काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले सर्वोच्च अदालतको फैसला विरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशनमा जम्मा हुन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले निर्दलीय व्यवस्था विजारोपण गरेको दिनको रुपमा आजको दिनलाई सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ ।
युवा संघ नेपालमा आवद्ध सम्पूर्ण युवाहरूलाई सम्बोधन गर्दै नेता बस्नेतले भन्नुभयो, ‘युवा संघ नेपालमा गोलवद्ध रहनुभएका तपाई युवा साथीहरूलाई अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाउनका निम्ति आह्वान गर्दछु ।’ साथै उहाँले यस खालको सर्वोच्च अदालत जस्तो गरिमामय निकायबाट भएको यस्तो गलत कामको व्यापक भण्डाफोर गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत जस्तो सम्मानित संस्था चुकेको दिनको रूपमा इतिहासमा नाम रचिनेछ । आजको निर्णयले मुलुकलाई पुनः निर्दलिय शोषण व्यवस्थाको पुनः बिजारोपन गर्ने पक्का रहेको समेत उहाँले बताउनुभयो ।’
नेता बस्नेतले आफ्नो फेसबुक वालमा सम्पूर्ण युवाहरूलाई यस दुखद घडीमा साथ र सहयोग गर्नका निम्ति आह्वान समेत गर्नुभएको छ ।

व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तिका नामधारीहरूले हातमा लिएको क्षणको रूपमा समेत उहाँले इङ्गित गर्नुभएको छ ।

यस स्थितिले अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको उहाँको ठम्याई छ । यसले मुलुकलाई कहिल्यै पनि दिगो शान्तिको बाटोमा हिँडाउन नसक्ने उहाँको धारणा छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij