२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रिफ्याब बारे मानिसहरुको बुझाइ र यथार्थताः केशव प्रसाद तिमिल्सिना

प्रिफ्याब बारे मानिसहरुको बुझाइ र यथार्थताः केशव प्रसाद तिमिल्सिना

केशव प्रसाद तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत, प्रिफ्याब हाउस नेपाल प्रा.लि.

 

प्रिफ्याब बारे मानिसहरुको दृष्टिकोणः
प्रिफ्याब प्रविधि विश्वबजारमा लामो समय पहिले देखि नै प्रचलनमा रहँदै आएको थियो । तैपनि नेपालमा यस प्रविधिको बारेमा अधिकांश मानिसहरु जानकार थिएनन् । भूकम्पसँगै केही समय प्रिफ्याब बारे थुप्रै  चर्चापरिचर्चाहरु भए । अहिले भूकम्पीय सुरक्षालाई बिर्सेर नेपालीहरु पुनः परम्परागत तवरकै घर निर्माणतर्फ फर्किएका छन् ।

प्रिफ्याबको अवधारणाः
विदेशमा रहेका नेपालीहरु प्रिफ्याबसँग परिचित छन् । सामान्यतया कारखानामा नै आधारभूत रुपमा तयार पारिएका विभिन्न संरचनाहरुलाई सम्बन्धित निर्माण क्षेत्रमा लगी जोडेर सिङ्गो संरचना तयार गर्ने काम प्रिफ्याब अन्तरगत हुन्छ । सेवाग्राहीले आफ्नो क्षमता र चाहना बमोजिम विभिन्न गुणस्तरका सामानहरु प्रयोग गरेर प्रिफ्याबका घरहरु बनाउन सक्छन् । सोहीबमोजिम घरको लागत निर्भर गर्दछ । तर नेपालमा भने प्रिफ्याब भनेको कम खर्चिलो र अस्थायी संरचना हो भन्ने मान्यता रहेको पाइन्छ । फलामलाई साधारण वेल्डिङ गरेर ट्रस जस्तो संरचना मात्र प्रिफ्याबबाट बन्छ भन्ने बुझाई नेपालीहरुमा छ । जुन पूर्ण यथार्थ होइन ।

मलाई लाग्छ, नेपालमा प्रिफ्याब सम्बन्धी गुणस्तरीय सामानहरु भित्र्याउन नसकिएको, सेवाग्राहीहरुमा सही जानकारी सम्प्रेषण गर्न नसकिएको र राम्रोसँग व्यावसायिक अभ्यास नभएको लगायतका कारण अहिले सम्म सर्वसाधारणहरुमा प्रिफ्याब बारे सही जानकारी पुग्न सकेको छैन । यस्तो अवस्थामा हामी आफैंले नेपालीहरुमा प्रिफ्याबबारे जनचेतना बढाउँदै सेवा विस्तारमा केन्द्रित भइरहेका छौं ।

प्रिफ्याब बारे यथार्थ जानकारी
सामान्यता प्रिफ्याब प्रविधिमा ढुङ्गा, माटो र काठको प्रयोग भएको हुँदैन । प्रिफ्याबबाट स्थायी र ठूला संरचना पनि बनाउन सकिन्छ । बाह्य बजारमा प्रिफ्याबबाट नै सबैजसो ठूला र महत्वपूर्ण संरचना निर्माण गर्ने प्रचलन विकास भइसकेको छ । तर नेपालमा भने यसो हुन सकेको छैन । यदाकदा प्रिफ्याबबाट निर्माण गर्ने संरचना पनि अति न्यून शुल्कमा निर्माण गर्ने चाहना सेवाग्राहीहरुमा भएको पाइन्छ ।

‘म लामो समय देखि माइक्रो हाइड्रोपावर क्षेत्रमा संलग्न रहँदै आएको थिएँ । पछि म कृषिसँग सम्बन्धित टनेल टेक्नोलोजी सम्बन्धी अनुसन्धान एवं उत्पादन कार्यमा संलग्न भएँ । हामीले अटोमेटिक सेन्सर सिष्टम सम्बन्धी काम पनि गर्यौं । निर्माण क्षेत्रमा लामो समय देखिको अनुभव र ज्ञानको आधारमा हामीले हाम्रो व्यवसायलाई नयाँँ तवरले अघी बढाउने क्रममा प्रिफ्याब क्षेत्रमा पाइला अघी बढाएका हौं । वि.सं २०७२ को भूकम्पले नेपालीहरुमा आफू बस्ने घर सुरक्षित हुनुपर्छ भन्नेमा सचेत गरायो । जसले गर्दा सुरक्षित घर निर्माण बारे मानिसहरुमा चासो पलायो । त्यस परिस्थितिलाई विचार गरेर हामी प्रिफ्याब घर निर्माणमा संलग्न भएका हौं’ प्रिफ्याब हाउस नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद तिमल्सिनाले आफ्नो विगतको व्यावसायिक पृष्ठभूमि र प्रिफ्याब क्षेत्रमा प्रवेश सम्बन्धमा आफ्नो अनुभव प्रस्तुत गरे ।

प्रिफ्याबका पनि आफ्नै पद्धतिहरु छन् । तरिकाहरु छन् । सामान्यतया प्रिफ्याबबाट निर्माण गर्ने संरचनाहरु फिक्स र पोर्टेबल गरी २ किसिमका हुने गर्छन् । यसमा प्रयोग गरिने पार्टिसन पनि थुप्रै आइटमका छन् ।

हाम्रो अनुभवः
नेपालमा प्रिफ्याबलाई व्यापक रुपमा विस्तार गर्ने योजना बमोजिम हामी अघी बढेका छौं । हामीले ३ बर्षको अवधिमा प्रिफ्याबको प्रयोग बढेको त पाएका छौं, तैपनि वृद्धिदर भूकम्प पश्चात्को १ बर्ष अवधिको तुलनामा अहिले अति सुस्त छ ।

प्रिफ्याब संरचनामा लगानी
प्रिफ्याबबाट निर्माण गरिने संरचना पनि आरसिसि संरचना भन्दा महँगा पनि हुन सक्छन् । आरसिसि संरचना बराबरकै लागतमा पनि निर्माण गर्न सकिन्छ । कम लागतमा गुणस्तरीयता पक्षलाई विचार नगरी प्रिफ्याब संरचना निर्माण गर्दैमा संरचनाले दिगो र भरपर्दो रुपमा हाम्रा आवश्यकताहरु पूरा नगर्न सक्छन् । त्यसकारण गुणस्तरीयतालाई बुझेर मात्र आफ्नो काम अघी बढाउनुपर्छ । हामीले प्रयोग गरेका कच्चा पदार्थमा नै उक्त संरचनाको गुणस्तर निर्भर रहन्छ भन्ने कुरा उपभोक्ताले बुझ्नु जरुरी छ ।

बजारमा फैलिएको भ्रम
अहिले पनि आम मानिसहरुले प्रिफ्याबको घर भनेको अस्थायी हो भन्ने बुझेको पाइन्छ । सामाजिक सञ्जालमा एक÷डेढ लाखमा पनि प्रिफ्याब घर निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने गरेको पाईन्छ । यसबाट उपभोक्ता झुक्किएका छन् । नेपालमा अझै पनि प्रिफ्याब नेपालको सन्दर्भमा पूर्ण अनुसन्धान र विकास हुन बाँकी नै रहेको छ । नेपालमा प्रिफ्याबको बजार दायरा समेत राम्रो सँग विस्तार हुन बाँकी नै छ । बजार समेत सीमित भएको कारण एकैपटक यस क्षेत्रमा ठूलो लगानी गरेर तत्काल प्रतिफल लिन सकिने अवस्था व्यवसायीहरुलाई पनि नरहन सक्छ ।

उपभोक्ताले यो पनि बुझ्नु जरुरी छ कि हरेक प्रविधिका आ–आफ्ना फाइदाहरु हुन्छन् । साथसाथै सीमितता पनि हुन्छन् । जुन प्रिफ्याबमा पनि लागु हुन्छ । साधारणतया बसोबास प्रयोजनको लागि प्रिफ्याब घर सबै हिसाबले उपयुक्त नै हुन सक्छ । व्यावसायिक प्रयोजनको लागि ठूला संरचना निर्माण गर्दा भने प्रिफ्याब भन्दा आरसिसि नै उपयुक्त हुन सक्छ ।

‘इन्टिग्रेटेड कम्युनिटी बिल्डिङ’को योजना
हामी अब छिट्टै प्रिफ्याबमा आधारित ‘इन्टिग्रेटेड कम्युनिटी बिल्डिङ’हरु निर्माण गर्ने योजनामा छौं । चितवनबाट हामीले यस कार्यको शुरुवात गर्न लागेका हौं । अलग–अलग घर निर्माण गर्दा लागत महँगो पर्न जाने, भवनका संरचनामा एकरुपता नहुने साथै डिजाइन र नक्साको आधारमा मात्र सेवाग्राहीलाई सबै कुरा बुझाउन नसकिने अवस्थालाई विचार गर्दै सेवाग्राहीले आफ्नै आँखाले यसको यथार्थ अनुभव गर्न सकुन् भनेर यस्तो अभ्यास गर्न लागेका हौं । जुन सहजै पूरा हुनेमा हामी आशावादी छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij