
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम तिम्सिना र बम बहादुर मिश्र नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैंकले उनीहरुलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो । गभर्नरको सिफारिस र त्यसैको आधारमा अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले उनीहरुलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गरिएको थियो ।
गभर्नरले राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, बमबहादुर मिश्र र डा. निलम तिम्सिनाको नाम सिफारिस गरेका थिए । तर, डा. तिम्सिना र मिश्रलाई मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको रुपमा नियुक्त गरेको हो ।
को हुन् डा. तिम्सिना ?
हाल एकमात्र महिला कार्यकारी निर्देशक रहेकी तिम्सिनाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी हुन् । व्यवस्थापनमा विद्यावारिधि गरेकी तिम्सिना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन् । हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन् । सोअघि उनी आन्तरिक लेखा परिक्षणमा थिइन् । तिम्सिना बरियताको सुचीमा तेस्रो नम्बरको कार्यकारी निर्देशक हुन् ।
को हुन् मिश्र ?
२०५९ साल साउन २७ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका मिश्र ०७६ साउन २३ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । उनले कानूनमा एलएलबिसम्मको अध्ययन पूरा गरेका छन् । हाल विदेशी विनिमय विभागका प्रमुख रहेका मिश्रले यसअघि भुक्तानी प्रणाली विभागका प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी वरियताको सुचीमा १३औं नम्बरका कार्यकारी निर्देशक हुन् । उनीसँग निजी बैंकमा काम गरेको अनुभव पनि छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij