
चिया पसल, रेष्टुरेन्ट, पार्टी प्यालेस, पिकनिक एवं घरायसी कार्यक्रमहरुमा समेत आजकाल कागजका गिलासहरु प्रयोग हुने क्रम बढ्दो छ । बजारको यही आवश्यकतालाई महसुुस गरेर नेपाली बजारमा नै कागजजन्य विभिन्न सामानहरु उत्पादन हुन थालेका छन् ।
पछिल्लो समय हेर्दा आकर्षक र प्रयोग गर्न सहज यस्ता सामानहरु प्रति सेवाग्राहीहरु समेत आकर्षित हुँदै गएका छन् ।
बजारको बढ्दो बजार आवश्यकतालाई महसुस गरी केही महिना पहिले मात्रै दिदी सङ्गिता निरौलाले भाई उमङ्ग निरौलासँगको साझेदारीमा ‘स्वच्छ नेपाल’ ब्राण्डको उच्च गुणस्तरीय कागज गिलास उत्पादन गरी बजारमा पस्किएकी छिन् ।
उद्यमशिल मानसिकताकी एक जागरुक महिला सङ्गिता निरौला नेतृत्वको ‘स्वच्छ नेपाल’ ब्राण्डको पेपर गिलास अहिले बजारमा चर्चित बन्दै गएको छ । शुरुमा सानो क्षमतामा गिलास उत्पादन शुरु गरेको यस कम्पनीले स्थापनाको छोटो अवधिमा नै उत्पादन क्षमतार गर्न सफल भएको छ ।
आफूहरुले बजारमा उपलब्ध गराएका गिलासहरु बजारमा उपलब्ध अन्य गिलासहरु भन्दा पृथक डिजाइनमा रहेको र बलियो एवं आकर्षक समेत रहेको निरौला बताउँछिन् ।
यस कम्पनीले दूध, चिया, कफी लगायतका तातो पदार्थको लागि सिङ्गल पिई गिलास तथा चिसो पेय पदार्थको लागि डबल पिई गिलास अहिले बजारमा उपलब्ध गराउँदै आएको छ ।
यी गिलासहरुहरु २ सय १० मिलिलिटर र १ सय ५० मिलिलिटर भण्डारण क्षमताका छन् ।
यस्ता गिलासहरुको प्रयोग पछिल्ला दिनहरुमा शहर देखि गाउँघर सम्म नै बढ्दै गएको साथै हेर्दा आकर्षक र किफायती हुनुको अलावा वातावरणमैत्री समेत भएको र भावी बजार सम्भावना समेत निकै राम्रो देखेर आफूले यस क्षेत्रमा व्यावसायिक कदम अघी बढाएको समेत उद्यमी महिला निरौलाले बताइन् ।
विगतमा गृहिणीको रुपमा घरायसी कामधन्दामा नै सीमित रहँदै आएकी निरौला आफैं उद्यमशिल बन्ने योजना सहित बाह्य संसारमा निस्किँदा आफूलाई नौलो अनुभव भएको बताउँछिन् । यसबीचमा उनले बजारका उपभोक्ताहरुसँग गरिने व्यवहार, व्यावसायिक वातावरण, बजारीकरणका तौरतरिका लगायतमा आफूलाई अभ्यस्त बनाइसकेकी छिन् । बाह्य संसारको अनुभव गर्न पनि आफ्नो नयाँ व्यवसायले ठूलो सहयोग पुगेको उनी महसुस गर्छिन् ।
आफ्ना श्रीमान ई.ऋषि कोइरालाको समेत विशेष प्रोत्साहनमा आफैंले बजार अध्ययन गरी कागजजन्य गिलास उत्पादनमा संलग्न भएकी निरौलाले काँडाघारी क्षेत्रमा जग्गा भाडामा लिएर यो काम शुरु गरेकी हुन् । हाल एउटा मेसिनबाट काम अघी बढाएकी उनले बजारको आवश्यकता बमोजिम अन्य मेसिनहरु समेत थप गरेर अलग–अलग साइज र अलग–अलग डिजाइनका पृथक–पृथक कप एवं प्लेटहरु उत्पादन गर्ने योजनामा आफूहरु रहेको बताउँछिन् ।
आफूहरुले सामान उत्पादन गरेर बजारमा ल्याएको छोटो अवधिमा नै आफ्ना उत्पादनहरु प्रति ग्र्राहकहरुको विशेष आकर्षण देखेर निरौला दङ्ग छिन् । भन्छिन्, ‘के काम शुरु गर्ने, कसरी गर्ने भन्ने जस्ता डर र शङ्का त काम शुरु गर्नु पहिले मात्र हुँदो रहेछ । आफूले यही काम गर्न सक्छु भन्नेमा स्पष्ट भई व्यवसायमा हाम फालेपछि त बाटो आफैं स्पष्ट हुँदै जाँदो रहेछ ।’
सङ्गिताले विभिन्न स्रोतबाट जुटाएको सानो रकम लगानीमा गिलास उत्पादन गर्ने मेसिन किनेकी हुन् । विगतमा आफू पनि गृहिणी भएकोले घरायसी प्रयोजनको लागि यस्ता गिलासहरुले आफूलाई निकै सजिलो बनाएको र सेवा लिने व्यक्तिले समेत सम्मानको महसुस गर्न सक्ने भएकोले आफू उक्त सामान उत्पादनमा प्रेरित भएको बताउँछिन् । समयको बचत हुने, थोरै जनशक्तिले पनि काम गर्न सकिने, साबुनपानीको आवश्यकता नपर्ने र सफा गरिरहनुपर्ने झण्झट समेत नहुने जस्ता विशेषताका कारण कागजजन्य गिलासहरुको बजार बढिरहेको सङ्गिताको बुझाई छ ।
अहिले अन्य महिला दिदीबहिनीहरुलाई पनि आफूसँग भएको सीप वा योजना बमोजिमका कतिपय कामहरु बिना लगानी र कतिपय सामान्य लगानीमा शुरु गर्न सकिने र राम्रो लाभ समेत लिन सकिने भएको कारण कुनै लाज वा सङ््कोच नमानी निर्धक्कसँग काम अघी बढाउन उनी प्रेरित गर्छिन् । बजार सम्भावनालाई समेत अध्ययन गरेर व्यवसायमा लाग्न सकेको खण्डमा असफल हुनुपर्दो रहेनछ भन्नेमा उद्यमशिल सङ्गिता विश्वस्त भइसकेकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij