
नेपालको विकासको लागि दूरदर्शीता र शिघ्र निर्णय क्षमता भएका राजनेता हामीले दशकौं देखि प्राप्त गर्न सकेनौं । यो नेपालको लागि ठूलो दुर्भाग्य बनेको छ । जसरी नेपालमा राणाशासन वा पञ्चायती व्यवस्थामा दिगो विकासका केही कार्यक्रमहरु अघी बढाइएका थिए । अहिलेको लोकतान्त्रिक बहुदलीय व्यवस्थामा त्यस किसिमले कुनै पनि दीर्घकालिन योजनाहरु अघी बढाउन सकिएको छैन ।
राजा महेन्द्रले अघी बढाएको पूर्वपश्चिम महेन्द्र राजमार्ग अहिले सिङ्गो नेपाललाई जोड्ने महत्वपूर्ण सेतु बन्न पुगेको छ । यो आयोजना शुरु हुँदा नेपालको बार्षिक बजेट निकै कम थियो । आन्तरिक स्रोतबाट तत्काल उक्त परियोजना निर्माण गर्न सम्भव थिएन । यसैकारण यो आयोजनाले राजा महेन्द्रको मृत्यु भएको दशौं बर्षपछि मात्र पूर्णता पायो । तैपनि जुन दूरदर्शी योजना सहित उक्त परियोजना अघी बढेको थियो, त्यस प्रति हामीले गौरव गर्नुपर्छ ।
अहिले परिस्थिति बदलिएको छ । नेपालको राज्य सञ्चालन प्रणाली बदलिएको छ । अधिकार जनताको हातमा आएको छ । सरकारको सम्पूर्ण नेतृत्व जनप्रतिनिधिहरुबाट सञ्चालन भएको छ । मुलुकको बजेट क्षमता बढेको छ । शिक्षा र चेतनास्तर बढेको छ । नयाँ प्रविधिहरु विकास भएका छन् । तैपनि समस्या हाम्रो मानसिकतामा छ । हाम्रो मानसिकता कहिल्यै बदलिन सकेन । हाम्रा छिमेकी देशहरुले निकै राम्रो प्रगति गरिसके । हामी तुलनात्मक रुपमा अघी बढ्न सकेनौं । हाम्रा जनप्रतिनिधिहरुले जनताहरुको मनोभावना बमोजिम आफ्ना कार्यक्रमहरु तय गर्न सकेनन् । हाम्रो अहिलेको समस्या यही बन्न गयो ।
नेपाल पछाडि पर्नुमा हाम्रो भौगोलिक अवस्थिति जिम्मेवार छैन । हाम्रो सोच परिवर्तन हुनु जरुरी छ । नेपालका अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुलाई कम्तीमा सपना देख्न सिकाएका छन् । यदि हामीले सपना नै देख्न सकेनौं भने कुनै पनि स्थितिमा हाम्रो विकास हुन सक्दैन । साथै हामीमा अहिले नैतिकता पतन हुँदै गएको छ । अब हामीलाई नैतिकता सहितको व्यावहारिक शिक्षाको आवश्यकता समेत छ ।
सम्भावना बोकेको नेपाल
नेपाल सस्तो श्रम भएको देश हो । नेपालका छिमेकी देशहरु अहिले निकै नै विकसित भइसकेका छन् । ती देशहरुमध्ये दक्षिणको छिमेकी देश भारत र नेपालको संस्कृति समेत मिल्दो छ । भारतीयहरुले नेपालप्रति निकै श्रद्धामय दृष्टिकोण राख्छन् । नेपालको माटो छुन पाउँदा उनीहरुले गौरव महसुस गर्छन् । त्यहाँबाट हामीले ठूलो परिमाणमा धार्मिक पर्यटकहरु नेपालमा भित्र्याउन सक्छौं । यस तर्फ अहिले सम्म हाम्रो ध्यान नै जान सकेको छैन । नेपालको पर्यटन प्रवद्र्धनको लागि हामीले विशेष प्याकेज सहित अघी बढ्न सकेको खण्डमा यहाँ निकै राम्रा सम्भावनाहरु पर्खिएर बसेका छन् । हामीले दिगो योजना, चाहना र अठोट मात्र राख्नुपर्छ । ती दीर्घकालिन योजनाहरुलाई साकार पार्न सक्ने धैर्यता हुनुपर्छ । नेपाल निकै राम्रो सम्भावना भएको देश हो ।
नेपाल धर्मसंस्कृति एवं भौगोलिक अवस्थितिको हिसाबले निकै विविधिकरण भएको देश हो । यहाँ नेतृत्वमा रहने व्यक्तिले राम्रा योजना तय गर्ने हो भने ठूलो परिमाणमा ठूला परियोजना निर्माणको लागि लगानी यहीँका जनताहरुबाट जुटाउन सकिन्छ । त्यसो हुँदा ती आयोजनाको लाभ पनि यहीँका जनताहरुलाई नै प्राप्त हुने स्थिति रहन्छ ।
राज्यले नेपाल भित्र रहेका जनताको क्रय शक्ति अर्थात क्षमता कति छ भन्ने कुरा विभिन्न तवरले अनुमान लगाउन सक्छ । यहाँ हुने विभिन्न वस्तुको खपत, वस्तुको प्रकृति, नेपालमा भित्रिने सामानको प्रकृति र लागत, हाम्रो उत्पादन लगायतलाई जनसङ्ख्यासँग तुलना गरेर हाम्रो बार्षिक खर्च गर्न सक्ने क्षमता अनुमान गर्न सकिने थुप्रै आधारहरु पत्ता लगाउन सकिन्छ । नेपाली जनताहरुको बार्षिक खर्चलाई नै केही हिस्सा लगानीको लागि प्रोत्साहन गर्ने नीति राज्यले लिनुपर्छ ।
ठूला परियोजनाको लागि स्वदेशी स्रोतबाट लगानी व्यवस्थापन कति सम्भव ?
नेपालमा भएका व्यक्तिहरु कुन क्षमताका छन् भन्ने सम्बन्धमा साधारण जानकारी विद्युत उपयोगकै स्थितिलाई विष्लेषण गरेर पनि राज्यले आँकलन गर्न सक्छ । सरकारले न्यूनतम देखि अधिकतम उपयोगलाई विचार गर्दै घरेलु देखि औद्योगिक ग्राहक सम्म ४–५ तहमा ग्राहकहरुलाई वर्गिकरण गर्न सकिन्छ । सोहीबमोजिम राज्यले दीर्घकालिन महत्वका आयोजना निर्माणको लागि हरेक वर्गसमुदायका व्यक्तिहरुलाई न्यूनतम यति रकम उक्त आयोजनाको लागि लगानी गर्नैपर्ने भन्ने किसिमले नीति लिएर पनि ठूला परियोजना निर्माणको काम स्वदेशी स्रोतबाट रकम जुटाउन सकिने स्थिति रहन सक्छ ।
पर्यटनको सम्भावना
राज्यले सही नीति लिन सकेको खण्डमा नेपाललाई सस्तो धार्मिक गञ्तव्य, सस्तो हनिमुन गञ्तव्य, सस्तो शैक्षिक भ्रमण गञ्तव्य, संस्कार अध्ययन केन्द्र, जडिबुटी अनुसन्धान केन्द्र लगायतको रुपमा विकास गर्न सकिन्छ । ठूलो क्षमताका पार्कहरु स्थापना गरेर टिकट प्रणालीबाट भित्र छिर्ने व्यवस्था गर्न सकिन्छ । यसो हुन सकेको खण्डमा ठूलो परिमाणमा विदेशी पर्यटकहरु भित्र्याएर आर्थिक लाभ हासिल गर्न सकिन्छ । साथै नेपाल भित्रिएका पर्यटकको अवधि कसरी लम्ब्याउने भन्ने सम्बन्धमा पनि हामीले योजना बनाउनुपर्छ ।
नेपालमा विदेशी पाहुनाहरुलाई स्वागत सत्कार गर्नमा हामी नेपालीहरु सक्षम छौं । हाम्रो संस्कारबाट पाहुनाहरुलाई खुसी पार्न सक्छौं । साथै बदलिँदो परिवेश बमोजिम स्थानीय जनताहरुलाई भाषाको साधारण ज्ञान र व्यवहारका तरिकाहरु बारे सामान्य प्रशिक्षित गर्न सकेको खण्डमा हामीले विदेशी पर्यटकहरुबाट राम्रो माया सहित अझ बढी लाभ हासिल गर्न सक्छौं ।
ग्रामीण जनतालाई यसरी सम्पन्न बनाउने कि ?
नेपालका ग्रामीण जनताहरुको अवस्था अझै पनि कमजोर छ । आर्थिक स्रोतहरु न्यून छन् । नेपालका ग्रामीण भू–भागमा स्तरीय सडक सञ्जाल समेत पुग्न सकेको छैन । सबै ठाऊँमा स्तरीय सडक सञ्जाल बिस्तार हुने र ती ठाउँमा राज्यले कर छुटमा यातायातका साधनहरु चलाउनलाई प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउने हो भने स्थानीयहरुको जनजीवन अवश्य माथि उठाउन सकिन्छ ।
हामीले महसुस गरेकै छौं कि तुलनात्मक रुपमा शहरमा भन्दा अहिले ग्रामीण क्षेत्रको यात्रा निकै महँगो छ । १२–१५ किलोमिटर यात्राको लागि ४–५ सय रुपियाँ खर्च गर्नुपर्ने बाध्यात्मक स्थिति छ । विकट मानिने कर्णाली प्रदेशले त अझै विकासको कुनै महसुस नै गर्न सकेको छैन । यस्तो अवस्थामा ग्रामीण जनताहरुलाई सहुलियत पुग्ने गरी राज्य पक्षले विभिन्न कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । जसबाट ग्रामीण जनजीवन माथि उठ्न सकोस् । राज्यले कल्याणकारी अभिभावकीय भूमिका समेत निर्वाह गर्नुपर्छ । राज्य पक्षले यसरी सोच्ने हो भने ग्रामीण जनताको स्थिति माथि उकास्न ग्रामीण क्षेत्रको यात्रा सस्तो बनाउनु जरुरी छ । यसको लागि राज्यले पूर्ण करछुटमा ग्रामीण भेगमा विद्युतीय टेम्पोहरु चल्ने उपयुक्त नीतिगत व्यवस्था गर्न सक्नुपर्छ । जुन साधनबाट आफ्नो घरबाट एक–डेढ घण्टामा सदरमुकाम वा नजिकको शहरमा पुग्न सकियोस् । यसको लागि भाडा अति न्यून (१५–२०) रुपियाँ निर्धारण गर्न सक्नुपर्छ । जसबाट आफ्नो घरमा उत्पादन भएका काउली, फर्सी, साग, सिमी, गोलभेँडा लगायत तरकारीहरु थोरै परिमाणमा (५–१० किलो) नै भएपनि आफैंले बजारमा बिक्री गरेर समयमा नै घरमा फर्किइ सहज तवरले जीविकोपार्जन गर्न सक्ने अवस्था सृजना हुन सकोस् । ग्रामीण जनजीवनलाई माथि उठाउनको लागि राज्यले यस किसिमको नीति अङ्गिकार गर्नैपर्छ ।
तर बिडम्बना अहिले नेपालमा सवारी आयात गर्ने क्रममा अत्यन्तै धेरै कर राज्यले लिने गरेको छ । जसले गर्दा नेपालमा भित्रिने सवारी निकै महँगो पर्ने स्थिति छ । करछुटमा सवारी आयात गर्दा निकै सस्तोमा भित्रिन सक्ने र त्यस बापत व्यवसायीले पनि न्यून शुल्कमा यातायात सुविधा उपलब्ध गराउन सक्ने स्थिति रहन्छ । यदि राज्य साँच्ची नेपालको विकास र समृद्धि हुन सकोस्, नेपालीहरु समृद्ध बन्न सकुन् भन्ने चाहन्छ भने । महँगोमा भित्र्याएका व्यवसायी स्वतः व्यावसायिक लाभमा केन्द्रित रहनुको विकल्प पनि हुँदैन भन्ने कुरामा राज्य सचेत हुनुपर्छ । अहिले राज्यले यातायात साधनहरुलाई विलासिताको क्षेत्रमा राख्दै आएको छ । यद्यपि कस्ता यातायातका साधनहरु विलासिताका हुन् र कस्तालाई राज्यले छुट दिनुपर्छ भन्ने सम्बन्धमा भने राज्यले कुनै व्यवस्था गर्न सकेको पाईंदैन ।
अन्त्यमा
हाम्राे छिमेकी मुलुक भारतले पनि आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउनको लागि उत्पादनमा अनुदान दिँदै आएको छ । नेपालले पनि यहाँका स्वदेशी उत्पादनलाई बजारमा प्रतिष्पर्धी बनाउनको लागि आवश्यक नीति लिएर कृषक एवं उद्योगीहरुलाई कम लागतमा प्रतिष्पर्धी तवरले सामान उत्पादनको लागि प्रोत्साहित गर्नैपर्छ । जसबाट हामीले चाहेबमोजिम विकासको दिशामा फड्को मार्न सकौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij