२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भक्तपुरमा पानीको बजार व्यवस्थित बन्दै गएको छ: संयाेजक सुवाल

भक्तपुरमा पानीको बजार व्यवस्थित बन्दै गएको छ: संयाेजक सुवाल

राम सुवाल, संयोजक, नेपाल बोटल वाटर उद्योग संघ, (भक्तपुर कार्यसमिति)

बजारमा पानीको बढ्दो समस्यालाई नजिकबाट अनुभव गरेका राम सुवाल सहज रुपमा पानीको परिपुर्ति गर्ने योजना बमोजिम पानी उद्योग सञ्चालन गर्न प्रेरित भएका हुन् । हाल उनले भक्तपुर नेचुरल ब्राण्डको पानी उत्पादन गर्दै आएका छन् । वि.सं २०६३ देखि पानी प्रशोधन उद्योगमा संलग्न रहँदै आएका उनी हाल नेपाल बोटल वाटर उद्योग संघ भक्तपुर कार्यसमितिको संयोजकको भूमिका समेत निर्वाह गर्दै आएका छन् । पछिल्लो समय भक्तपुर क्षेत्रमा पानी उद्योगहरुको अवस्था मजबुत र व्यवस्थित बन्दै गएको उनी बताउँछन् । भक्तपुरबाट प्रशोधन हुने पानीमा आइरन (फलाम)को मात्रा बढी रहेको र त्यसलाई बाह्य ट्रिटमेन्ट प्लान्ट प्रयोग गरेर आइरनको मात्रा घटाइ आफूहरुले बजारमा पठाइरहेको संयोजक राम सुवाल बताउँछन् ।

भक्तपुरमा पानी उद्योगको अवस्था
भक्तपुर जिल्लामा सञ्चालनमा रहेका पानी उद्योगहरु अधिकांश चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ र ३ मा पानी सञ्चालनमा रहेका छन् । हाल सम्म भक्तपुरमा २२ ओटा उद्योगहरुले पिउने पानी प्रशोधन गर्दै आएका छन् । जस मध्ये ३ ओटा उद्योगले वोटलमा प्रशोधित पानी प्याकेजिङ गरेर बजारमा उपलब्ध गराउँदै आएका छन् भने अन्य उद्योगहरुले जारमा मात्र पानी उपलब्ध गराउँदै आएका छन् । भक्तपुरमा सञ्चालनमा रहेका उद्योगहरुले औसतमा करिब १२ जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् ।

भक्तपुरबाट सञ्चालनमा रहेका ४–५ ओटा उद्योगहरुले तुलनात्मक रुपमा बढी क्षमतामा पानी प्रशोधन गर्ने सामथ्र्य राख्छन् । बढी क्षमतामा पानी प्रशोधन गर्ने उद्योगहरुमा एसियन टप, पाराडाइज, अक्वा कर्णाली, क्रिष्टल, लोटस लगायत रहेका छन् । भक्तपुरका सबैजसो उद्योगहरुले जमीन मुनिको पानीलाई आरओ प्रविधिबाट प्रशोधन गरी बजारमा पठाउने काम गर्दै आएका छन् ।

पानी उद्योगमा लगानी

हाल भक्तपुर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु १ देखि डेढ करोड रकम लगानीमा सञ्चालनमा रहेका छन् । जुन लगानी जग्गा बाहेकको लगानी हो । भक्तपुर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु कुनै आफ्नै जग्गामा सञ्चालनमा छन् त कतिपय भाडामा समेत सञ्चालन हुँदै आएका छन् ।

नयाँ उद्योगमा रोक
विगत २ बर्ष देखि भक्तपुर क्षेत्रमा पानी उद्योगहरु नयाँ खुल्ने क्रम रोकिएको छ । वर्तमान परिस्थितिमा बजारमा धेरै पानी उद्योगहरु स्थापनाको आवश्यकता नरहेको कुरालाई महसुस गरेर चाँगुनारायण नगरपालिकाबाटै पानी उद्योग सञ्चालनको लागि रोक लगाइएको राम सुवाल बताउँछन् । जसले गर्दा पानी उद्योगहरुबाट बजारमा अस्वस्थ रुपमा हुने गरेको प्रतिष्पर्धा केही रोकिएको छ ।

ब्राण्ड प्रतिको सचेतना न्यून
सबैजसो उपभोक्ताहरु अहिले सम्म आफूले प्रयोग गर्ने अन्य उपभोग्य सामानको ब्राण्ड प्रति जागरुक भइसकेका छन् । यद्यपि अहिले सम्म आफूले पिउने पानी भने कुन ब्राण्डको हो भन्ने सम्बन्धमा उपभोक्ता जागरुक बन्न सकेका छैनन् । अन्य वस्तु जस्तै दैनिक अपरिहार्य पानीका उपभोक्ताहरु गुणस्तर र ब्राण्ड प्रति सजग रहन नसक्नुमा पानी उद्योगीहरुले पनि आफ्नो ब्राण्डको राम्रोसँग प्रचारप्रसार गर्न नसक्नु एक हो । साथै उपभोक्ताले पनि बुझ्नुपर्छ कि जार वा बोतलमा पानी सिलबन्दी हुँदैमा त्यसले गुणस्तरता सुनिश्चित गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । यसकारण उपभोक्ता समेत पानीको गुणस्तर र ब्राण्ड बारे सचेत रहनुपर्ने समय आएको छ ।

पानीमा लाग्दै आएको करः समस्यामा व्यवसायीहरु
चाँगुनारायण नगरपालिकाले प्रशोधित अत्यावश्यक पिउने पानीको आवतजावत गर्दा गाडीमा कर लगाउँदै आएको छ । जसले गर्दा पानी उत्पादकहरुको लागत बढेको छ । यस किसिमको कर प्रणालीले पानी उद्योगीहरुलाई उच्च प्रतिष्पर्धा बीच बजारमा धानिन गाह्रो परिस्थिति सृजना भएको छ । यसकारण त्यस्तो कर प्रणाली हटाउनुपर्छ भन्ने सम्बन्धमा व्यवसायीहरुले लामो समय देखि लविङ गर्दै आइरहेका छन् ।

उपभोक्ताले विचार गर्नुपर्ने कुरा
खाद्य प्रविधि तथा गुण नियन्त्कण विभागले आधिकारिक रुपमा दर्ता भई मापदण्ड भित्र रहेर पानी उत्पादन गर्दै आएका कम्पनीहरुले डिएफटिक्युसी नम्बर उपलब्ध गराएको छ । यद्यपि बजारमा अहिले पनि यदाकदा उक्त आधिकारिक नम्बर नभएका उद्योगहरुले समेत पानी प्रशोधन गरी बजारमा उपलब्ध गराउँदै आएका छन् । अवैधानिक रुपमा बजारमा उपलब्ध उक्त पानी पिउन योग्य छ कि छैन भन्ने आँकलन उपभोक्ताहरुले सजिलै गर्न सक्दैनन् । यसकारण बजारबाट पानी खरिद गर्दा पानी उद्योगको अनुज्ञापत्रसँगै उल्लेख गरिएको डिएफटिक्युसि नम्बर अनिवार्य रुपमा हेर्नुपर्ने जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij