२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यी हुन् केपी ओलीले छानेका नेकपा एमालेका १९ पदाधिकारी (सूचीसहित)

यी हुन् केपी ओलीले छानेका नेकपा एमालेका १९ पदाधिकारी (सूचीसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली ।’

अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम उनले सुनाए ।

त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिसकेपछि ओलीले सम्झिए– ‘ए सुवास नेम्वाङजीको नाम उपाध्यक्षमै छुटेछ । त्यही पनि आफैंले देखाउन आएपछि मात्रै देखियो । सुवाचन्द्र नेम्वाङ माथि नै छुटेछ । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ ! बरिष्ठ उपाध्यक्षदेखि सबैको नाम मिलाउँदा ७ जना उपाध्यक्षहरु हनुहुन्छ ।’

महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिसकेपछि ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

ओलीले यी नामहरु हलबाट पारित गर्नका लागि भने रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गरे । ‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’

केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाललाई भने उनले आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।

पदाधिकारीमा यी नामहरु सकेसम्म मिलाएर घोषणा गरिएको ओलीले बताए । उनले भने, ‘मैले यी नामहरु अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत गरिरहेको छु । हाम्रोबीचमा सल्लाह पनि भो ।’

ओलीले यसो भनिरहँदा अध्यक्षमण्डलको समेत सदस्य रहेका भीम रावलले भने ओली पक्षबाट एकलौटी गरिएको भन्दै आपत्ति जनाएका छन् । अब अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुने सम्भावना बढेको छ ।

यद्यपि नेकपा एमालेले यसअघि प्यानल नबनाई चुनाव लड्ने आचार संहिता बनाएको थियो । तर, केपी ओलीले सहमतिका लागि भन्दै आफ्नो तर्फबाट १९ जनाको प्यानल नै तयार पारेका छन् ।

त्यसो त ओलीले सुवास नेम्वाङको नाम पढ्दा मात्र गल्ती गरेका होइनन्, ३०१ केन्द्रीय कमिटीको नामावली पढ्दा कैयौं नामहरु दोहोर्याएका थिए । अच्युत मैनालीको नाम दुई ठाउँमा परेकाले एक ठाउँमा हटाएर पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई केन्द्रीय सदस्य बनाउने ओलीले प्रस्ताव गरेका थिए । त्यस्तै उनले मधेसी क्लष्टरको नामै लिन छुटाए र जनजातिकै क्लष्टरमा मधेसी क्लष्टरको नाम पढेर सुनाए । ए, अर्को पो पढिएछ भन्दै उनले नामहरु वाचन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij