पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।
कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।
पछिल्लो सातादेखि कतारमा दैनिक औसत ५०० जना कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् भने साउदी अरबमा दैनिक औसतमा ७०० भन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । यस्तै कुुवेत र यूएईमा दैनिक एक हजारको हारहारीमा नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।
कतार, साउदी, यूएई, कुवेत र ओमानमा रहेका नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै सम्बन्धित देशले लागू गरेका सबै स्वास्थ्य मापदण्ड तथा रोकथामका उपायको कडाइका साथ पालना गर्न नेपालीलाई अनुरोध गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएका नेपालीका मुख्य श्रम गन्तव्य देशमा रहेको राजदूतावासले सूचना निकालेर मात्रै दायित्व पूरा नहुने भन्दै वैदेशिक रोजगारविज्ञ डा. गणेश गुुरुङले बढ्दो सङ्क्रमणका कारण नेपाली जोखिममा परेको खण्डमा उद्धारका लागि अहिलेबाटै पूर्वतयारीमा रहनुुपर्ने बताउनुुभयो ।
साउदी अरबको रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा दुुई साता अगाडिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकामा अहिले दैनिक ७०० माथि पुगेको छ । साउदीले बाहिर निस्किँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको दूतावासको सूचनामा उल्लेख गरिएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij