२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपालमा फेल्ट उद्योग: अहिलेकाे अवस्था र आगामी सम्भावना

नेपालमा फेल्ट उद्योग: अहिलेकाे अवस्था र आगामी सम्भावना

चक्रमणि देवकोटा, प्रबन्ध निर्देशक, देवचक्र एक्सपोर्ट प्रा.लि

चक्रमणि देवकोटा एक सफल उत्पादक तथा निर्यातकर्ता उद्यमी हुन् । गोरखा जिल्लामा जन्मिएका उनी अध्ययनको उद्देश्यले काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौंमा रहँदा उनी यहाँको व्यावसायिक वातावरणमा परिचित र घुलमिल हुँदै गए । ग्रामीण क्षेत्रबाट काठमाडौं प्रवेश गर्दा सामान्य तवरले प्रवेश गरेका उनले तत्कालिन आर्थिक आवश्यकता पुर्ति गर्ने उद्देश्यले फेल्टजन्य सामानहरुको कारोवार गर्ने एउटा पसलमा काम गरे । त्यहाँ रहँदा उनले नियमित आर्थिक आवश्यकता पुर्तिको अलावा ठूलो उपलब्धि त भएन । तर उनले त्यहाँ रहँदा सिकेका बजारीकरणका तरिकाहरु, वस्तु उत्पादन एवं निर्यात व्यापार र व्यवस्थापन पक्षको व्यावहारिक ज्ञानकै जगमा अहिले सफल व्यावसायिक साम्राज्य तयार पार्न सफल भएका छन् ।

हाल नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका महासचिव समेत रहेका देवकोटाले आफ्नो व्यावसायिक शुरुवात फेल्टजन्य वस्तुहरु विक्री गर्ने पसल सञ्चालनबाट गरेका हुन् । पछि आफैं फेल्टजन्य सामानहरुको उत्पादन समेत शुरु गरे । अहिले देवकोटाको व्यवसाय काठमाडौंका नैकाप, बालाजु र ग्रिनल्याण्डमा विस्तार भएको छ । हाल देवकोटाको व्यवस्थापनमा सञ्चालित उद्योगहरुबाट प्रत्यक्ष रुपमा करिब १ सय व्यक्तिहरुलाई रोजगारी मिलेको छ ।

नेपाली फेल्टजन्य क्षेत्रमा अहिले सम्म करिब १ अर्ब रकम बराबरको लगानी भएको अनुमान गरिँदै आइएको छ । सन् २०१४ को तथ्याङ्क अनुसार उक्त बर्ष ९ करोड बराबरको कारोबार रहेको फेल्ट सन् २०२० सम्म आइपुग्दा २ अर्ब नाघेको छ । जुन तथ्याङ्क नेपाल सरकारले उपलब्ध गराएको हो । व्यवसायीहरुको अनुमान अनुसार फेल्ट क्षेत्रको कारोबार त्यो भन्दा पनि बढी हुनुपर्छ । फेल्टजन्य वस्तुको लागि एचएस कोड सही तवरले परिभाषित हुन नसकेको कारण नेपालबाट निर्यात हुने फेल्टजन्य सामानहरुको पूर्ण तथ्याङ्क नेपाल सरकारको रेकर्डसँग मिल्न सक्ने अवस्था नभएको नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको निष्कर्ष छ ।

फेल्टको बजार अवस्था
फेल्ट व्यवसाय केही दशकको अन्तरालमा निकै नै परिमार्जित हुँदै गएको छ । विगतमा गुणात्मक पक्षमा खासै ध्यान नदिइएकोमा अहिले नेपालमा उत्पादन हुने फेल्टले गुणात्मक रुपमा समेत निकै नै फड्को मारेको छ । नेपालमा उत्पादन हुने फेल्टजन्य वस्तुहरु बाह्य बजारका ग्राहकहरुको आवश्यकतालाई लक्षित गरी उत्पादन गरिँदै आइएको छ ।

फेल्ट क्षेत्रमा लगानी
नेपाली फेल्टजन्य क्षेत्रमा अहिले सम्म करिब १ अर्ब रकम बराबरको लगानी भएको अनुमान गरिँदै आइएको छ । सन् २०१४ को तथ्याङ्क अनुसार उक्त बर्ष ९ करोड बराबरको कारोबार रहेको फेल्ट सन् २०२० सम्म आइपुग्दा २ अर्ब नाघेको छ । जुन तथ्याङ्क नेपाल सरकारले उपलब्ध गराएको हो । व्यवसायीहरुको अनुमान अनुसार फेल्ट क्षेत्रको कारोबार त्यो भन्दा पनि बढी हुनुपर्छ । फेल्टजन्य वस्तुको लागि एचएस कोड सही तवरले परिभाषित हुन नसकेको कारण नेपालबाट निर्यात हुने फेल्टजन्य सामानहरुको पूर्ण तथ्याङ्क नेपाल सरकारको रेकर्डसँग मिल्न सक्ने अवस्था नभएको नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको निष्कर्ष छ । नेपालमा फेल्टजन्य सामानहरु उत्पादन गर्ने व्यवसायीहरुले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले नेपालबाट बार्षिक रुपमा करिब ३ अर्ब रकम बराबरको फेल्टजन्य सामान बाह्य बजारमा निर्यात हुने गर्छ । हाल करिब १२ हजार व्यक्तिहरुले फेल्टजन्य वस्तु उत्पादनबाट नेपालमा प्रत्यक्ष रोजगारी सृजना भएको छ ।

फेल्टमा एसएस कोड परिभाषित गर्न गाह्राे  छ
नेपालमा फेल्ट अन्तरगत उत्पादन हुने वस्तुका प्रकारहरु निकै धेरै छन् । सबै आइटमहरुलाई उचित नामाकरण र संकेतीकरण गर्न समेत सकिएको छैन । यसको लागि आवश्यक संयन्त्र नेपाल सरकारसँग नभएको कारण कतिपय फेल्टजन्य वस्तुहरु ‘अन्य’ शीर्षक अन्तरगत निर्यात हुने गरेका छन् ।

कारोबार उत्साहजनक
फेल्टजन्य सामानहरुको निर्यात उत्साहजनक छ । लकडाउनकै अवधिमा समेत यसको कारोबार खासै सुस्ताएन । बरु व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार लकडाउन अवधि पछिका ३ महिनामा फेल्टजन्य वस्तुहरुको कारोवार करिब २१ प्रतिशत वृद्धि भएको छ ।

कस्तो व्यवसाय हो फेल्ट ?
फेल्ट व्यवसाय मुख्यतः सीपमा आधारित व्यवसाय हो । यो व्यवसाय सञ्चालन गर्नको लागि ठूलो लगानी आवश्यक पर्दैन । बरु आफूसँग भएको सीप र व्यवस्थापन कलालाई नै पुँजीमा बदलेर यो व्यवसाय सञ्चालन गर्न सकिन्छ । अहिले नेपालमा सबै किसिमका गरी करिब २ सय व्यवसायीहरुले फेल्ट सम्बन्धी काम गर्दै आइरहेका छन् । फेल्टजन्य सामानहरु उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु अधिकांश बाह्य बजारबाट नै आयात हुने गर्छन् । यस व्यवसायमा उन मुख्य कच्चा पदार्थ हो । फेल्ट उद्योगको लागि प्रयोगमा आउने उनको ठूलो हिस्सामा न्युजिल्याण्डबाट आयात हुने गर्छ । फेल्टजन्य सामान उत्पादनको लागि आवश्यक पर्ने अर्को मुख्य वस्तु साबुनपानी हो । उन, साबुनपानी, रङ र सीपको संयोजनबाट आवश्यक प्रशोधन गरी फेल्टजन्य वस्तुहरु विभिन्न रङहरुमा आफ्नो आवश्यकता बमोजिमको साइज र डिजाइनमा उत्पादन गर्न सकिन्छ । नेपालका फेल्ट उद्योगहरुले ३२ र ३४ माइक्रोनको उन प्रयोग गरी विभिन्न सामानहरु उत्पादन गर्दै आइरहेका छन् । फेल्टजन्य सामानहरु सियोधागोको प्रयोग बिना नै साबुनपानीमा जमाएर सामान उत्पादन गरिन्छ । नेपाल सरकारले फेल्टजन्य सामानको लागि २९ माइक्रोनको उन प्रयोगमा ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

लगानी र जनशक्ति
फेल्ट उद्योग सञ्चालनको लागि एकैपटकमा ठूलो लगानी आवश्यक पर्दैन । आवश्यकता अनुसार लगानी बढाउँदै जान सकिन्छ । नेपालमा अहिले सञ्चालनमा आएका नयाँ फेल्ट उद्योगहरुले आफ्नो क्षमता बमोजिम न्यूनतम करिब ५-७ लाख रकम लगानीबाट पनि काम शुरु गरेका छन् । अशिक्षित र अदक्ष महिला जनशक्तिबाट पनि काम सञ्चालन गर्न सकिने फेल्ट व्यवसायको लागि ठूला मेसिनहरु भित्र्याउनु पनि पर्दैन । कतिपय कामहरु घरमै गर्न सकिने किसिमका समेत हुन्छन् । काम बढ्दै जाँदा उद्योगको लागि आवश्यकता अनुसार जग्गा भाडामा लिन सकिन्छ । साधारण उपकरणहरुकै प्रयोगबाट काम शुरु गर्न सकिने र राम्रो लाभ लिन सकिने फेल्ट उद्योगको लागि दिगो सोच र दरिलो आत्मविश्वास भने आवश्यक रहन्छन् ।

देवकोटाको व्यावसायिक शुरुवातः
जतिबेला देवकोटाले फेल्टजन्य सामानहरु उत्पादन कार्य शुरु गरेका थिए, त्यतिबेला उनीसँग केवल १० हजार रुपियाँ जुटाउन सक्ने सामथ्र्य थियो । त्यही १० हजार रकमबाट नै उनले फेल्ट क्षेत्रमा काम शुरु गरेका हुन् । आफूले एउटा टेवल र १० किलो उन जुटाएर २ जना कर्मचारीबाट काम शुरु गरेको देवकोटा सम्झन्छन् । ठूलो मात्रामा कच्चा पदार्थ खरिद गर्नको लागि पनि रकम थिएन । पहिले काम गरेकै कम्पनीबाट उन सापटी लिएर व्यवसाय शुरुवाती गर्दाका दिनहरु निकै चुनौतीपूर्ण थिए । त्यो अवस्थाबाट शुरु भएको आफ्नो व्यावसायिक यात्रा अहिलेको अवस्थामा आउन सकेको परिप्रेक्ष्यलाई तुलना गर्दा देवकोटालाई सपनाझैं लाग्छ ।

बाह्य बजारमा बिक्री हुने प्रक्रिया
फेल्टजन्य सामानहरु उत्पादन पश्चात् सहजै बजारमा बिक्री हुन सक्ने अवस्था छ । आफूले कुनै सामान उत्पादन गरेपश्चात् ती सामानहरुको नमुना सम्भावित ग्राहकलाई पठाएर अर्डर आएसँगै ठूलो क्षमतामा ती वस्तुहरु उत्पादन गर्न सकिन्छ । आफूले निर्माण गरेका फेल्टजन्य सामानहरु देवकोटाले पहिलो पटक जर्मनी निर्यात गर्न सफल भएका थिए । आफ्नो सम्पर्कमा आएको ग्राहकले आफ्ना सामानहरु मन पराएर १ हजार पिस अर्डर दिएसँगै देवकोटाको व्यवसायले गति लिएको हो ।

विश्वबजारमा फेल्ट व्यवसाय
फेल्टजन्य वस्तु निर्माण व्यवसाय नेपालको लागि आयातित व्यवसाय हो । हस्तनिर्मित फेल्ट विश्व बजार अन्तरगत युरोप र अमेरिकामा निकै पहिले देखि सञ्चालनमा रहँदै आएको थियो । पछि मंगोलियामा पनि फेल्ट उत्पादन शुरु भयो । नेपालमा फेल्ट उत्पादन कार्य शुरु हुँदा फेल्टका सामानहरु राम्रो गुणस्तरमा बनाउन सकिँदैनथ्यो । अहिले भने नेपालमा उत्पादन हुने फेल्ट सामानहरुको गुणस्तर सुधार हुँदै आएको छ । डिजाइनमा परिमार्जन हुँदै आएको छ ।

प्रयोगशाला र गुणस्तरीयता प्रमाणिकरण
नेपाल सरकारले काठमाडौंको माछापोखरीमा गुणस्तर तथा नापतौल विभाग सञ्चालन गरी नेपालमा उत्पादित सामानहरुलाई गुणस्तरीय चिन्ह प्रदान गर्दै आएको छ । उक्त प्रयोगशालाले नेपालमा उत्पादन हुँदै आएका सामानहरुको प्रमाणिकरण गर्दै आएको छ । नेपालमा उपभोग हुने वस्तुहरुको परीक्षण गर्ने यही एउटा प्रयोगशाला छ । निर्यात गरिने वस्तुहरुको परीक्षण पनि यही प्रयोगशालाबाट नै गरिन्छ । तर बाह्य बजारमा निर्यात गरिने सामानहरु उक्त प्रयोगशालाबाट परीक्षण गरेर बाहिर पठाउँदा त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउन सक्दैन । सोहीकारण नेपालमा विश्वका चर्चित प्रयोगशालाहरु भित्र्याउनुपर्ने जरुरी छ ।

नेपाल सरकारले बदलिँदो परिवेशमा यस किसिमका विश्वव्यापी मान्यता पाउने एक्युरेसन ल्याव भित्र्याउनुपर्छ । नेपालमा यस्तो प्रयोगशाला सञ्चालनको लागि अहिलेको विधान परिमार्जन गर्नुपर्ने भए विधान परिमार्जन गरेर नै भएपनि नेपालमा एक्युरेसन प्रयोगशाला स्थापना गर्न विशेष पहलकदमी लिनुपर्छ । यसो हुन सकेको खण्डमा नेपाली निर्यात व्यापारलाई अझ राम्रोसँग विस्तार गर्न सकिन्छ । यसकारण यदि राज्यले कुनै सहुलियत दिएर ती प्रयोगशाला नेपालमा भित्रने व्यवस्था हुन सक्छ भने त्यसको लागि पनि तयार हुनुपर्छ ।

अन्त्यमा
अबका दिनमा फेल्ट उद्योगलाई उपत्यका बाहिर पनि विस्तार गर्नु जरुरी छ । अहिले सम्म काठमाडौं उपत्यकाको तुलनामा बाह्य जिल्लामा फेल्ट क्षेत्र फस्टाउन नसक्नुमा जनशक्ति नै मुख्य समस्या बनेको छ । आगामी दिनमा सबै ठाउँमा इन्टरनेटको पहुँच विस्तार भएको र आवश्यकता बमोजिम प्रयाप्त जनशक्ति उपलब्ध हुने परिस्थिति सृजना हुन सकेको खण्डमा नेपालका अन्य क्षेत्रहरुमा समेत फेल्ट उद्योग विस्तार हुन सक्ने राम्रो सम्भावना छ । साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रवर्द्धन गर्न सकेको खण्डमा हामीले राम्रो लाभ लिन सक्छौं । यसको लागि राज्यले समेत नीतिगत रुपमा स्पष्ट र सहज व्यवस्था गरिदिनुपर्छ ।

देवकाेटा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका महासचिव समेत हुन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij