काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले दलीय पद्धतिमा राजनीतिक दलको ह्वीप नटेर्ने सांसद् माथि कारबाहीमा ढिलाई गरे सशक्त प्रतिवाद गरिने बताउनुभएको छ ।
नेकपा एमाले भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले यस विषयमा आज सभमुख अग्नीप्रसाद सापकोटालाई भेटेर जानकारी गराइसकेको बताउनुभयो । यस अघि सभमुखले सूचना पाएको १२ घण्टादेखि २४ घण्टाभित्र कारबाही गरेको बताउँदै अहिले एमालेले कारबाहीको लागि सूचना दिएका १४ जना सांसदलाई कारबाही गरेको सूचना ७२ घण्टा बित्दा पनि सार्वजनिक नगरेको उहाँले बताउनुभयो ।
बस्नेतले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार पूर्णता नपाउँदै अल्पमतमा पर्ने दाबी गर्नुभयो । एमालेलाई फुटाउन अहिले ल्याएको अध्यादेशले कांग्रेस र माओवादीलाई खाने उहाँले बताउनुभयो । ‘फेरि एमालेले सरकार चलाउनु पर्ने अवस्था आउँछ’, बस्नेतले भन्नुभयो ।
नेकपा एमाले सूर्य भएको बताउँदै सूर्यबाट केही पिण्ड टुक्रिँदा केही फरक नपर्ने उहाँले बताउनुभयो । ‘एमाले नामको सूर्यबाट केही पिण्ड झर्दैमा केही फरक पार्दैन’, उहाँले भन्नुभयो ।
भक्तपुरमा विभाजनको कुनै प्रभाव नपरेको उहाँले बताउनुभयो । उहाँले हिजोको घटनाले एमाले थप बलियो भएको बताउनुभयो । ‘भक्तपुरबाट कोही पनि निर्वाचित जनप्रनिधि विभाजित भएका छैनन्, भक्तपुरमा एमाले अझ बलियो भएको छ, भक्तपुरमा माओवादी, नेमकिपा र राप्रपाका नेताहरु समेत एमालेमा समाहित हुनुभएको छ’, उहाँले भन्नुभयो ।
माधव नेपालले दर्ता गरेको पार्टीको सनाखत गर्नेबेलासम्म २० प्रतिशत केन्द्रीय सदस्य र सांसद् समेत उहाँको पक्षमा नहुने उहाँले दाबी गर्नुभयो । ‘बिहानसम्म ५८ मध्ये १३ जना केन्द्रीय सदस्यले नाम फिर्ता लिनुभएको छ, ३१ जना सांसद् मध्ये ७ जनाले नाम फिर्ता लिइसक्नु भएको छ, माधव नेपाललाई सनाखत गर्नेबेलासम्म २० प्रतिशत सांसद् र केन्द्रीय सदस्य पनि पुग्दैन’, उहाँले भन्नुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij