
काठमाडौं । नेपाली कांग्रेसको प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थल तनावग्रस्त बनेको छ ।
मंगलबार साँझ जिल्ला सभापतिको मतगणना अन्तिम अवस्थामा पुगेका बेला ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रूग्याँस प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
संस्थापन इतर पक्षका उम्मेदवार विष्णु गिरी १०६४ मध्ये ६५ मत गणना गर्न बाँकी छँदा ४६ मतले अगाडि रहेको अवस्थामा ढुंगामुढा भएको थियो । मतगणना स्थल स्वर्गद्वारी क्यापस बाहिरबाट आएको हुलले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएको बताइएको छ ।
त्यसक्रममा भएको झडपमा दुई सर्वसाधारण र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एक/एक जना सुरक्षाकर्मी गरी ४ जना घाइते भएका छन् ।
गिरी पक्षका नेताहरु संस्थापन पक्षका प्रतिद्वन्दी शिव रिजाल पक्षकाले ढुंगामुढा गराएको आरोप लगाउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij