२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

काठमाडौं : अमेरिकी सहर न्यूयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा ९ जना बालबालिका पनि परेका बताइएको छ । न्यूयोर्क सहरका मेयर एरिक एडम्सले घटनाको पुष्टि गरेका छन् । एडम्सका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन् ।

अरु कैयौँ व्यक्ति घाइते भएका छन् । प्रारम्भिक समाचारअनुसार आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको मेयर एडम्सले जानकारी दिएका छन् । न्यूयोर्कमा रहेको १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरु भने त्यस तल्ला बाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए ।

न्यूयोर्कको यो आगलागीलाई ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटनाकोे रुपमा हेरिएको छ । न्यूयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए । अग्नि नियन्त्रकहरुले धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन् ।

आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरुले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।

– रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij