
दोलखा जिल्लाको विगु गाउँपालिकामा जन्मिएका छोङनोबु शेर्पा हाते कागज उत्पादन क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आएका व्यक्ति हुन् । नेपालमै रहेर उद्यमशिल बन्नुपर्छ भन्ने मान्यताले आफू हाते कागज उत्पादन क्षेत्रमा संलग्न भएको उनी बताउँछन् । अध्ययनको लागि काठमाडौंमा छिरेका उनी परिस्थितिवश व्यवसायी बन्न पुगे । काठमाडौंमा रहँदा आफ्ना अन्य आफन्तहरु समेत हाते कागज व्यवसायमा नै संलग्न रहेकोले त्यहीँबाट उनी हाते कागज उत्पादन क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित भएका हुन् ।
हाल शेर्पाले सञ्चालन गर्दै आएको उद्योग कपन क्षेत्रमा छ । हिमालयन स्प्रिट ह्याण्डिक्राफ्ट इण्डष्ट्रिको नाममा सञ्चालनमा रहेको उक्त उद्योगले ग्राहकको आवश्यकता अनुसार विभिन्न साइज, आकारप्रकार र गुणस्तरमा लोक्तामा आधारित विभिन्न उपयोगी सामानहरु उत्पादन गर्दै आएको छ । आफ्नो उद्योगबाट उत्पादन हुने कागजहरु मुख्यतः बाह्य बजारमा नै निर्यात हुने गरेको शेर्पा बताउँछन् ।
हाते कागजको प्रवर्द्धनको लागि राज्यको भूमिका
नेपालमा उत्पादन हुने हाते कागजको मुख्य बजार युरोप हो । लोक्ताबाट बनेको नेपाली कागजको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । उत्पादन प्रक्रिया झण्झटिलो भएपनि यसले नेपालको पहिचान स्थापित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि पछिल्ला दिनहरुमा नेपाली युवाहरुको लागि पनि हाते कागज प्रति रुचि बढ्दै गएको शेर्पा बताउँछन् । नेपाली युवाहरुमा पनि स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्छ भन्ने भाव विकास हुँदै गएको छ । जुन सकारात्मक पक्ष हो । यद्यपि नेपाल सरकारले भने नेपाली हाते कागजको प्रयोग स्वदेशमा बढाउनको लागि प्रभावकारी पहल गर्न सकेको छैन । त्यसो हुन नसकेको कारण नेपाली बजार सम्भावना राम्रो हुँदाहुँदै पनि नेपाली कागजको प्रयोग स्वदेशी बजारमा निकै न्यून छ । स्वदेशी वस्तुको उत्पादन र उपयोगबाट नै मुलुकको अवस्था सुदृढ हुन सक्ने कुरालाई लक्षित गरी राज्यले स्वदेशी उत्पादनको स्वदेशी बजार प्रवर्द्धनमुखी नीति लिनु जरुरी देखिन्छ ।
नेपाली कागजको प्रयोग
नेपालमा उत्पादन हुने हाते कागजजन्य वस्तुहरु विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ । कागजको प्रकृति अनुसार कुनै उपहार प्रयोजनको लागि प्रयोगमा ल्याइन्छ त कुनै सजावट र कुनै कागज तमसुक लगायत दीर्घकालिन अभिलेखको लागि समेत प्रयोग हुँदै आएको छ । नेपालका सरकारी कार्यालयहरुले बार्षिक निकै ठूलो रकमको कागज आयात गर्दै आएका छन् । राज्यले आफूलाई आवश्यक पर्ने खाम, फाइल लगायतका विभिन्न कागजपत्रहरु स्वदेशी प्रयोग गर्ने नीति लिएको खण्डमा यो क्षेत्रको पनि राम्रो प्रवर्द्धन हुन सक्ने थियो । यसबाट मुलुकको उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने थियो ।
लगानी र बजार अवस्था
करिब ५–७ लाख रकम लगानीबाट शेर्पा कागज उत्पादन क्षेत्रमा प्रवेश गरेका हुन् । अहिले पनि ठूलो लगानी नहुने व्यक्तिले समेत हातमा सीप भएको खण्डमा यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ । यद्यपि यो काम झण्झटिलो भएको कारण केही समय कागज उत्पादन गरेर अर्को काममा संलग्न हुनेहरु पनि थुप्रै छन् । अहिले सानो लगानीबाट काम शुरु गरेका व्यवसायीहरु नै बजारमा बढी सङ्ख्यामा छन् ।
कागज उत्पादनमा प्रविधि
नेपालमा अहिले सम्म पनि कागज उत्पादनको लागि विश्व बजारमा विकास भएका नयाँ प्रविधिहरु भित्र्याउन सकिएको छैन । अहिले पनि यहाँ उत्पादन हुने कागज परम्परागत तवरले नै उत्पादन गरिँदै आइएको छ । नयाँ प्रविधि भित्र्याउन नसक्दा र बजारीकरणमा नयाँ ढङ्गले काम अघी बढाउन नसक्दा यो क्षेत्र राम्रो सम्भावनायुक्त हुँदाहुँदै पनि माथि उठ्न सकेको छैन ।
नेपाली कागजको लागत उच्च
विश्व बजारमा कागज उत्पादन गर्ने अन्य देशहरुले आधुनिक प्रविधिको प्रयोगबाट कागज उत्पादन गर्दै आएका छन् । तर नेपालले भने परम्परागत तवरले नै कागज उत्पादन गरिरहँदा हाम्रो लागत समेत उच्च रहने गरेको छ । यसो हुँदा नेपाली कागजले विश्व बजारमा प्रतिष्पर्धा गर्न गाह्रो हुने अवस्था छ । साथै अहिले नेपालका सीमित कागज उद्योगीहरुले मात्र निर्यात गर्दै आएका छन् । अहिलेको कोभिड–१९ को कारण हाम्रो निर्यात समेत घटेको छ । बजारमा कागजको माग न्यून रहेको तर उत्पादकले आफूले ल्याएको कागज जसरी पनि बिक्री गर्नुपर्ने अवस्था रहेको कारण बाह्य जिल्लाका व्यवसायीहरुले आफ्नो श्रम र लागतको तुलनामा राम्रो लाभ लिन नसकेको अवस्था छ ।
अबको आवश्यकता
नेपाली कागजको रुपमा विश्व बजारमा पहिचान बनाएको लोक्ता कागज उत्पादनमा आधुनिक मेसिनको प्रयोग नगरिने हो भने हाम्रो यस कागजको पहिचान नै गुम्ने खतरा छ । साथै लामो समय देखि सञ्चालनमा रहँदै आएको यस उद्योगमा आगामी पुस्तालाई आकर्षित गर्न विशेष कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्ने जरुरी छ । साथै नेपालमा विश्वबजारमा विकास भएका नयाँ प्रविधि नेपालमा भित्र्याउनको लागि विशेष पहल गर्नुपर्ने जरुरी छ ।
युवालाई सन्देश
अहिलेका अधिकांश युवाहरुमा राज्यले कुनै सहयोग गरेन भन्ने गुनासो रहेको पाइन्छ । वास्तवमा सरकारले उद्यम प्रवर्द्धनको लागि सहजीकरण गर्नुपर्ने आवश्यकता रहन्छ । त्यो जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहन्छ । साथै अहिले नेपालमा लकडाउन पश्चात् थुप्रै युवाहरु आफ्नो क्षमता बमोजिमको काम सञ्चालन गर्ने योजना बमोजिम उद्यमशिलता तर्फ आकर्षित भएका छन् । यद्यपि नेपालका झण्झटिलो प्रावधानको कारण काम शुरु नगर्दै कामबाट निराश भई अलग्गिनुपर्ने अवस्था छ । यस्तो अवस्थालाई सुधार ल्याई सहजीकरण गर्नुपर्ने जरुरी छ । साथै कुनै उद्यम गर्न चाहने युवाहरुले सफलता लामो समयको कठोर मेहनत र धैर्यताबाट मात्र प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्ने जरुरी रहन्छ ।
(शेर्पा नेपाल हाते कागज उद्योग संघका पूर्व कोषाध्यक्ष हुन्)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij