
काठमाडौं । ओरिएन्टल होटलले आफू मातहत रहेको १ सय ३९ रोपनी जग्गा विक्री गर्न लागेको छ ।
लकडाउनले गर्दा असर परेको व्यापारलाई माथि उठाउन र पर्यटन व्यवसायलाई पुरानै स्वरुपमा ल्याउन उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ ।
जग्गा बिक्री गर्न उक्त होटललाई ओरिएन्टल हाउजिङको सहयोग उपलब्ध हुने समेत बताइएको छ ।
जग्गाको केही हिस्सा डेभलप गरेर बिक्री गर्ने प्रक्रियामा हाउजिङले मद्दत गर्नेछ ।
ललितपुर महानगरपालिका वडा नं १६, १९ र २१ मा छरिएर रहेको जग्गा होटलले विभिन्न फेजहरुमा बिक्री गर्नेछ ।
कोभिड–१९ को कारण सहज रुपमा व्यवसाय सञ्चालन कार्य असहज भएपनि अब स्थिति अनुकुल भएसँगै आफूहरु त्यसतर्फ अघी बढ्ने व्यवस्थापन समितिले जानकारी दिएको छ ।
समितिले दिएको जानकारी अनुसार वर्तमान अवस्थामा खुम्चिएको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी व्यवसायलाई चुस्तदुरुस्त बनाएर लगानीकर्ताको पुँजीलाई संरक्षण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
अहिले सम्म नेपालमा कोभिड–१९ को दोस्रो चरणको असर कायम रहेको कारण होटल व्यवसाय ठप्प छ । उक्त अवस्थामा सुधार हुनासाथ व्यवसायलाई चुस्त रुपमा अघी बढाउन होटलले नयाँ योजना सहित आफ्ना गतिविधिहरु अघी बढाउनेछ ।
विदेशी साझेदारहरुसँगको संवाद एवं सकारात्मक प्रतिक्रियासँगै आफूहरुलाई नयाँ योजना सहित अघि बढ्न सहयोग मिलेको व्यवस्थापन पक्षले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij