
एलपि ग्यास प्रज्ज्वलनशिल वस्तु हो । जनताको दैनिक आवश्यकताको एक अभिन्न अङ्गको रुपमा विकास भएको एलपि ग्यास प्रयोग सम्बन्धमा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नको लागि व्यापक मात्रामा जनचेतनामूलक कार्यक्रमहरु शहर देखि गाउँ–गाउँ सम्म विस्तार गर्नुपर्ने जरुरी देखिएको छ ।
विगतका दिनमा ग्यास बिक्रेता महासंघ, ग्यास उद्योग संघ, नेपाल आयल निगम तथा उपभाेक्तावादी संस्थाहरुबाट यस सम्बन्धमा थुप्रै जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिएको थियो । ती कार्यक्रमहरुको प्रभावकारिता निकै राम्रो समेत देखियो । त्यसैकारण ग्यास प्रयोग गर्ने क्रममा हुने दुर्घटनामा निकै न्यूनीकरण समेत आयो ।

बजारमा विभिन्न गुणस्तरका रेगुलेटर, चुल्हो र पाइपहरु उपलब्ध छन् । आयु गुज्रिसकेका, कुच्चिएका, बिग्रेका ग्यास सिलिण्डरहरु पनि बजारमा हुन सक्छन् । सर्सर्ती हेर्दा बजार अझै पनि पूर्ण रुपमा व्यवस्थित भइसकेको देखिँदैन । यस्तो अवस्थामा उपभोक्ता जागरण अझ बढी महत्वपूर्ण हुने गर्छ । साथै बजारलाइ व्यवस्थित र जाेखिमरहित बनाउन यस्ता कार्यक्रमहरुमा स्थानीय निकायहरुकाे समेत सहभागिता हुनुपर्ने आवश्यकता समेत देखिएकाे छ ।
सबै उपभोक्ताले बजारमा उपलब्ध अलग–अलग सामान अनुसार गुणस्तरमा पनि अन्तर रहन्छ भन्ने कुरा थाहा नपाउन सक्छन् । जुन उपभोक्ता जागरणको अभावको कारण सृजना हुने गर्छ ।
ग्यास सिलिणडरमा भएकाे बिमा सम्बन्धी नियमअनुसार अहिले दुर्घटनाको प्रकृति हेरेर सिलिण्डरकै कारण दुर्घटना भएको रहेछ भने प्रत्येक सिलिण्डरमा १ करोड रकम बराबरको वीमाको व्यवस्था समेत गरिएको छ । जुन आवश्यक थियो । यद्यपि हाम्रो सबैभन्दा ठूलो ध्यान कसरी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्नेमा नै केन्द्रित हुनु जरुरी छ ।
ग्यास दुर्घटना न्यूनीकरण गर्न गुणस्तरीय सामानको भूमिका महत्वपूर्ण रहने भएकोले गुणस्तरीय सामान कसरी पत्ता लगाउने भन्ने कुरा उपभोक्ताको लागि चासोको रुपमा रहन्छ र रहनुपर्छ ।
निम्न विधिहरु अवलम्बन गरेको खण्डमा ग्यासबाट हुने दुर्घटना धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ ।
क) नेपालमा उत्पादित सामानमा एनएस गुणस्तरीय चिन्हको ख्याल गरौं । भारतमा निर्मित सामानमा आइएसआई गुणस्तर चिन्ह उल्लेख गरेको हुन्छ ।
ख) मुसाले खाने प्लाष्टिकको पाइप नभई तारले जेलिएको रवडको पाइप प्रयोग गर्नुपर्ने हुन्छ । जुन तुलनात्मक रुपमा थोरै महँगो भएपनि बढी सुरक्षित हुन्छ ।
ग) सीमा पारिबाट कतिपय गुणस्तरहीन रवडको जस्तो देखिने पाइप नेपाल भित्रिएका छन् । जसमा भित्र तार हुँदैन ।
घ) उपभोक्ताले ग्यासको आधिकारिक डिलरबाट किनेको खण्डमा मात्र सामान तुलनात्मक रुपमा गुणस्तरीय हुन सक्छन् ।
ङ) सिलिण्डर अर्को ठाउँमा लैजाँदा गुडाउन हुँदैन ।
च) ग्यास लिकेज भएको खण्डमा पनि दुर्घटना हुन सक्ने भएकोले यस अवस्थामा आधिकारिक डिलरलाई खबर गरी सुरक्षित हुन सकिन्छ ।
छ) सेफ्टी क्याप अनिवार्य रुपमा किचनमा राख्नुपर्छ । जुन अहिले हरेक सिलिण्डरमा समेत उपलब्ध हुने गरेको छ ।
यी र यस्ता कुरामा विचार गरी सावधानी अपनाउन सकेको खण्डमा ग्यासको दुर्घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij