काठमाडौं । घरेलु कामदारको रुपमा लेबनानमा कार्यरत नेपालीलाई विभिन्न बहानामा नेपाल फिर्ता गरेपनि न्यायका लागि चासो नदेखाएको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सरकारको ध्यानाकर्षण गराएको छ । लेबनानमा कार्यरत महिलाहरुलाई न्यूनतम सेवा सुविधाको माग गर्दा झुट्टा मुद्धा लगाएर नेपाल फर्काएको भन्दै क्षतिपूर्तिका लागि पहल गर्न जिफन्टले सरकारको ध्यानाकर्षण गराएको हो ।
लेबनानमा काम गर्दै आएका रोजमाया लिम्बु र सुजना रानालाई अन्तर्राष्ट्रिय कानुन लेबनानको घरेलु श्रमिक सम्बन्धी कानुन अनुसार सेवा सुविधाको माग गर्दा राजनीति गरेको भन्दै नेपाल फर्काएको पीडितले बताएका छन् ।
नेपाली श्रमिकले लेबनानमा न्यूनतम सेवा सुविधामा घरमै बन्दी भएर काम गर्नुपर्ने पीडित महिलाहरुको भनाई छ । जिफन्टले विभिन्न मुलुकमा रहेका घरेलु कामदारको अवस्था र उनीहरुको सेवा सुविधाको बारेमा स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपनि समस्या समाधानका लागि सरकारले चासो नदेखाएको आरोप लगाएको छ ।
सरकारले समस्या समाधानको कुटनीतिक पहल नगरेको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष रमेश भुषालले बताए । लेबनानमा कार्यरत लिम्बु र रानालाई केही समय हिरासतमा लिएर त्यहाँको सरकारले नेपाल फर्काएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij