२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेरामिक्स क्षेत्रमा सङ्घर्षपूर्ण यात्राका ३५ बर्ष

सेरामिक्स क्षेत्रमा सङ्घर्षपूर्ण यात्राका ३५ बर्ष

Potter working on a Potter's wheel making a vase. Woman forming the clay with her hands creating jug in a workshop. Close up

लक्ष्मी कुमार प्रजापति, प्रबन्ध निर्देशक, ठिमी सेरामिक्स

सेरामिक्स व्यवसाय नेपालमा निकै लामो समय देखि प्र्रचलनमा रहँदै आएको व्यवसाय हो । यस व्यवसायमा मूलतः परम्परागत रुपमा कुमाल समुदाय संलग्न रहँदै आएका छन् । साथै अहिले पनि यो क्षेत्र कुमाल समुदायकै सक्रियतामा अस्तित्वमा छ । यद्यपि अहिले भने यस व्यवसाय सङ्कटमा परेको छ ।

माटोका उत्पादनहरुमा आधारित सेरामिक्सजन्य वस्तुहरुको उत्पादन परम्परागत र आधुनिक गरी २ किसिमले हुँदै आएको छ । परम्परागत विधिबाट उत्पादन गरिने सेरामिक्सजन्य उत्पादनहरुमा फूल रोप्ने गमला, हाँडी, घैँटो, बत्ती बाल्ने पाला लगायत रहँदै आएका छन् । यसैगरी आधुनिक शैलीमा परिमार्जन गरी तयार गरिएका माटोका कप, गिलास, चियादानी तथा अन्य थुप्र्रै सजावटका वस्तुहरु समेत सेरामिक्स अन्तरगत नै पर्दछन् । नेपालमा अहिले पनि ठूलो परिमाणमा आकर्षित डिजाइनका कप एवं प्लेटहरु भारत, चीन लगायतका बाह्य बजारबाट नेपालमा भित्रिइरहेका छन् । यस्ता सामानहरु नेपालमा पनि बनिरहेका छन् । आकर्षक डिजाइनका यस्ता सामानहरु नेपालमा नै उत्पादन गर्ने कार्यमा अग्रणी स्थानमा रहँदै आएको एक कम्पनी हो ठिमी सेरामिक्स ।

नेपालको ठूलो सेरामिक्स उद्योगको रुपमा रहेको यस कम्पनीले मूलतः आफ्नो उद्योगबाट उत्पादित सामानहरु बाह्य बजारमा निर्यात गर्दै आइरहेको छ । यस उद्योगको सञ्चालन युवा उद्यमी दाजुभाइ सन्त कुमार प्रजापति र लक्ष्मी कुमार प्रजापतिले गर्दै आएका छन् । उनीहरु यस उद्योगमा विगत साढे ३ दशक भन्दा लामो समय देखि समर्पित रहँदै आएका छन् । हुनतः यो पेशा उनीहरुमा आफ्नो बुबाबाट हस्तान्तरण भएको हो । यद्यपि आफूहरुले उद्योगको जिम्मेवारी लिएपछि हाल यस उद्योगलाई आधुनिक तवरले सञ्चालन गर्ने पहल उनीहरुले गरेकै कारण ठिमी सेरामिक्स अहिलेको अवस्थामा आउन सकेको हो ।

समस्याः
सेरामिक्स उद्योगको लागि सबैभन्दा ठूलो समस्याको रुपमा माटो रहँदै आएको छ । उच्च गुणस्तरीय माटो पाउन आफूहरुलाई निकै कठिन हुने कम्पनीका सञ्चालक लक्ष्मी कुमार प्रजापतिले बताए । नेपालमा विशेष गुणस्तरको माटो उपलब्ध नहुने भएकोले बाह्य मुलुकबाट समेत माटो ल्याई आफूहरुलाई केही बर्षलाई नै पुग्ने गरी स्टक राख्नुपर्ने समेत उनी बताउँछन् ।
यस क्षेत्रमा रहेर काम गर्नुपर्ने क्रममा प्रजापति दाजुभाइले अन्य थुप्रै समस्याहरु सामना गर्दै आएका छन् । ती समस्याहरु मूलतः निम्न छन् ।

क) कच्चा पदार्थ
ख) टेक्नोलोजीको असुविधा
ग) अन्तराष्ट्रिय अभ्यास बारे ज्ञान हुन नसक्नु
घ) बजार
ङ) माटो ओसारपसारमा उच्च राजस्व लगायत

सेरामिक्समा आकर्षणः
पारिवारिक रुपमा नै सेरामिक्स उद्योग सञ्चालनमा रहँदै आएको परिवारमा जन्मिएका कारण सेरामिक्स प्रति आकर्षित हुनु लक्ष्मी कुमार र दाजु सन्त कुमारको लागि स्वभाविक नै हुनगयो । त्यसको अलावा यस सम्बम्बधा सन् १९९२ मा एउटा तालिम समेत आयोजना गरिएको थियो । उक्त तालिममा सहभागि हुनुभएका सन्त कुमार प्रजापतिले सेरामिक्स क्षेत्रको गहिराई र फैलावटलाई अझ नजिकबाट बुझ्ने अवसर पाए । त्यहाँबाट २ बर्षको डिप्लोमा तहको तालिम लिएपश्चात् नेपाल सरकार अन्तरगत नै सञ्चालित नेपाल सेरामिक्स प्रमोशन प्रोजेक्टमा रहेर उनले काम गरे । भक्तपुरको औद्योगिक क्षेत्रमा सञ्चालित उक्त प्रोजेक्टमा काम गरिरहँदा आफूले तालिममा सिकेको कुरा दाइ सन्त कुमारले भाइ लक्ष्मी कुमारलाई बिहानबेलुका सिकाउँथे । त्यसै समय देखि नै भाई लक्ष्मीकुमारको अग्रसरतामा यो उद्योग अघी बढेको छ ।

लक्ष्मीकुमार दाजुभाई आफ्नो बुबाले सञ्चालन गर्दै आएको उद्योगमा सन् १९९५ देखि जोडिएर यस उद्योगलाई नयाँ तवरले काम गर्ने मान्यता सहित काम गर्दै आएका छन् । आफ्ना बुबाले चीनमा उत्पादित कप देखेर त्यसै डिजाइनका सामानहरु नेपालमा पनि उत्पादन गर्न ठूलो प्रयाश गर्नुभयो । तर त्यतिबेला उहाँ सफल हुन सक्नुभएन । यद्यपि उहाँहरुको त्यो सोचलाई अहिले छोराहरुले सार्थक बनाइरहेका छन् । नयाँ तवरले काम गर्ने मान्यताले अघी बढ्ने क्रममा शुरुका बर्षहरुमा आपूmहरुले निकै ठूलो नोक्सानी समेत व्यहोर्नुपरेको तरपनि आफूहरु अविचलित रुपमा अघी बढिरहेको कारण नै अहिलेको अवस्थामा आउन सफल भएको लक्ष्मीकुमार प्रजापति बताउँछन् ।

शुरुवातका चुनौतीः
तालिममा सहभागि भई प्रोजेक्टमा काम गर्ने बेलासम्म कच्चा पदार्थ, बजार लगायत बारे कुनै चिन्ता लिनुपरेको थिएन । तर आफैं व्यवसायमा होमिँदा भने यस किसिमका थुप्रै समस्याहरु सामना गर्नुपर्यो । त्यसरी निकै कठिनता बीच अघी बढेको प्रजापति दाजुभाइको यात्राबाट स्थापित ठिमी सेरामिक्स उद्योगमा अहिले सम्म आइपुग्दा २४ जना व्यक्तिहरु रोजगाररत छन् । उद्योग शुरुवातको अवस्था सम्झँदै लक्ष्मी कुमार प्रजापति बताउँछन्, ‘तालिम त लिइयो तर अरु कुरा केही थाहा थिएन । १९९४ बाट शुरु भएको प्रोजेक्ट पनि ९ बर्षमा सकियो । त्यसपछि हामी पूर्ण रुपमा आफ्नै व्यवसायमा संलग्न हुनुपर्ने अवस्थामा पुग्यौं । तर हामीलाई कच्चा पदार्थ कहाँ पाइन्छ ? कसरी प्रशोधन गर्ने हो ? बजार व्यवस्थापन कहाँ र कसरी गर्ने हो ? केही थाहा थिएन । तैपनि विस्तारै सिक्दै गयौं । कहिल्यै हरेस खाएनौं । अन्य क्षेत्रको बारेमा काम गर्न केही सीप नभएको कारणले गर्दा समेत हामीलाई यसै क्षेत्रबाट माथि उठ्न प्रेरणा मिल्यो ।’

आगामी योजनाः
नेपालमा नै वाथवेयर र सेनिटरीवेयर एवं टायल सम्बन्धी काम गर्ने सोचमा छन् प्रजापति दाजुभाई । यसको लागि ठूलो लगानी आवश्यक पर्ने उनीहरुको बुझाई छ । टायल र सेनिटेसन सामाग्री उत्पादनको लागि उच्चस्तरीय प्रविधि र प्रयाप्त सक्षम जनशक्ति समेत आवश्यक रहन्छ ।

ठिमी सेरामिक्स उद्योगको अवस्थाः

हाल भक्तपुरको मध्यपुर ठिमीमा सञ्चालन हुँदै आएको यो उद्योग करिब २ रोपनी जग्गामा सञ्चालन हुँदै आएको छ । उद्योगले सेवाग्राहीको आवश्यकतालाई विचार गर्दै आधुनिक डिजाइनका विभिन्न वस्तुहरु उत्पादन गर्दै आएको छ । यस उद्योगले हाल स्वदेशी तथा विदेशी दुवै बजारमा आफ्ना उत्पादनहरु विक्री गर्दै आएको छ । नेपालका ५ तारे होटलहरुमा पनि यी सामानहरु बिक्री हुने गरेका छन् ।

माटोको गुणस्तरः
खानी अनुसार माटोको गुणस्तर फरक पर्ने गर्छ । जसले गर्दा राम्रो माटो उपलब्ध भएको अवस्थामा आफ्नो उद्योगलाई ३÷४ बर्षको लागि चाहिने माटो एकैपटकमा ल्याइ भण्डार गर्नुपर्ने बाध्यता समेत रहन्छ । राम्रो माटोले मात्र राम्रो गुणस्तरका सामान उत्पादन हुने भएको कारण उच्चगुणस्तरीय माटो आवश्यक पर्ने तर माटो उपलब्ध नहुँदा समस्या सृजना हुने गरेको छ ।

तापक्रम र उत्पादन हुने वस्तुहरुः
सेरामिक्स उत्पादनमा तापक्रमको विशेष महत्व हुने गर्छ । कमसल खालका सामानहरु ११ सय डिग्री भन्दा तलको तापक्रममा नै उत्पादन हुन्छन् । जसलाई अर्थनवेयर भनिन्छ । यसैगरी १३ सय डिग्री वा सो भन्दा माथिको तापक्रममा उत्पादन हुने वस्तुलाई स्टोनवेयर भनिन्छ । जुन निकै कडा हुने गर्दछन् ।

अन्त्यमा,
नेपालमा उपलब्ध माटोलाई बढीमा ११ सय डिग्री सम्मको तापक्रममा मात्र पोल्न मिल्छ । त्यस भन्दा माथिको गुणस्तरका सामान उत्पादनको लागि बाह्य मुलुकबाट माटो ल्याइ नेपालमा उपलब्ध माटोसँग मिसाएर अन्य सामान उत्पादन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij