२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बडादशै‌काे धार्मिक महिमा र व्यावहारिक महत्व

बडादशै‌काे धार्मिक महिमा र व्यावहारिक महत्व

के. बि. सम्राट

हाम्रो मुलुक बहुजाती, बहुभाषी, बहुपरम्परा, बहुरीतिरिवाज, बहुसंस्कारबट संस्कारित बहुसंस्कृतिको मुलुक हो । यतिमात्र कहाँ हो र हाम्रो मुलुकमा त विश्वमा सबैभन्दा अग्लो शिखर सगरमाथा र सबैभन्दा होचो स्थान केचना पनि हाम्रै मुलुकमा पर्दछ । शान्तिका दूत भगवान बुद्धको जन्मभूमी र आरद्यदेव भगवान विरावमान भएको पशुपति पनि हाम्रै मुलुकमा पर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको स्वर्गभूमी हाम्रो नेपालमा विभिन्न ठुला ठुला नदीनाला मात्र नभएर तालै तालले सौन्दर्यता दिएको अझ थप सुनमा सुगन्ध भनेझैं तराईदेखि हिमालसम्मका स्थानहरुमा समय सिजन अनुसारका प्राकृतिक जडीबुटीहरुले भरीपुर्णता छ ।

यही परम्परा, रीतिरिवाज अनुसार परका चाडपर्वहरु आउने क्रम क्रमशः शुरु हुन लागेका छन् । हिन्दुहरुको महान पहिलो चाडपर्व बडादशैं जसलाई्र हामी विजयादशमी भनेर भन्दछौं । जुन घटस्थापनको दशौं दिन विजय प्राप्ति भएको दिन र यस दिनमा हामी आफुभन्दा ठूला मान्यजनहरुबाट

‘आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरेसत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।’

शुभआशिष र मन्त्रका साथ विजया दशमी मनाउने चलन हाम्रो मुलुकमा निररन्तर रपमा मनाउदै आएका छौं र यो हाम्रा सन्ततिहरुले सिकेर लोप हुन नदिन हाम्रो कर्तव्य काँधमा आइसकेको छ । सनातन धर्मावलम्बीमध्येको पनि बहुधर्मावलम्बी, बहुजाती, बहुसंस्कृति, बहुपरम्परा अनि बहुसंस्कारबाट संस्कारित मुलुकमा आआफ्ना रुपरेखामा मनाइने गरिन्छ । आदिकालमा नवरात्र चारवटा मान्ने चलन थियो । माघ शुक्लपक्ष, चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष र आश्विन शुक्लपक्ष । तीमध्ये माघ र आषाढको नवरात्र चलनचल्तीमा नआए पनि चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको नवरात्रको विशेष महत्व रहेको देवीभागवतमा उल्लेख छ । वैदिक सभ्यताको विकास क्रमसँगै धर्म–संस्कृतिको विकास भएको विभिन्न शास्त्रमा उल्लेख छ । योसँगै सभ्यता सुहाउँदा र शास्त्रीय मान्यतामा आधारित विभिन्न चाडपर्वको पनि विकास हुँदै गयो ।

सनातन हिन्दु धार्मिक मान्यता अनुसार ती चाडपर्व चन्द्रमास र सौर्यमासमा आधारित छन् । तीमध्ये चन्द्रमासका आधारमा मनाइने शारदीय नवरात्रलाई विशेष रूपमा लिइन्छ । आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवरात्र महत्वपूर्ण भएकाले शुभ चाहनेहरूले यतिबेला दुर्गा भवानीको पूजा–आराधना गरी उपवास बस्नुपर्छ । आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र र दशमी तिथिलाई विजयादशमीको रूपमा मनाइन्छ भने दशमीका दिन सुरु भएको टीका जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कतैकतै कोजाग्रत पूर्णिमासम्म रहन्छ । यसरी धार्मिक मान्यतालाई आधार बनाएर १५ दिनसम्म नेपालीले बडादशैँ मनाउने गरेका छन् । नवरात्रका नौ दिनमध्ये पहिलो शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैठौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । यीमध्ये पहिलो दिन घटस्थापना, सातौं दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा मनाइन्छ । जसमा आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ भने यस दिन आफ्नो घर वा सामुहिक देवीघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी गोबर टाँसेर भिजाएको जौ राख्नुलाई जमरा राख्नु भनिन्छ । सो दिन पवित्र ठाउँ पूजाकोठा वा देवीघरमा आसन ओच्छ्याई दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय पद्धति छ । यसकासाथै तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘ओम दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यानगरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ ।

दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्छ । सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्याको पूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख गरिएको छ । जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ । ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभुषण धारण गरेकी हुनाले ब्रह्मचारिणीको पूजा आराधना गरिएको मान्यता छ । उनले हिमालय कन्याको रूपमा जन्मिएर भगवान् शिवलाई पति पाऊँ भनी तपस्या गरेकी थिइन् । ब्रह्मचारिणीकोआराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ । उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ । यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारीपूजा गर्ने चलन छ । ब्रह्मचारिणीलाई विशेष रूपमा काँइयो, धागो र चोलाको कपडा चढाउनुपर्ने मान्यता छ ।यस दिन ‘शैलपुत्री’ स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ । पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ । उनको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ । शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ । यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ । यसैगरी दोश्रो दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रह्मचारिणी’ स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ ।

त्यस्तै, तेश्रो दिन ‘चन्द्रघण्टा’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो । चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ । यसरी नै चौथो दिन ‘कुष्माण्डा’ रुवरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ । देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी थिइन्, तसर्थ उनलाई साक्षात् आदिशक्ति मानिन्छ । माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुने मान्यता रहेको छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ । यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ । पाँचौँ दिन ‘स्कन्दमाता’ स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ । शिव–पार्वती पुत्र कुमारको अर्को नाम स्कन्द हो । तसर्थ, पौराणिक मान्यताअनुसार स्कन्द या कार्तिकेयकी माता स्कन्दमाता हुन् । स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ । यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ । यस्तै छैठौं दिन ‘कात्यायनी’ स्वरूपा नवदुर्गा भवानीको पूजाआराधना गरिन्छ । पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए । कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्धभइन् । महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन् । भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए । कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ । यःतै सातौं दिनलाई फूलपातीको दिन भनेर भनिन्छ । यस दिन ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठूला त्रिनेत्र भएकी तथा मस्तष्कमा अर्धचन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ । उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ ।

कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको रुवरूप मानिन्छ । यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ । यस दिन देवीघरमा फूलपाती भित्र्याउने चलन छ । केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशो र जयन्ती नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ । यो फूलपाती साइत हेरेर दशैँघरमा भित्र्याउने गरिन्छ । नवदुर्गाको आठौ दिनलाई महाअष्टमी भनिन्छ । यस दिन ‘महागौरी’ स्वरूपा दुर्गाभवानीको पूजा आराधना गरिन्छ । महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हँुदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगाजल द्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएकाले महागौरी भनी उनको नामाकरण गरिएको शास्त्रमा उल्लेख छ । यस दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गरिन्छ, किनकि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन् । तसर्थ, यसै दिन शक्ति स्वरूपा महागौरीसँगै भद्रकाली स्वरूपा देवीको पनि पूजा गर्ने चलन छ । यस दिन पूजापछि बलि दिने चलन छ । बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो । तर, त्यसलाई पशुबलिको रूपमा चलन चलाएको पाइन्छ । खसीबोका, राँगा, कुखुरा पशुपंक्षी आदिको सट्टा कुभिन्डो, घिरौंला आदि फलफूललाई जनावरको स्वरूप बनाएर बलि दिनु उचित मानिन्छ । रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ । यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ । त्यस्तै, देवीको वाहन सिंहलाई विधिवत पूजा गर्ने र सकेसम्म नौ प्रकारका हातहतियारको पनि पूजा गर्ने प्रचलन रहेको छ ।

यसरी नै नवदुर्गाको नवौ दिनलाई महानवमी भनिन्छ । यस दिन ‘सिद्धिदात्री’ स्वरूपा दुर्गाको आराधना गरिन्छ । नामअनुसार सिद्धिदात्री देवीका सम्पूर्ण अंगहरू दिव्य कान्तियुक्त हुन्छन् भनिएको छ । नाना प्रकारका रत्नजडित अमूल्य आभुषण धारण गरेकी, चार हात भएकी, कमल तथा सिंहको आसनमा विराजमान देवीको पूजा आराधनाबाट सर्वसिद्धि प्राप्त हुने विश्वास रहेको छ । देवीभागवतका अनुसार, भगवान् शिवजीले उनकै कृपाले सम्पूर्ण सिद्धि प्राप्त गरेका थिए र अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध भएका थिए । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्प, नरिवल र गुलिया परिकार अधिक प्रिय भएकाले चढाउने गरिन्छ । सिद्धिदात्रीलाई वैज्ञानिक दृष्टिले प्रकाश शक्तिको स्वरूप मानिन्छ । यस दिन नवरात्रको सुरुको दिनदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा, विश्वकर्माको पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ । भगवान् बुद्ध वैशाख पूर्णिमाका दिन भौतिक रूपमा मत्र्यलोकमा अवतरित भए पनि यही महानवमीका दिन भगवान् विष्णु बुद्धको रूपमा अवतरित भएको शास्त्रीय मान्यता छ । यसरी शास्त्रीय विधिले चण्डिकाको पूजाआराधना गरे शत्रुमाथि विजय गर्नुका साथै राज्य प्राप्ति हुन्छ भनेर देवीभागवतमा बताइएको छ । मानिसले चिताएको पुग्ने, ज्ञान र मोक्ष प्राप्त गर्नुका साथै सम्पूर्ण दुःख नाश हुने बताइएको छ । त्यस्तै, मार्कण्डेय पुराणमा मधुकैटभ, महिषासुर, उसका सेना, धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज र अन्त्यमा निशुम्भ शुम्भ नाम गरेका दैत्यमाथि देवीले विजय प्राप्त गरेको उल्लेख छ ।

नवदुर्गाको दशौं दिनलाई विजयादशमी भनिन्छ । यस दिन त्रेता युगमा नारदमुनिको उपदेशले मर्यादा पुरुषोत्तम श्रीरामले रावणको अन्त्य गरेको तथा देवी भगवतीले महिषासुरको वध गरेको धार्मिक मान्यता छ । श्रीरामले सबैभन्दा पहिला समुद्र किनारमा नौ दिनसम्म अलगअलग रूपमा नवदुर्गाको पूजा गरेको र दशौं दिन रावणमाथि विजय प्राप्त गरी हर्षोल्लासका साथ विजयोत्सव मनाएकाले विजयादशमी भनी मनाउन थालिएको परम्परा रहेको परम्परा छ । दशमी तिथिमा शुभ साइत हेरी मान्यजनबाट दहीअक्षताको टीकाग्रहण र जमरा लगाउने चलन छ । टीकासँगै छोरीचेली लगायतलाई दक्षिणा दिइन्छ । यसलाई कोजाग्रत पूर्णिमासम्म पनि मनाइने चलन पनि छ । यसरी नवरात्रीमा नवदुर्गाको महात्म्यअनुसार बडादशैं मनाइ्न्छ तर, यसपालीको बडादशैं सबैमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको पीडासंगै परिवार पनि छुट्टिएर मनाउनु परेको छ । यसरी मनाइने बडदशैमा भने आर्थिक हिसाबले भने धेरै अर्थको खर्च देखिन्छ । धनिमानीहरुको त झनै तढावधढाव मै विजया दशमीको खर्च हुने गर्दछ भने मध्येमवर्ग तथा तल्लोवर्गकाहरुले त झन सकीनसकी ऋण लिएर पनि विजयादशमी टीका लगायतका चाडपर्वहरु भव्यताकासाथ मनाएका हुन्छन् । यहि नै हाम्रो सान र यहि नै हाम्रो पहिचान । जयराष्ट्र ।

(लेखक राष्ट संरक्षण साप्ताहिकका सम्पादक, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, सेभ द नेशन मिडिया तथा पशुपति अन्नपूर्णा आश्रमका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij