२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वित्तीय स्वतन्त्रताको लागि लगानी व्यवस्थापनः कहाँ र कसरी ?

वित्तीय स्वतन्त्रताको लागि लगानी व्यवस्थापनः कहाँ र कसरी ?

– कमल पन्थी

पृष्ठभूमिः
व्यक्तिको आर्थिक स्वतन्त्रताको लागि मासिक रुपमा कति रकम कमाई गर्न सकिन्छ भन्ने कुराले ठूलो महत्व राख्दैन । बरु उक्त व्यक्तिले आफ्नो कमाईको कति रकम बचत गर्न सक्छ र कति रकम सुरक्षित रुपमा भविष्यको लागि लगानी गर्न सक्छ भन्ने कुरा पनि त्यत्ति नै महत्वपूर्ण हुने गर्छ । आर्थिक स्वतन्त्रताको लागि व्यक्तिमा लगानी सम्बन्धी ज्ञान हुनु जरुरी रहन्छ । यो कुरा हाम्रो औपचारिक शिक्षाले भने हामीलाई सिकाउँदैन । यसैकारण औपचारिक रुपमा माथिल्लो तह सम्म अध्ययन गरेर राम्रो प्रतिष्ठित कहलिएको संस्थामा जागिर गर्ने व्यक्ति वा हाकिमहरु पनि वित्तीय स्वतन्त्रतामा परिपक्व अर्थात सफल हुन नसकेको कुरा हाम्रो समाजमा सजिलै देख्न सकिन्छ । जुन आफूले आवश्यकता अनुसार खानपान, लत्ताकपडा, घुमफिर, मनोरञ्जन, शिक्षा, बिल तथा किस्ता एवं अन्य खर्च व्यवस्थापन, सापटी तथा उधारो लगायतको लागि तत्काल आर्थिक स्रोत जुटाउन हम्मेहम्मे गर्ने स्थितिले समेत प्रमाणित गर्छन् । सामान्य आर्थिक हैसियतका घरपरिवारको लागि घरझगडाको ठूलो कारणको रुपमा आर्थिक व्यवस्थापनले पनि ठूलाे भूमिका खेल्ने गरेकाे पाइन्छ ।

लगानीको महत्वपूर्ण क्षेत्र सेयर बजार
साधारण नेपालीहरुमा समेत पछिल्लो समय निकै चर्चामा रहँदै आएको लगानीका विभिन्न क्षेत्रहरु मध्ये एउटा क्षेत्र हो शेयर अर्थात पुँजी बजार । विगतमा खासै चर्चामा रहन नसकेको पुँजीबजारलाई अहिलेको अवस्था सम्म ल्याइपुर्याउनमा ठूलो परिमाणमा शेयर जारी गरेका कम्पनीहरु माथिल्लो तामाकोशी जलविद्युत आयोजना, नेपाल पुनर्विमा कम्पनी एवं नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लगायतका कम्पनीहरुको निकै महत्वपूर्ण भूमिका रहेको छ । विगतमा न्यून सङ्ख्यामा डिम्याट खाता रहेकोमा अहिले ४१ लाख भन्दा बढी व्यक्तिहरुले डिम्याट खाता खोलिसकेका छन् । यस मध्ये १० लाख भन्दा बढी व्यक्तिले दोस्रो बजारमा समेत कारोबार शुरु गरिसकेका छन् ।

यतिबेला बजार परिसूचक नेप्से उच्चतम बिन्दुमा छ । जुन हालसम्मकै अति उच्च बिन्दु ३२ पुगेर अहिले २८ सयको बिन्दुमा झरेको छ । एक पछि अर्को उच्च बिन्दुको रेकर्ड बनाउँदै आथि उक्लिएको शेयर बजार यति बेला केही घट्दो अवस्थामा छ । विगतमा कहिल्यै १८ सय बिन्दु भन्दा माथि आउन नसकेको नेप्से एकैपटक बढेर ३२ सय बिन्दुमा उक्लिन सक्नुलाई नयाँ लगानीकर्ताको आकर्षण शेयर बजारमा बढ्नु, नयाँ लगानीका क्षेत्रहरु नहुनु र शेयर कारोबारको लागि नेप्सेले शुरु गरेको अनलाइन टिएमएस प्रविधिलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

सेयर बजारमा हुने उतारचढाव
केही समय देखि भने नेपालको शेयर बजारमा उच्च उतारचढाव देखिने गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एउटा बैंकबाट ४ करोड र सबैगरी बढीमा १२ करोड रकम मात्र शेयरमा लगानी गर्नको लागि कर्जा लिन पाउने व्यवस्था गरेसँगै शेयर बजारले घट्दो लय समातेको थियो । बजार सम्हालिन खोजिरहेकै बेला बैंकहरुले व्याजदर वृद्धिको सूचना धमाधम प्रकाशन गर्न थालेका छन् । यसले अब बजार अझ बढी घट्ने सङ्केत देखाएको छ । जुन पछिल्लो बजार अवस्थाले प्रकाश पार्छ । यससँगै कतिपय लगानीकर्ता अब बजारको बुलिस प्रवृत्तिको यात्रा टुङ्गिएकै हो त ? भन्ने प्रश्न पनि गर्न थालेका छन् । यद्यपि बजार निरन्तर घटिरहँदा पनि नयाँ लगानीकर्ताहरुमा भने बजार प्रतिको आशङ्का अझै अत्यन्तै न्यून देखिन्छ । विगतमा बैंकबाट कर्जा लिएर शेयर बजारमा लगानी गर्ने प्रचलन बढी रहने गरेपनि अहिले भने साना लगानीकर्ताहरु अत्यधिक धेरै सङ्ख्यामा शेयर बजारमा प्रवेश गरेको र उनीहरुले आफ्नै पुँजी प्रयोग गरेको कारण पनि बैंकको व्याजदर बढ्दा पनि पुँजीबजारमा ठूलो प्रभाव परेको देखिँदैन । यद्यपि लगानी गर्ने क्रममा सुरक्षाका उपायहरु भने अवलम्बन गर्नुपर्ने स्थिति बनिसकेको देख्न सकिन्छ ।

व्यक्तिको आर्थिक स्वतन्त्रताको लागि मासिक रुपमा कति रकम कमाई गर्न सकिन्छ भन्ने कुराले ठूलो महत्व राख्दैन । बरु उक्त व्यक्तिले आफ्नो कमाईको कति रकम बचत गर्न सक्छ र कति रकम सुरक्षित रुपमा भविष्यको लागि लगानी गर्न सक्छ भन्ने कुरा पनि त्यत्ति नै महत्वपूर्ण हुने गर्छ । आर्थिक स्वतन्त्रताको लागि व्यक्तिमा लगानी सम्बन्धी ज्ञान हुनु जरुरी रहन्छ । यो कुरा हाम्रो औपचारिक शिक्षाले भने हामीलाई सिकाउँदैन ।

सेयर बजारमा अपनाउनुपर्ने सतर्कता
नेपालको पुँजीबजारमा समय–समयमा थुप्रै उतारचढाव र विभिन्न प्रवृत्तिका मनसायहरु समेत देखिँदै आएका छन् । सामान्यतया नकारात्मक नेटवर्थ भएका कम्पनीले आइपिओ खोल्न पाउने नियम नभएपनि आइपिओ खोलिसकेपछि नेटवर्थ नकारात्मक भएका कम्पनीहरुमा समेत शेयर उच्च मूल्यमा कारोबार हुने गरेको छ । यसबारेमा पुराना अनुभवी लगानीकर्ताहरुलाई जानकारी शुरु देखि नै हुने भएपनि मूल्य वृद्धि हुँदाका शुरुका दिनमा ती कम्पनीको अवस्था कस्तो छ भन्ने सम्बन्धमा कोहीकसैबाट चर्चा भएको पाईंदैन । यद्यपि जब ती कम्पनीको मूल्य बढेर माथि पुग्छ, अनि आफू सुरक्षित भएपश्चात् ती कम्पनीको वित्तीय स्थिति र कम्पनीको शेयर मूल्य बारे केही लगानीकर्ताले बारम्बार प्रश्न उठाउने गरिएको पाइन्छ । यसमा प्रश्नकर्ता लगानीकर्ताको नियत बारे समेत बाँकी लगानीकर्ताहरुले प्रश्न उठाउने गरेको कायम रहँदै आएको छ ।

इन्साइडर ट्रेडिङः शेयर बजारमा हुने भित्री कारोबार
शेयर बजारमा भित्री कारोबार पनि निकै चर्चाको विषय बन्ने गर्छ । सामान्यतयाः शेयर बजारमा भित्री कारोबार विश्वभर नै हुने गरेको पाइन्छ । यसको परिमाण र कारोबारीको नियत एउटै भने नहुन सक्छ । सामान्यतया पहुँचवालाले निश्चित कम्पनीका भावी रणनीति बारे सूचना लिएर आफूले शेयर किनेर वा बेचेर बाँकी बजारमा शेयर मूल्यलाई तलमाथि गराउने कार्यलाई इन्साइडर टेर्डिङ वा भित्री कारोबार भन्ने गरिन्छ । खासगरी थोरै पुँजीमा सञ्चालनमा रहेका कम्पनीहरुमा भित्री कारोबार अझ बढी मात्रामा हुने गरेको पाईन्छ । ठूला कम्पनी र धेरै परिमाणमा साधारण शेयर जारी गरेका कम्पनीको तुलनामा थोरै कित्ता शेयर भएको कम्पनीमा कर्नरिङ गर्न खेलाडीहरुलाई सहज हुने गर्छ । साथै सामाजिक सञ्जाल तथा विभिन्न फोरमहरुमा ठूला खेलाडीहरुले साना लगानीकर्तालाई त्यस्तै साना कम्पनीको शेयर किन्न उस्काउने प्रवृत्ति समेत नेपाली बजारमा देखिँदै आएको छ ।

सतर्कतापूर्वक लगानी गरौं
सेयर बजारमा लगानीकर्ता आफैं सतर्क हुनु जरुरी रहन्छ । लगानीकर्ता आफैंले कुनै जानकारी नै हासिल नगरी व्यालेन्स सिटको सामान्य समेत अध्ययन नगरी ठूला लगानीकर्ताको लहलहैमा बजारमा प्रवेश गरेका लगानीकर्ता बजारको उतारचढावसँगै जति नै बेला पनि फस्न वा नोक्सानमा पर्न सक्ने स्थिति रहन्छ । यद्यपि आफैंले अध्ययन गरेर कम्पनीका आधारभूत तथा प्राविधिक पक्ष र सामान्य वित्तीय अनुपातहरुको विचार गर्ने हो भने यसरी बजारबाट हुने नोक्सानलाई धेरै हद सम्म घटाउन सकिन्छ ।

दीर्घकालिन रुपमा लगानी गर्ने हरेक लगानीकर्ताहरुले चक्रीय प्रवृत्ति बमोजिम अवश्य लाभ हासिल गर्न सक्छन् । जबकि मूल्यमा हुने घटबढबाट लाभ लिनको लागि शेयर बजारमा बढी नै सक्रियता आवश्यक रहन्छ । साथै छोटो कारोबार (सर्ट ट्रेडिङ)बाट सदैव लाभ नै हासिल गर्न सकिन्छ भन्ने सुनिश्चितता समेत हुँदैन । यस्तो अवस्थालाई विचार गरी लगानीकर्ताले घट्दो बजारमा आफ्नो लगानी सुरक्षित गर्नको लागि अन्य सुरक्षित विकल्पहरु समेत छनौट गर्न सक्छन् ।

शेयर बजार जोखिमको क्षेत्र भएको हुनाले यस क्षेत्रमा रहेर शेयर किनबेच गर्नको लागि लामो समयको अध्ययन र खोज तथा सूचनाको आदानप्रदानले विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यद्यपि यस्ता पक्षहरुलाई विचार नै नगरी लहलहैमा बजारमा सबैभन्दा बढी टेर्ण्डिङमा रहेका कम्पनीहरुमा आफ्नो मौलिक बुद्धि बिना लगानी गर्ने लगानीकर्ता दीर्घकाल सम्म बजारमा रहिरहन सक्दैनन् । न त राम्रो लाभ हासिल गर्न नै सक्छन् ।

निश्चित रणनीति सहित बजार प्रवेश गरौं
शेयर बजार विभिन्न तत्वहरुबाट प्रभावित हुने क्षेत्र हो । उच्च जोखिम र उच्च लाभको क्षेत्र समेत भएको कारण शेयर बजारमा लगानी शुरु गर्नु भन्दा पहिले आफैंले निश्चित रणनीति बनाउनु जरुरी हुन्छ । बजारमा आएको वहावसँगै राम्रो लाभ हुने अनुमान गरेर आफूसँग भएको सम्पूर्ण रकमको अलावा ऋण लिएर समेत लगानी गरिने हो भने त्यसबाट एकैपटकमा ठूलो नोक्सानी समेत व्यहोर्नुपर्ने स्थिति सृजना हुन सक्छ । यसमा खासगरी नयाँ लगानीकर्ता बढी सचेत रहनुपर्छ ।

चक्रीय लाभः सेयर बजारको सुन्दर पक्ष
अल्पकालको लागि नाफाघाटा जे भएपनि राम्रा कम्पनीमा सही मूल्यमा गरिएको लगानीले दीर्घकालमा लगानीकर्तालाई कहिल्यै घाटा पार्दैनन् भन्ने कुरा पनि लगानीकर्ताले बुझ्नु जरुरी हुन्छ । यसकारण लगानी गर्नुभन्दा पहिले नै आफूले लगानी गर्न चाहेको कम्पनीको यथार्थ, विगतको लाभांश इतिहास, शेयर मूल्यमा समयक्रम अनुसार भएको परिवर्तन, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, बुक भ्यालु, लाभांश वृद्धिको सम्भावना, बजारको प्रतिष्पर्धा लगायत पक्षलाई विचार गरेर राम्रा कम्पनीहरुमा लामो समयको लागि धैर्यतापूर्वक लगानी गर्नु जरुरी रहन्छ । अर्को कुरा शेयर बजारको सबैभन्दा सुन्दर पक्ष भनेको प्रतिशेयर मूल्य वृद्धिको अलावा चक्रीय लाभ हुन् भन्ने कुरा पनि विचार गर्नुपर्छ ।

दीर्घकालिन रुपमा लगानी गर्ने हरेक लगानीकर्ताहरुले चक्रीय प्रवृत्ति बमोजिम अवश्य लाभ हासिल गर्न सक्छन् । जबकि मूल्यमा हुने घटबढबाट लाभ लिनको लागि शेयर बजारमा बढी नै सक्रियता आवश्यक रहन्छ । साथै छोटो कारोबार (सर्ट ट्रेडिङ)बाट सदैव लाभ नै हासिल गर्न सकिन्छ भन्ने सुनिश्चितता समेत हुँदैन । यस्तो अवस्थालाई विचार गरी लगानीकर्ताले घट्दो बजारमा आफ्नो लगानी सुरक्षित गर्नको लागि अन्य सुरक्षित विकल्पहरु समेत छनौट गर्न सक्छन् ।

के हुन सक्छन् त लगानीका सुरक्षित विकल्पहरु ?
हरेक व्यक्तिले लगानी गर्नुपूर्व लगानी र आर्थिक स्वतन्त्रताको महत्व बारे प्रष्ट हुनु जरुरी रहन्छ । आफूसँग लगानीयोग्य पुँजी भएका व्यक्तिहरुले लगानीका विभिन्न क्षेत्रहरु छनौट गरेर बुद्धिमत्तापूर्वक लगानी गर्नु जरुरी रहन्छ । लगानीको लागि व्यक्तिको अनुभव र कार्यक्षमता बमोजिम प्राथमिकता क्षेत्र पनि अलग–अलग हुन सक्छन् ।

यदि समयमा नै आर्थिक स्वतन्त्रता सम्बन्धी ज्ञान हासिल गर्न सक्ने हो भने आफूले कमाएको रकमलाई विभिन्न क्षेत्रमा लगानी विविधिकरण गरी दीर्घकालमा राम्रो प्रतिफल हासिल गर्न सकिन्छ । यस्ता लगानीका क्षेत्रहरु थुप्रै हुन सक्छन् । त्यस मध्ये बढी महत्वपूर्ण केही क्षेत्रहरु यहाँ प्रस्तुत गरिएको छ ।

क) पुँजीबजार
ख) म्युचुअल फण्ड (सामुहिक लगानी कोष)
ग) बैंकको मुद्दती खाता
घ) रियल स्टेट
ङ) महिला समूह लगायतमा गरिने बचत
च) डिबेञ्चर
छ) सुनचाँदी लगायत

म्युचुअल फण्डः सबै लगानीकर्ताको लागि उत्कृष्ट दोस्रो विकल्प
खासगरी सेयर बजारमा प्रत्यक्ष संलग्न भई कारोबार गर्न प्रयाप्त ज्ञान, समय र साहस नहुने व्यक्तिले म्युचुअल फण्डमा लगानी गरेर पनि राम्रो लाभ हासिल गर्न सकिन्छ । म्युचुअल फण्ड बुद्धिमत्तापूर्वक सेयर बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्था हुन् । म्युचुअल फण्डले बजारका राम्रा कम्पनीमा लगानी गरेर आफ्नो प्रशासनिक खर्च कटाई लगानीकर्तालाई बाँकी रकम प्रतिफलको रुपमा वितरण गर्छन् । यसकारण कम जोखिममा राम्रो लाभ लिन सकिने म्युचुअल फण्डमा लगानी गर्नु हरेक व्यक्तिको लागि निकै बुद्धिमत्तापूर्ण कदम हुने गर्छ । साथै यस्ता म्युचुअल फण्डले हरेक बर्ष नाफाको आधारमा नियमित रुपमा लगानी बापत मुनाफाको सुनिश्चितता समेत प्रदान गर्छन् ।

म्युचुअल फण्डका प्रकारहरु

क) बन्दमुखी

ख) खुल्लामुखी
बजारमा २ किसिमका म्युचुअल फण्ड प्रचलनमा रहँदै आएका छन् । नेपाली बजारमा अधिकांश बन्दमुखी म्युचुअल फण्ड रहेपनि ३ ओटा खुल्लामुखी म्युचुअल फण्ड समेत छन् । जुन एनआइविल सहभागिता फण्ड, एनआइसि एसिया डाइनामिक डेब्ट फण्ड र सिद्धार्थ सिष्टमेटिक इन्भेष्टमेन्ट स्किमको नाममा सञ्चालनमा रहँदै आएका छन् ।

बिना धैर्यताको लगानीले कहिल्यै पनि राम्रो प्रतिफल पाउन सकिँदैन । यसकारण आफ्नो आय मध्येबाट निश्चित रकम घरपरिवार एवं दैनिक व्यवहार चलाउनलाई छुट्याई बाँकी रहने रकमलाई आफ्नै व्यक्तिगत लगानी संस्कारको रुपमा विकास गर्न सकेमा यसले हाम्रो बाँकी जीवन सहज, सुखमय र सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

बन्दमुखी म्युचुअल फण्ड सामान्यतया ७ देखि १० बर्ष सम्मको अवधिको लागि सञ्चालनमा रहने र अवधि पुगेपछि परिपक्व भई सम्पूर्ण सम्पत्ति लगानीकर्तालाई बाँडफाँड गरिन्छ । हाल सम्म ५ ओटा म्युचुअल फण्ड परिपक्व भइसकेका छन् । यसैगरी खुल्लामुखी म्युचुअल फण्डको परिपक्व हुने अवधि भने तोकिएको हुँदैन । लगानीको लागि न्यून पुँजी हुने लगानीकर्ताले पनि कम्तीमा १ हजार रुपियाँ लगानीमा यस्ता म्युचुअल फण्डमा लगानी गर्न सक्छन् । यसैगरी अर्को खुल्लामुखी म्युचुअल फण्डमा मासिक रुपमा निश्चित रकम लगानी थप गर्दै जान पाइने सुविधा समेत नेपालमा शुरुवात भइसकेको छ । साथै उक्त म्युचुअल फण्डबाट बार्षिक रुपमा प्राप्त हुने प्रतिफललाई पुनः लगानी हुने किसिमले पनि व्यवस्थापन गर्न सकिन्छ । जसबाट दीर्घकालमा राम्रो लाभ हासिल गर्न सकिन्छ ।

लगानी गर्दा सम्झिनैपर्ने कुराहरु
–हामीले लगानी गर्नुपूर्व सदैव कमसेकम मूलधन नडुब्ने कुरामा सदैव सतर्क रहनुपर्छ ।
– लामो समयको लागि लगानी गर्दा कम्तीमा मुद्रास्फिति भन्दा बढी प्रतिफल प्राप्त हुने क्षेत्र छनौट गर्न सक्नुपर्छ ।
– आफूसँग भएको रकम बचाउने सबैभन्दा राम्रो तरिका भनेकै लगानी हो । यद्यपि उक्त लगानी कहाँ र कसरी गरिएको छ भन्ने कुरा हाम्रो बौद्धिक तथा विष्लेषणात्मक क्षमतामा निर्भर गर्दछ ।

Investment strategy concept. Financial value steady growth. Financial analysis. Money, financial report and chart. Trendy flat style. Vector illustration.

अन्त्यमा,
लगानीको लागि उद्यमशिल सोच भएका व्यक्तिहरुले माथि उल्लेख गरिए बाहेक अन्य क्षेत्रका नयाँ–नयाँ योजनाहरु पनि पस्किन सक्छन् । जहाँबाट अझ राम्रो लाभ हासिल गर्न सकियोस् । व्यापारी वा उद्योगीले आफूले काम गरेर अनुभव सङ्गालेको क्षेत्रमा राम्रो प्रतिफल हासिल गर्न सक्छ । यद्यपि आफ्नो अनुभव नभएको क्षेत्रमा एकैपटकमा ठूलो रकम लगानी गरियो भने त्यसबाट सदैव प्रतिफल पाउन सकिन्छ भन्ने सुनिश्चितता नहुने कुरालाई लगानीकर्ताले समयमा नै विचार पुर्याउन सक्नुपर्छ ।

बिना धैर्यताको लगानीले कहिल्यै पनि राम्रो प्रतिफल पाउन सकिँदैन । यसकारण आफ्नो आय मध्येबाट निश्चित रकम घरपरिवार एवं दैनिक व्यवहार चलाउनलाई छुट्याई बाँकी रहने रकमलाई आफ्नै व्यक्तिगत लगानी संस्कारको रुपमा विकास गर्न सकेमा यसले हाम्रो बाँकी जीवन सहज, सुखमय र सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij