन नसकिने टिप्पणी गरे । राष्ट्र बैङ्कको आयातका लागि एलसी खोल्न सतप्रतिशत मार्जिन राख्नुपर्ने पछिल्लो व्यवस्थाले तीन महिनापछि राजस्वमा प्रभाव पार्ने श्रेष्ठको भनाइ थियो । उनले राष्ट्र बैङ्कको यो व्यवस्थाले बैङ्कहरूलाई पोस्ने काममात्रै गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij