२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भूकम्प पछि प्रिफ्याब प्रति नेपालीहरु जागरुक बनेका छन्

भूकम्प पछि प्रिफ्याब प्रति नेपालीहरु जागरुक बनेका छन्

दिनेश तिमल्सिना, निर्देशक (टेक्नोलोजी), प्रिफ्याब हाउस नेपाल प्रा.लि.

हामीले भूकम्प पश्चात् प्रिफ्याब क्षेत्रमा कदम अघी बढाएका हौं । हरेक उतारचढावले कुनै न कुनै नयाँ सम्भावनाको आधार समेत सँगसँगै छोडेर गएको हुन्छ । त्यो अवस्था भूकम्पमा पनि रह्यो । अहिलेको कोरोना महामारीमा पनि त्यो देखियो । भूकम्प पश्चात् नयाँ तवरले व्यावसायिक क्षेत्रमा काम गर्ने क्रममा हामीले प्रिफ्याबको बजार सम्भावना राम्रो हुने देखेर यस क्षेत्रमा लगानी केन्द्रित गरेका हौं । शुरुमा करिब १ करोड रकमको लगानीमा हामीले यो कामलाई अघी बढायौं । हुनतः हाम्रो परिवार बुबाको उद्यमशिल प्रवृत्तिको कारण विगत ३ दशक पहिले देखि नै विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएको थियो । तैपनि प्रिफ्याब तर्फ हामीलाई समय र परिस्थितिले मोडेको हो ।

भूकम्पले बनायो सचेत
प्रिफ्याब विश्वको लागि नयाँ प्रविधि होइन । नेपालको लागि भने नयाँ हो । भूकम्पले जब नेपालका परम्परागत रुपमा निर्माण भएका र स्ट्रक्चरल पक्षलाई विचार नगरी निर्माण गरिएका थुप्रै घरहरु भत्किए, त्यससँगै मानिसहरु वैकल्पिक तवरले घर निर्माण गर्नुपर्नेमा सचेत बन्दै गए । भूकम्प पछिको त्रास र मानिसको आवश्यकतालाई सम्बोधन गर्न प्रिफ्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जुन निर्माण क्षेत्रमा नेपालको लागि वैकल्पिक माध्यमको रुपमा रहँदै आएको छ ।

प्रिफ्याबको लागि कच्चा पदार्थ
नेपालमा प्रिफ्याब सम्बन्धी आवश्यक पर्ने सबै सामानहरु यहीँ उत्पादन गर्न सकिँदैन । आवश्यक कच्चा पदार्थ बाह्य बजारबाट नै आयात गर्नुपछ । नेपालमा प्रिफ्याबको लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गरिँदै आइएको छ ।

प्रिफ्याबमा प्रतिष्पर्धा
बजार प्रतिष्पर्धी छ । भूकम्प पश्चात् प्रिफ्याबमा काम गर्ने कम्पनीहरु निकै नै सङ्ख्यामा सञ्चालनमा आएका छन् । प्रतिष्पर्धी बजारमा स्तरीय सेवा प्रवाह गर्ने कम्पनीहरु मात्र राम्रोसँग टिक्न सक्छन् । यसकारण बजारमा सफलता प्राप्त गर्नको लागि विश्वसनीय सेवा प्रवाह गर्न विशेष ध्यान दिनुपर्छ भन्नेमा हामी विश्वस्त छौं ।

मूल्य
अहिले पनि अधिकांश नेपालीहरुले प्रिफ्याब भन्ने बित्तिकै यो मूल्यमा किफायत हुन्छ भन्ने बुझेका छन् । सोहीकारण कम लागतमा प्रिफ्याब घर निर्माण गर्ने प्रचलन बढी छ । यसैकारण अहिले सम्म नेपालमा सामान्यतया प्रिफ्याबबाट २÷३ तल्लाका घरहरु निर्माण गरिएको छ । यदि उच्च लागतमा सोहीबमोजिमका कच्चा पदार्थ प्रयोग गरेर घर निर्माण गर्ने हो भने आरसिसि सरहका ४÷५ तल्ले घर पनि प्रिफ्याबबाट सजिलै बनाउन सकिन्छ ।

प्रिफ्याब हाउसबाट सञ्चालनमा रहेका आयोजनाहरु
हामीले नुवाकोटको घ्याङफेंदीमा विद्यालय भवन निर्माण गरिरहेका छौं । यसको लागत १ करोड २० लाख अनुमान गरिएको छ । जुन ६ हजार वर्ग फिट क्षेत्रफल र १६ कोठा भएको विद्यालय भवन हो । त्यसैगरी ललितपुरकै गोदाबरी नजिक गोदामचौरको एउटा आश्रममा पनि काम गरिरहेका छौं । जहाँ मेडिटेसन हल, किचन निर्माण, कौशीको संरचना थप लगायतका कामहरु हामीले नै गरिरहेका छौं । यो भवन निर्माणमा स्थानीय सामानहरुको प्रयोग गरी न्यून लागतमा काम गर्ने प्रयाश हामीले गरेका छौं ।

गुणस्तरमा हाम्रो जोड
हामीले हाम्रो काम गुणस्तरीय हुन सकोस् भन्नेमा जोड दिएका छौं । हामीले घर बनाउँदा वा बिक्री गर्दा घर मात्र बिक्री गर्दैनौं । सेवाग्राहीहरुलाई कामबाट प्राप्त हुने खुसी पनि महत्वपूर्ण हुने गर्छ भन्ने कुरालाई विशेष महत्व दिन्छौं । जुन निकै महत्वपूर्ण हुने गर्छ भन्ने हाम्रो बुझाई छ ।

प्रिफ्याब र वातावरणीय प्रभाव
हामीले सम्पन्न गर्ने भौतिक संरचनाले केही हद सम्म प्रकृतिलाई पनि असर पार्न सक्छन् । यस्तो असरलाई न्यूनीकरण गर्नुपर्छ भन्नेमा हामी सचेत छौं । तैपनि विकासको लागि नयाँ प्रविधि पनि भित्र्याउनुपर्छ । यी प्रविधिले पार्ने असरलाई न्यूनीकरण गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । यसकारण नयाँ विकास भएका प्रविधि भित्र्याउने क्रममा त्यसका आधारभूत मापदण्ड तोकेर स्पष्ट रुपले काम गर्ने व्यवस्था राज्यबाट पनि हुनु जरुरी रहन्छ ।

अन्त्यमा,
पछिल्लो समय मुख्य संरचनामा भन्दा पनि सहायक संरचनाहरु–फार्म हाउस, कम्युनिटी सेन्टर, पब्लिक बिल्डिङ, अस्पताल, रिक्रिएसन सेन्टरहरु निर्माण गर्ने क्रममा अहिले प्रिफ्याबको प्रयोग बढेको छ । आगामी दिनमा प्रिफ्याबको महत्व सबैमा जगाउन सकेको खण्डमा देशका सबैजसो भागहरुमा यस प्रविधिलाई विस्तार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij