काठमाडाैं । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र अभियान नेपालको आयोजनामा आज भक्तपुर जिल्लामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आजको कार्यक्रममा भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर लगायतका जिल्लाहरुबाट १२० जनाको उपस्थिति रहेको थियो ।
आज सम्पन्न कार्यक्रममा किसान, अभियान्ता र यो अभियानमा जोडिएर कृषि क्षेत्र मार्फत केही काम गर्न चाहनुहुने महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आजको अन्तरक्रिया कार्यक्रमबाट प्रभावित भई उपस्थित मध्ये ११ जना व्यक्तित्वहरू आफू शेयर बन्न इच्छुक भएको भन्दै प्रति १००० कित्ताका दरले पर्न आउने शेयर बराबर रु. १०००००/- (एक लाख) रकम प्रदान गर्नुभएको छ भने उपस्थित हुनुभएका अन्य महानुभावहरू पनि घर, समाजसँग सल्लाह गरी छिट्टै यो अभियानमा जोडिएर काम गर्न इच्छुक भएको जानकारी गराउनुभयो । अन्तर्क्रियामा बोल्नु हुँदै उपस्थित महानुभावहरू विशेषगरी भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ जिल्लाबाट सहभागी किसान, अभियन्ताहरूले उल्लेख्य चाँसो व्यक्त गर्नुभयो । यो अभियान मार्फत देशलाई आत्मनिर्भर बनाउने काममा सहकार्य गर्ने मनसायले सो अभियानमा जोडिन आफूहरू इच्छुक भएको कुरा व्यक्त गर्नुभएको थियो ।
आजको कार्यक्रम सम्पदा पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सुरुमा अभियन्ता सुनिती कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै आगन्तुक सम्पूर्ण महानुभावहरूलाई कार्यक्रमको जानकारी सहित स्वागत गर्नुभएको थियो ।
आफ्ना अनुभव राख्नु हुँदै ‘म किन यो अभियानमा लाग्ने निर्णय गरेँ’ भन्ने विषयमा १८ वर्ष शिक्षण पेशामा लाग्नु भएका श्री राजन प्रसाद पोखरेलले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले अब हामी हरेक क्षेत्रमा स्मार्ट तरिकाले अगाडि बढ्नुपर्ने बेला आएको हुनाले आजसम्म विद्यार्थीका कापीमा अक्षर लेखन, हस्तलेखन, शुद्धीकरणमा रङ्गिने रातो कलम किसानको खेतबारीमा दौडिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । जनसम्पर्क विभागका उपसंयोजक समेत रहनुभएका उहाँले अभियानको विस्तार प्रदेश नम्बर एकदेखि सातसम्म भइसकेको र विभिन्न जिल्लाका जिल्ला संयोजक, सचिव र आर्थिक विभाग प्रमुखको नामावली समेत पढेर सुनाउनुभएको थियो ।
त्यसैगरी अभियन्ता तथा खोज एवम् अनुसन्धान विभागका उपसंयोजक प्राञ्जल रिजालले कृषि प्राविधिक विषयमा आफ्नो प्रस्तुति दिनुहुँदै कृषि व्यवसायमा भएका सम्भावना, चुनौति र त्यसका समाधानका विषयमा आफ्नो विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अभियन्ता तथा केन्द्रीय संयोजकका प्रचारप्रसार सल्लाहकार तथा व्यापार प्रवर्द्धन निर्देशक उत्सव ढकालले समग्र योजनाको बारेमा विस्तृत खाका प्रस्तुत गर्नुभयो ।
त्यस्तै अभियन्ता केन्द्रीय संयोजकका आर्थिक सल्लाहकार तथा उर्वर नेपाल पब्लिक लिमिटेडका वित्त निर्देशक निरन्जन रिजालले कम्पनीको वित्त व्यवस्थापन र वित्त योजनासँग सम्बन्धित १, २ र ५ वर्षीय योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालका केन्द्रीय संयोजक सुदर्शन बिक्रम कार्कीले अभियान के हो ? किन अभियानमा लाग्ने ? अभियानसँगै उर्बर नेपाल पब्लिक कम्पनी खोल्नुको उद्देश्य के हो ? जस्ता विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
आजको कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरू आफूहरू अत्यन्तै उत्साहित भएको र सो कार्यक्रम आफूलाई राम्रो लागेकोले आफू पनि सो कार्यक्रममा जोडिने र आफ्ना छरछिमेक, आफ्नो गाउँ पालिका, जिल्ला लगायतलाई संगिठत गरी ग्रीन यूनिट लगायत विभिन्न जिल्लाका जिल्ला समितिहरू बनाउन तीव्रताका साथ लाग्ने जानकारी समेत गराउनुभयो । आजको कार्यक्रममा भक्तपुर जिल्लाका जिल्ला संयोजक, काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला संयोजकको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अभियन्ता सुनिती कार्कीले कविता तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
उर्वर नेपाल पब्लिक लिमिटेडले काठमाडौंको मध्यबानेश्वरमा बिक्री कक्ष (outlet) सञ्चालन गरिसकेको जानकारीसमेत सो कार्यक्रममा गराइएको थियो ।
अबको योजना भक्तपुर जिल्लामा पनि बिक्री कक्ष खोली नेपाली बजारमा सहजै उपलब्ध हुन कठिन रहेका जुम्ली मार्सी, जुम्ली सिमी, कालो मरिच, टिमुर, कागुनो, मकैको च्याख्ला, कोदाको पिठो, चिउरी, मह लगायतका वस्तुहरू बिक्री वितरणका लागि राखिने जानकारी गराइएको थियो ।
माथि उल्लेखित खाद्यान्नहरू जुम्ली मार्सी, जुम्ली सिमी, कालो मरिच, टिमुर, कागुनो, मकैको च्याख्ला, कोदाको पिठो, चिउरी मह आजको कार्यक्रममा नमुनाका लागि राखिएको थियो र आजकै दिन रु. १५,०००/- (पन्ध्र हजार) रुपियाँको कारोबार समेत भएको बिक्री कक्षका प्रतिनिधिले जानकारी गराउनुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij