काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–७ सिस्नेरीको निम्न मध्यम वर्गको आर्थिक हैसियत भएको परिवारमा जन्मिएर आफ्नै सङ्घर्ष एवं योजनाबाट सामाजिक, व्यावसायिक तथा राजनीतिक रुपमा राम्रो सफलता र प्रतिष्ठा हासिल गर्न सफल पात्र हुन् राजेन्द्र पराजुली ।
गोरखाको आरुपोखरीमा जन्मिएका राजेन्द्र पराजुली बाल्यकाल देखि नै आफ्नो समूहका अन्य साथीहरु भन्दा अलि पृथक स्वभावका देखिन्थे ।
काठमाडौं प्रवेशसँगै व्यावसायिक क्षेत्रमा जोडिएका उनले सदैव सामाजिक विकास र उद्यमशिलता जागरणलाई आफ्नो जीवनको अभिन्न अङ्गको रुपमा अघी बढाइरहे ।
अल्पकालिन सफलतामा भन्दा दीर्घकालिन सम्भावनाका क्षेत्रमा काम गर्न रुचाउने पराजुली काठमाडौं प्रवेश पश्चात् दर्जनौं व्यावसायिक क्षेत्रमा संलग्न भए । यस क्रममा थुप्रै उतारचढावहरु समेत उनले व्यहोर्नुप¥यो । यद्यपि हरेक असफलतालाई क्षणिक असफलता ठान्दै पछि नहटी निरन्तर उनी अघी बढि नै रहे । त्यसैको प्रतिफल स्वरुप आफ्नै संघर्षमय जीवनयात्राबाट नै उनले आफूलाई स्वनिर्मित उद्यमी सावित गर्न सफल भएका हुन् ।
व्यावसायिक सफलताको अलावा सामाजिक कल्याण, दायित्वबोध, न्याय र सहअस्तित्वलाई समेत सँगसँगै अघी बढाउनुपर्नेमा उनी दृढनिश्चियी छन् ।
ग्रामीण एवं स्थानीय विकास बारे समेत पराजुली निरन्तर चिन्तनशिल रहँदै आएका छन् ।
पराजुली दम्पतीबाट क्याम्पसलाई गरियो ३ लाख ११ हजार सहयोग
भर्खरमात्रै गोरखाकै आफू संरक्षक रहेको भीमोदय बहुमुखी क्याम्पसमा उनले आफ्ना आमाबुबा स्व. डम्बर बहादुर पराजुली र देवकुमारी पराजुलीको सम्झनास्वरुप ३ लाख ११ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गरेका छन् । पराजुलीबाट भएको उक्त सहयोगलाई क्याम्पस प्रमुख डा. वीरेन्द्र पुडासैनीले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । साथै उक्त सहयोग रकमलाई क्याम्पसको अक्षयकोषमा राखिने क्याम्पस प्रमुखले बताउनुभएको छ ।
राजेन्द्र पराजुली व्यावसायिक एवं सामाजिक क्षेत्रको अलावा राजनीतिमा पनि सक्रिय पराजुली हाल गोरखा जिल्ला जसपाका उपाध्यक्ष पनि हुन् ।
शिक्षा क्षेत्रको विकासले सामाजिक चेतना जागरणमा महत्वपूर्ण भूमिका खेल्ने ठानेर नै आफूले स्वेच्छाले क्याम्पस प्रशासनलाई उक्त सहयोग उपलब्ध गराएको पराजुली बताउँछन् ।
भूकम्प, नाकाबन्दी, कोरोनाकाल, बाढिपहिरो, विभिन्न दुर्घटना लगायतका विभिन्न विपत्ति एवं घटनाहरु हुँदा होस् वा अन्य सामाजिक क्रियाकलापमा उनी तत्काल आवश्यक सहयोगमा जुटिहाल्छन् । यसैकारण गोरखा लगायत पराजुलीसँग निकट व्यक्तिहरुको मनमुटुमा बस्न सफल छन् राजेन्द्र्र पराजुली ।
आफू पनि सामाजिक प्राणी भएको र कसैको अप्ठ्यारो स्थितिमा सहयोग गर्नुपर्ने मानवीय दायित्वलाई हृदय देखि नै महत्वानुभुति गरेर सामाजिक क्रियाकलापमा आफू ती क्रियाकलापमा भित्रै देखि संलग्न रहने पराजुली बताउँछन् । साथै आफू कहिल्यै पनि सामाजिक भावनाबाट विचलित नहुने समेत उनी बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij