२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आल्मुनियमको बजार माग बढ्दो, जनशक्ति मुख्य समस्याः व्यवसायी महत

आल्मुनियमको बजार माग बढ्दो, जनशक्ति मुख्य समस्याः व्यवसायी महत

सरोज महत, प्रबन्ध निर्देशक, एसबि आल्मुनियम प्रा.लि

सरोज महत आल्मुनियम व्यवसायमा लामो समय देखि संलग्न रहँदै आएका जागरुक युवा उद्यमी हुन् । आफ्नो व्यवस्थापनमा उनले कोटेश्वरबाट ‘एसबि आल्मुनियम प्रा.लि’ नामक कम्पनी सञ्चालन गरेका छन् । हाल उक्त कम्पनीले आल्मुनियमजन्य सामाग्रीहरु, युपिभिसी, फल्स सिलिङ, पार्केटिङ, मोडुलर किचन, इन्टेरियर लगायतका भवन निर्माण एवं आन्तरिक सजावटसँग सम्बन्धित आधुनिक प्रविधिजन्य सेवाहरु उपलब्ध गराउँदै आएको छ । पछिल्ला दिनहरुमा नेपालमा पनि आल्मुनियमजन्य सामाग्रीहरुको बजार माग बढ्दै गएको महत बताउँछन् । दोलखा स्थायी घर भएका महतले अध्ययनको लागि काठमाडौं प्रवेश गरेपछि एउटा आल्मुनियमजन्य सामानहरुको मार्केटिङ सम्बन्धी काम गर्ने कम्पनीमा केही काम गरे । उक्त कम्पनीमा रहँदा सिकेको सीप, व्यवस्थापन कला र भावी सम्भावनालाई विचार गर्दै आफू आल्मुनियम व्यवसायमा संलग्न भएको महत बताउँछन् ।

सफल व्यवसायी सरोजले आफ्नो व्यावसायिक शुरुवात साधारण लगानी र आफूमा भएको सीपको सम्मिश्रणबाट गरेका हुन् । आफूले सिकेको सीपलाई नै उनले पुँजीमा बदल्दै गए । आफूले प्राविधिक सीप हासिल गरेकोले भावी दिनमा अर्को बाटो रोज्नुपर्ला भन्नेमा कुनै सङ्कोच नराखी सरोज यसै क्षेत्रमा निरन्तर काममा खटिँदै रहे । त्यसको प्रतिफल स्वरुप छोटो अवधिमा नै उनले आफ्नो व्यवसायलाई सफलताको उचाईमा पुर्याउन सफल भएका छन् । कोटेश्वरको नरेफाँटबाट सञ्चालनमा रहेको उनको व्यवसाय अहिले विश्वास र गुणस्तरीयताको प्रतीक जस्तै बनेको छ । यस क्षेत्रमा संलग्न आफ्ना अन्य साथीहरुलाई उछिन्दै ठूलो लगानीमा सञ्चालनमा रहेका व्यवसायीहरुसँग छोटो अवधिमा नै प्रतिष्पर्धा गर्न सक्ने अवस्था सृजना हुनुमा आफूहरुको विश्वास, गुणस्तरीय सेवा र दीर्घकालिन रणनीति नै महत्वपूर्ण रहेको सरोज स्वीकार्छन् ।

प्रस्तुत छ आल्मुनियम व्यवसायको अवस्था र भावी सम्भावना बारे महतसँग रहेर तयार पारिएको सामाग्रीः

आल्मुनियम किन ?
मानिस स्वभावैले जागरुक हुने गर्छ । नयाँ विकसित प्रविधि प्रति मानिसको विशेष चासो रहनु उसको स्वभाव नै हो । सोहीबमोजिम निर्माण कार्यलाई सहज बनाउनको लागि बजार आवश्यकतालाई समेत अध्ययन गरी लामो समयको अध्ययन पछि विकास भएको वस्तु हो आल्मुनियम । यसको बजार अहिले विश्वका अन्य देशहरुमा अत्यन्तै तीव्र रुपमा वृद्धि भइरहेको छ । नेपालमा पनि यसको बजार सन्तोषजनक रुपमा नै वृद्धि भइरहेको छ । कम परिश्रममा नै उचित प्रविधिको खोजी गर्ने अहिलेको पुस्ताको लागि आल्मुनियम निर्माणको लागि भरपर्दो माध्यम बनेको छ ।

काठको भरपर्दो विकल्प बन्दै
आल्मुनियम व्यवसाय पछिल्ला दिनहरुमा काठको भरपर्दो विकल्पको रुपमा स्थापित हुँदै गएको छ । काठको उपलब्धता कठिन बन्दै गएको परिप्र्रेक्ष्यमा लागतका हिसाबले समेत आल्मुनियम काठ भन्दा सस्तो, सुलभ र टिकाउ भएकोले आल्मुनियम भरपर्दो माध्यमको रुपमा स्थापित हुन सकेको हो । आल्मुनियमको उपयोगसँगै काठको लागि वनजङ्गल माथिको निर्भरता घटेको छ । यसले वातावरणीय सन्तुलन कायम गर्नको लागि समेत सहयोग पुगेको छ ।

यसकारण बन्दैछ काठको उपयुक्त विकल्प
केही पहिले सम्म नेपालमा साधारण निर्माणको लागि ढुङ्गा, माटो र काठलाई नै सुलभ र सहज साधनको रुपमा रुपमा लिने गरिन्थ्यो । तर अहिले विस्तारै काठको उपलब्धता समेत कम हुँदै गएको छ । जसले गर्दा काठको लागत समेत महँगो पर्ने एवं राज्यले सालसिसौ जस्ता काठहरुलाई कटानीमा कडाई समेत गरेको अवस्थामा विस्तारै मानिसहरु काठको विकल्पको रुपमा पर्ने आल्मुनियम एवं ग्रिल तर्फ आकर्षित हुने क्रम बढ्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । आल्मुनियमका अन्य थुप्रै सकारात्मक पक्षहरु समेत छन् । आल्मुनियमबाट निर्माण हुने संरचनाहरु भूकम्प प्रतिरोधी समेत बनाउन सकिन्छ । आल्मुनियमबाट बन्ने संरचनाहरु हल्का हुनुको अलावा भूकम्प प्रतिरोधी समेत हुने गर्छन् । नेपालमा अहिले सम्म आल्मुनियम पूर्ण रुपमा उत्पादन गर्न सकिएको छैन । यसकारण आल्मुनियमको कच्चा पदार्थ ठूलो परिमाणमा चीनबाट आयात हुने गर्छ ।

युवा पुस्ताको बढ्दो आकर्षण
आल्मुनियम व्यवसायमा संलग्न अधिकांश व्यवसायीहरु युवा पुस्ता नै छन् । यो व्यवसायमा नयाँ पुस्ताका युवा व्यवसायीहरु थपिने क्रम जारी छ । मूलतः यो काम सीपमूलक काम हो । ठूलो क्षमतामा काम गर्नको लागि लगानी एवं व्यवस्थापकीय क्षमतालाई बढाउँदै लैजानुपर्ने हुन्छ । यद्यपि सानो क्षमतामा काम गर्नको लागि आफूमा भएको सीपलाई नै उपयोगमा ल्याई काम शुरु गर्न सकिन्छ । यसैकारण यस सम्बन्धी सीप भएका व्यक्ति आफैंले आल्मुनियम व्यवसाय सञ्चालन गर्न आकर्षित हुने गरेका छन् ।

मूल्यमा एकरुपता आवश्यक छ
हातमा सीप भएको खण्डमा सानो लगानीबाट समेत काम काम शुरु गर्न सकिने आल्मुनियम व्यवसायलाई अहिले सम्म पूर्ण व्यवस्थित बनाउन भने सकिएको छैन । गुणस्तरको सुनिश्चितता र निश्चित मूल्य निर्धारण एवं एकरुपता नभएको कारण अहिले सम्म बजार व्यवस्थित बन्न नसकेको हो । सबै व्यवसायीहरु संगठित बन्न नसक्नुमा काम जानेका व्यक्तिहरुले आफ्नो जनसम्पर्कको आधारमा सजिलै सानाठूला काम पाउन सक्ने अवस्था रहनु मुख्य हो । यद्यपि अहिले आल्मुनियम व्यवसायीहरुको हकहितको उद्देश्यले स्थापना भएको आल्मुनियम व्यवसायी संघले पनि सबै व्यवसायीहरुलाई संगठित गर्न र बजार व्यवस्थित गर्नको लागि पहल गरिरहेको छ । व्यवसायीहरुलाई एकतावद्ध बनाउन र बजार व्यवस्थित गर्नको लागि संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ ।

राज्यको भूमिका
आल्मुनियम व्यवसायमा अहिले पनि व्यक्तिगत तवरले बिना दर्ता काम गरिरहेका व्यवसायीहरु निकै धेरै छन् । राज्यले ती सबै व्यवसायीहरुलाई निश्चित प्रणालीमा समेट्नको लागि प्रोत्साहन मिल्ने कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ । यसको लागि व्यवसायीहरुलाई दबाब दिएर नभई प्रभावमा पारेर काम गर्नु जरुरी रहन्छ । जसअन्तरगत कर शिक्षा, वित्तीय साक्षरता लगायत महत्वपूर्ण हुन सक्छन् । साथै राज्यले व्यवसाय कसरी चलिरहेको छ भन्ने सम्बन्धमा आवश्यक अनुगमन एवं निश्चित मापदण्डको व्यवस्था गर्नुपर्ने जरुरी समेत छ ।

नेपालमा आल्मुनियमको सम्भावना
नेपालमा आल्मुनियम व्यवसायको सम्भावना निकै राम्रो छ । बढ्दो बजारलाई विचार गर्दा यो क्षेत्र आगामी दिनमा अझ फस्टाउँदै जाने सम्भावना समेत देखिन्छ । पछिल्ला दिनहरुमा यो व्यवसाय काठमाडौं उपत्यकामा मात्र नभई उपत्यका बाहिर पनि शुरुवात भएको छ । भावी दिनहरुमा अझ राम्रो तवरले विस्तार हुँदै जानेमा ढुक्क हुन सकिने अवस्था छ । नेपाल सरकार मातहत निर्माण हुने विभिन्न सरकारी कार्यालयहरुले समेत अहिले आल्मुनियमको प्रयोगलाई प्राथमिकता दिएको पाइन्छ । जुन राम्रो पक्ष हो ।

आल्मुनियमको अहिलेको अवस्था
पछिल्ला दिनहरुमा नेपालको शहरी क्षेत्रमा आल्मुनियम एवं फल्स सिलिङको बजार निकै नै विस्तार हुँदै गएको छ । निर्माणजन्य सामानहरुमा निरन्तर भइरहेको मूल्यवृद्धिले यस क्षेत्रलाई समेत केही अप्ठ्यारो पारेपनि बजार माग भने घटेको छैन । नेपाल सरकारले प्रभावकारी तवरले बजार नियमन गर्न सक्ने हो भने महँगीलाई निश्चित सीमा भित्र रहने गरी नियन्त्रण गर्न सकिने व्यवसायी सरोज महतको धारणा छ । बिनाकारण सामानको मूल्य महँगिदा त्यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तालाई नै पर्ने कुरालाई विचार गर्दै यसको लागि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी रहन्छ ।

सेवाग्राहीले बुझ्नुपर्ने कुराहरु
बजारमा आल्मुनियमजन्य सामानहरु विभिन्न गुणस्तरमा उपलब्ध छन् । बाहिरबाट हेर्दा एकै किसिमको देखिएपनि वास्तविक गुणमा पृथकता हुन सक्छ । यसकारण उपभोक्ताले हेरेको आधारमा सामानको गुणस्तरीयता छुट्याउन सक्ने अवस्था नरहन सक्छ । जसले गर्दा कतिपय अवस्थामा सेवाग्राही सस्तो सामानको प्रलोभनमा पर्दा स्तरीय सामान जडान नहुन सक्छ । यस सम्बन्धमा उपभोक्ता समयमा नै सचेत हुनु जरुरी रहन्छ ।

व्यवसायलाई व्यवस्थित गर्न गर्नुपर्ने कामहरु

क) बजार नियमनः
पछिल्लो समय अस्वभाविक रुपमा सामानमा मूल्य वृद्धि भएको छ । यसरी बिनाकारण हुने मूल्यवृद्धिलाई निश्चित हद भन्दा माथि जान नदिनको लागि राज्यले प्रभावकारी रुपमा बजार नियमन गर्नु आवश्यक रहन्छ ।

ख) तालिमः
राज्यले प्राविधिक सीपमूलक क्षेत्रको रुपमा रहेको आल्मुनियम सम्बन्धी सीप विकासमा सहयोग पु¥याउने उद्देश्यले युवा वर्गलाई तालिम प्रदान गर्नको लागि विशेष योजना सहित अघी बढ्नु जरुरी छ । सिटिइभिटी लगायतका सरोकारवाला निकायहरुले यस सम्बन्धमा आवश्यक अध्ययन गरी यस्तो सीप युवाहरुलाई प्रदान गर्ने हो भने नेपालमा नै रहेर आल्मुनियम मार्फत मासिक ५०÷६० हजार रकम सजिलै कमाउन सकिन्छ ।

ग) थप रोजगारी सृजनाको लागि पहलः
राज्यले नेपालमा नै उद्यमशिलता प्रवद्र्धन र रोजगारी सृजनाको योजना सहित अघी बढ्ने योजना लिएर यहाँका युवा उद्यमीहरुलाई प्रोत्साहित गर्ने हो भने नेपालमा अहिले सञ्चालनमा रहेका सानो क्षमताका आल्मुनियम उद्योगीहरुले समेत अहिलेकै संरचनाबाट कम्तीमा थप २ जना व्यक्तिलाई रोजगारी दिन सक्छन् । यस किसिमको व्यवस्था आल्मुनियमको अलावा अन्य व्यवसायहरुमा पनि सृजना गर्न सकिन्छ ।

घ) युवा सोचलाई सम्बोधन गर्नु जरुरीः
राज्यले युवाहरुको सीप, क्षमता र बौद्धिकताको उचित कदर गर्नु जरुरी छ । युवाहरुलाई लक्षित गरेर सोहीबमोजिमका गतिविधिहरु सञ्चालन गर्न सकेको खण्डमा नेपालमा राम्रो व्यावसायिक वातावरण बन्न सक्छ । सोहीकारण बिना धितो न्यूनतम व्याजमा कर्जा उपलब्ध गराउने, सीप र दक्षतालाई विश्वास गरेर लगानी गर्ने, नयाँ योजनालाई प्रवद्र्धन हुने गरी कामहरु अघी बढाउनुपर्ने आवश्यकता समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij