
राजन शाक्य हस्तकला क्षेत्रमा परिचित उद्यमी हुन् । नेपाललाई विश्व बजारमा चिनाउने माध्यम हस्तकला बन्न सक्ने शाक्य बताउँछन् । हस्तकला क्षेत्रको आगामी सम्भावना राम्रो रहेको बताउँदै शाक्य नेपाली पहिचान बोकेको हस्तकलाको थप प्रवद्धन आवश्यक रहेको बताउँछन् । राजन मुख्यतः जडाउकला सम्बन्धी काम गर्ने व्यक्ति हुन् । उनले यो सीप आफ्नै दाईबाट हासिल गरेका हुन् । लकडाउन हुनुभन्दा पहिले सम्म १०–१२ व्यक्तिहरुलाई आफ्नो व्यवसायमा काममा लगाउन सफल उनी कोभिड–१९ ले नेपाली हस्तकला क्षेत्र पनि प्रभावित भएको बताउँछन् । शाक्य मूलतः जडाउकलामा संलग्न व्यक्ति हुन् । राजन आफूले उत्पादन गर्दै आएका सामानहरु मुख्यतः चिनियाँ बजारमा निर्यात गर्दै आएका छन् ।
प्रस्तुत छ कलाकार शाक्यको दृष्टिकोणमा आधारित यो सामाग्रीः
कलाको सम्मान हुनुपर्छ
कलाकार र कालिगढ राष्ट्रका सम्पत्ति हुन् । उनीहरुको सीप र कलामा हाम्रो पहिचान निर्भर रहन्छ । यसकारण कालिगढलाई स्वतन्त्र तवरले काम गर्ने अवसर सृजना गरिनुपर्छ । कालिगढलाई सन्तुष्ट बनाउन सकेमात्र हाम्रो कला संस्कृतिले अलग पहिचान स्थापना गर्न सक्छ । लगानी र कला प्रस्फुटन अलग कुरा हुन् । जोसँग लगानी गर्न सक्ने क्षमता छ, त्यसले हातमा सीप भएका व्यक्तिहरुलाई संगठित गर्न सक्छ । जोसँग सीप र कला छ, उसले स्वतन्त्र तवरले आफूमा भएको कला प्रस्फुटन गर्ने मौका पाउनुपर्छ । स्वतन्त्र र एकाग्र वातावरणमा नयाँ सृजना फक्रिने मौका मिल्छ । अहिले नेपालमा हस्तकला क्षेत्रको बजार पछिल्लो समय निकै नै विस्तार हुँदै आएको छ । यो हाम्रो लागि खुसीको कुरा हो ।
क्षमतावान् छन् नेपाली कालिगढ
नेपाली कालिगढहरु क्षमतावान् छन् । उनीहरुले अवसर पाएको खण्डमा अझ राम्रो प्रदर्शन गर्न सक्छन् । अहिले भने राम्रो प्रदर्शन गर्न सक्ने वातावरण कलाकारहरुलाई मिल्न सकेको छ्रैन । नेपालमा अहिले कालिगढ भन्दा व्यापारी छिटो फस्टाउने अवस्था छ । अहिले सम्म नेपालमा कालिगढले राम्रो पारिश्रमिक पनि पाउन सक्ने अवस्था समेत छैन । न त कालिगढको राम्रो पहिचान नै स्थापना हुन सकेको अवस्था छ । यस्तो अवस्थामा कला क्षेत्रलाई माथि उठाउन कलाकारलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण बन्नु जरुरी छ । कलाकार अन्य कुरामा नअल्झिई आफ्नो क्षमताको पूर्ण उपयोगमा केन्द्रित हुनुपर्छ । त्यहीँ नै उनीहरुले बढी आनन्दको अनुभुति समेत गर्न पाउँछन् ।
जडाउ कलामा लगानी
जडाउ कला हस्तकला अन्तरगत विशिष्ट पहिचान बोकेको कला हो । पहिले तयार भइसकेको मुर्तिमा विभिन्न कलात्मक पत्थर एवं धातुहरु जडान गरेर मुर्तिलाई नयाँ स्वरुप दिने काम यस अन्तरगत गरिन्छ । यस कलामा संलग्न हुनको लागि लगानी भन्दा पनि सीप महत्वपूर्ण हुन्छ । साधारण लगानी र सामान्य उपकरणबाट समेत थोरै ठाउँमा यो काम शुरु गर्न सकिन्छ । जडाउ देख्दा साधारण देखिएपनि यो आफैंमा निकै वृहद क्षेत्र हो । यस कलामा धेरै किसिमका कामहरु हुने भएकोले ती कामहरु सम्बन्धित कलाको सीप भएको व्यक्तिबाट गराउनुपर्ने हुन्छ । यस कलामा निपुण बन्नको लागि बौद्धिकता र कलाको सम्मिश्रण आवश्यक पर्छ ।
बजार
अहिले सम्म नेपालमा उत्पादन हुने जडाउ कलाजन्य सामाग्रीहरु सबैजसो बाह्य बजारमा निर्यात हुने गरेका छन् । नेपाली बजारमा यी सामानहरु प्रयोगमा आउन नसक्नुमा यस सम्बन्धी जानकारी वा ज्ञान भएका व्यक्तिहरु न्यून हुनु एउटा पक्ष हो भने यी सामानहरु तुलनात्मक रुपमा महँगा हुनु पनि हो । राज्यले आफ्नो देशमा निर्माण हुने सीप र कलाजन्य सामाग्रीहरुको सम्मान र संरक्षणको नीति लिने हो भने स्वदेशमा पनि यी सामानहरुको बजार विस्तार हुन सक्ने अवस्था छ । आफ्नो देशका नागरिकहरुबाट बनेका यी सामानहरु सजावट वा उपहारको लागि प्रयोगमा ल्याउने तर्फ पनि राज्यको ध्यान जानु जरुरी छ ।
प्रविधि
अहिले हस्तकलाजन्य कार्य अन्तरगत पर्ने जडाउकला क्षेत्रमा पनि नयाँ प्रविधिहरु विकास भएका छन् । जसले गर्दा काम गर्न पहिले भन्दा सहज छ । तैपनि राम्रो डिजाइनमा उत्कृष्ट सामान उत्पादन गर्न भने कठिनाई छ । विश्व बजारमा निर्माण भएका अधिकांश ज्यावलहरु नेपाली बजारमा पनि भित्रिएका छन् ।

मुख्य समस्या
अहिले जडाउ कलामा संलग्न व्यक्तिहरु विस्तारै पलायन हुँदै गइरहेको अवस्था छ । जडाउ कला क्षेत्र विगतमा राम्रोसँग चल्दै आएको र सीपको सम्मान हुने क्षेत्रको रुपमा रहेको भएपनि अहिले भने त्यो अवस्था छैन । अहिले जडाउ कलाजन्य सामानहरु निर्माण गर्नको लागि आवश्यक पर्ने कच्चा पदार्थको गुणस्तर समेत खस्किएको छ । यस्ता कच्चा पदार्थहरुहरु कतिपय नक्कली समेत हुने गरेको कारण यसले समस्या सृजना हुने गरेको छ । विगतमा यस व्यवसायमा १–२ दशक पहिले सम्म शाक्य एवं बज्राचार्य समुदायहरु रहँदै आएका भएपनि अहिले भने यस क्षेत्रबाट उक्त समुदाय पलायन हुँदै गएको अवस्था छ ।
मुख्य कच्चा पदार्थ
सीप र मेहनतमा आधारित जडाउ कलाजन्य सामानहरु अधिकांश तामा र चाँदीबाट बन्ने गर्छन् । अर्डर आएको खण्डमा सुनबाट पनि जडाउकलाजन्य सामानहरु निर्माण गर्न सकिन्छ । पत्थर यस कार्यको लागि विशेष महत्वपूर्ण रहन्छ ।
जनशक्ति र तालिम
यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने काम अर्को चुनौतीको रुपमा रहेको छ । व्यक्तिगत रुपमा यो तालिम सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्छ । सोहीकारण राज्य वा अन्य संघसंस्थाको सहयोग उपलब्ध हुन सकेको खण्डमा युवाहरुलाई यस सम्बन्धी सीप सिकाउन सकिन्छ ।
अन्त्यमा
बजार प्रवद्धन नै मुख्य समस्या हो । नेपालमा उत्पादन हुने सामानहरुको लागत तुलनात्मक रुपमा अलि बढी छ । नेपालबाट निर्यात हुने मुख्य बजार चीन हो । पछिल्लो समय यस्ता सामानहरु चीनले समेत उत्पादन शुरु गरेको छ । नेपालमा उत्पादन हुने यी सामानको कला राम्रो भएपनि ठूलो क्षमतामा तत्काल यी सामानहरु उत्पादन गर्न समस्या सृजना हुने गरेको छ । चीनमा यस्ता सामानहरु आवश्यकता बमोजिम तत्काल उत्पादन गर्न सकिने मेसिनहरु विकास भएका छन् । साथै हातकै उपयोगबाट समेत चीनमा यस्ता सामानहरु उत्पादन कार्य शुरु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij