२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज बालाचतुर्दशी: पितृको सम्झनामा शतवीज छरेर मनाइ‌दैं

आज बालाचतुर्दशी: पितृको सम्झनामा शतवीज छरेर मनाइ‌दैं

काठमाडौं : मंसिर महिनको कृष्ण चतुर्दशी अर्थत बाला चतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा शतबीज ( शतबीउ ) छरेर मनाइन्छ ।

सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बाला चतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।

मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

बोली चालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिनाथ परिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन ।

‘ सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते। ‘ नेपालीमा ‘ शतम् ‘ को अर्थ सय र ‘ बीज ‘ को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान , जौ , गहुँ , चना , तिल , कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

यसैगरी शतबीजको मिश्रणमा केरा , उखु , सुन्तला , अनार भोगटे , कागती , निबुवा , बिमिरो , अमला , आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन । यसैगरी ,शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ ।

यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि राजधानी काठमाण्डौंको पशुपतिनाथको मन्दिरमा शतबीज छर्न ठूलो भीड लाग्छ ।

आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश , सूर्यघाट , गौरीघाट , आर्यघाट , गुह्येश्वरी , पशुपति, मृगस्थली , विश्वरूप मन्दिर , किराँतेश्वर मन्दिर , आदि ठाउँमा सतबीज छरिन्छ ।

प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।

सुरूमा सप्तबीज ( धान , जौ , तिल , गहुँ , चना , मकै , कागुनो ) छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरि सन्देश पुर्‍याउन अनुरोध गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij