अमोघ धाख्वा, प्रबन्ध निर्देशक, नेपाल क्राफ्ट ग्यालरीअमोघ धाख्वा एक सफल युवा उद्यमी हुन् । हस्तकला अन्तरगत पर्ने फेल्टजन्य सामानहरु उत्पादन कार्यमा संलग्न रहेका उनी ‘ए प्लस बिजनेश लिंक’ नामक कम्पनी मार्फत उनी विद्यालयहरुको लागि आवश्यक पर्ने विभिन्न सामानहरु बाह्य बजारबाट आयात गर्ने कार्य समेत गर्दै आएका छन् । सन् १९७१ देखि व्यावसायिक यात्रा अघी बढाएको नेपाल क्राफ्ट ग्यालरीले सन् २००६ देखि फेल्टजन्य सामानहरु उत्पादन शुरु गरेको हो ।
व्यावसायिक विविधिकरण र उतारचढावहरुः
यो कम्पनी सञ्चालनमा आएपश्चात् विभिन्न उतारचढावहरु व्यहोर्दै अहिलेको अवस्थामा आउन सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अमोघ धाख्वा बताउनुहुन्छ । दाइले कम्पनीको नेतृत्व गरिरहेको समय देखि नै लगानी विविधिकरण शुरु भइसकेको थियो । यद्यपि उहाँको अकल्पनीय निधनले व्यवसायमा समेत ठूलै धक्का पु¥यायो । दाईले कम्पनीको नेतृत्व लिँदा आफ्नो परिवारको व्यवसाय अटोमोबाइल, होटल, ट्राभल एजेन्सी, हस्तकला निर्यात लगायतमा विविधिकरण भएको समेत अमोघले बताउनुभयो ।
कम्पनीको अहिलेको अवस्थाः
नेपाल क्राफ्ट ग्यालरीबाट हाल करिब १ सय जना कर्मचारीहरुलाई काममा लगाई फेल्टजन्य वस्तुहरु उत्पादन गरिँंदै आइएको छ । हाल ललितपुरको चाकुपाटमा सञ्चालनमा रहेको यस उद्योगबाट उत्पादन हुने फेल्टजन्य सामानहरु युरोप, जापान, दक्षिण कोरिया, अष्टे«लिया, न्युजिल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गर्दछन् ।
कम्पनीको शुरुवाती लगानीः
शुरुका दिनमा यो कम्पनी सानो लगानीबाट नै शुरुवात भएको हो । अन्य व्यवसायहरुमा समेत संलग्न रहेको र व्यवस्थापन पक्षमा विशेष ध्यान दिई बजारको मागलाई लक्षित गर्दै सामान उत्पादनतर्फ केन्द्रित भएको कारण अहिलेको अवस्थामा आउन यो कम्पनी सफल भएको हो ।
फेल्टको लागि कच्चा पदार्थः
फेल्टजन्य वस्तुहरु उत्पादनको लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ उन हो । जुन नेपालमा न्युजिल्याण्डबाट आयात गरिन्छ । नेपालमा पनि हिमाली क्षेत्रमा भेँडा पालन गरिन्छ । नेपालमा पालिने भेँडा मुख्यतः मासुकै लागि प्रयोगमा ल्याइन्छ । जसले गर्दा एकातिर व्यावसायिक प्रयोजनको लागि आवश्यकता बमोजिम भेँडाको उन प्रयाप्त मात्रामा उत्पादन गर्न सकिँदैन । साथै नेपालमा उपलब्ध उन फेल्टजन्य सामान उत्पादनको लागि आवश्यक पर्ने उन भन्दा अलि मोटो हुन्छ । जसले गर्दा उन बाह्य बजारबाट नै आयात गर्नुपर्ने अवस्था छ । यसको अलावा अन्य कच्चा पदार्थ अन्तरगत पर्ने धागो र बटन भारतबाट आयात गरिन्छ । फेल्टको लागि आवश्यक पर्ने रङ स्वीटजरल्याण्ड र भारतबाट आयात गरिन्छ । डाइङ भने नेपालमा नै गरिन्छ ।
फेल्टजन्य सामानहरु उपभोक्ताको आवश्यकता बमोजिमका डिजाइनमा उत्पादन गर्न सकिन्छ । फेल्ट अन्तरगत पर्ने सामानहरुमा छोटो अवधिमा नै उपभोक्ताको रुचिमा परिवर्तन समेत आउन सक्छ । सोहीकारण आफूले सेवाग्राहीको रुचि र आवश्यकता बमोजिम सामानहरु उत्पादन गर्दै आएको धाख्वा बताउनुहुन्छ ।
फेल्ट उद्योगको सम्भावनाः
नेपालमा फेल्ट उद्योगको सम्भावना निकै राम्रो छ । पछिल्ला बर्षहरुमा नेपालमा उत्पादित फेल्टजन्य वस्तु निर्यातको परिमाण बढ्दै गएको छ । अबका दिनमा नेपाली उत्पादनलाई अझ राम्रो तवरले प्याकेजिङ गरी हाम्रा उत्पादनहरु उच्च मूल्यमा बिक्री गर्नु जरुरी छ । नेपालबाट हाल बार्षिक करिब साढे २ अर्ब बराबरका फेल्टजन्य सामानहरु निर्यात हुँदै आएको अनुमान गरिन्छ ।
प्रतिष्पर्धा
नेपाली फेल्ट उद्योगको लागि मुख्य बजार भनेको अन्तर्राष्ट्रिय बजार नै हो । यसकारण प्रतिष्पर्धा पनि अन्तर्राष्ट्रिय बजारमा नै हुने गर्छ । चीन र भारतले समेत नेपाली फेल्ट उद्योगले उत्पादन गर्ने वस्तुसँग मिल्दाजुल्दा किसिमका सामानहरु नै उत्पादनहरु गर्दै आएका भएपनि नेपाली बजारमा उत्पादन हुने फेल्टजन्य वस्तुको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । साथै चीनको तुलनामा नेपालमा जनशक्तिको लागत खर्च समेत न्यून छ । अबका दिनमा अन्य आधारभूत प्रविधिहरु समेत भित्र्याउनुपर्ने जरुरी छ ।
बजारको मागः
नेपालमा उत्पादन हुने अधिकांश सामानहरु हातको प्रयोगबाट नै उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा हातकै प्रयोगबाट बन्ने सामानहरुको माग उच्च छ । साथै नेपालमा उत्पादन हुने फेल्टजन्य वस्तुहरु प्राकृतिक समेत भएको कारण यी सामानहरुले विदेशीहरुको ध्यान खिच्न सफल छन् ।
उद्योगको क्षमता विस्तारको योजना
धाख्वा आगामी दिनमा आफ्नो उद्योगको क्षमता विस्तार गर्ने र काठमाडौं उपत्यका बाहिर पनि उत्पादन कार्य शुरु गर्ने योजनामा हुुनुहुन्छ । लकडाउन शुरु हुनु भन्दा पहिले नै उहाँले यस सम्बन्धी योजना बनाइसक्नुभएको भएपनि लकडाउनले आफ्नो योजनामा ठूलो धक्का पुर्यायो । साथै कोरोना सङ्कटले गर्दा अन्तर्राष्ट्रिय बजारमा आउन सक्ने मागलाई समेत विचार गर्दै आफ्ना योजनाहरु अघी बढाउने उहाँ बताउनुहुन्छ ।
अन्तराष्ट्रिय मेलाहरु मार्फत बजार प्रवद्धन
जर्मनी, अमेरिका, युरोप लगायत विभिन्न देशहरुमा आयोजना हुने प्रदर्शनी मेलाहरुमा सहभागि भएर आफूले उत्पादन गर्दै आएका सामानहरुको बजार प्रवद्धन गर्ने कार्य धाख्वाले गर्दै आउनुभएको छ ।
युवाहरुलाई सल्लाह
नेपालमा नै काम गर्न चाहने हो भने यहीँ नै राम्रा सम्भावनाहरु खोजी गर्न सकिन्छ । नेपालमा पनि थुप्रै सम्भावनाहरु छन् । नेपालीहरुको मानसिकता स्वदेशमा सम्भावना नखोजी विदेश नै जानुपर्ने भन्ने किसिमको छ । जुन गलत छ । साथै नेपालमा नै रहेर काम गर्ने क्रममा बजार सम्भावनालाई अध्ययन गरेर सम्भावना रहेको क्षेत्रमा संलग्न हुन सकेको खण्डमा राम्रो प्रगति गर्न सकिन्छ ।
नेपालीहरु बाह्य मुलुकमा बढी मेहनत गर्न तयार हुन्छन् । तर स्वदेशमा नै काम गर्नको लागि भने तत्पर हुँदैनन् । यसतर्फ हाम्रो शैक्षिक कार्यक्रमले पनि प्रोत्साहित गर्न सकेको छैन । अबका दिनमा हाम्रो आवश्यकता बमोजिमका उद्यमशिल जनशक्ति उत्पादन गर्न सकिने किसिमका कार्यक्रमहरु औपचारिक शिक्षामा समेट्नुपर्ने जरुरी छ ।
अन्त्यमा
नेपालको अवस्था माथि उठाउन निर्यातमूलक क्षेत्रलाई प्रोत्साहन गर्नु जरुरी छ । नेपालको दीर्घकालिन लाभको क्षेत्र निर्यात नै भएको कारण यसलाई प्रोत्साहन गर्न सकिएमात्र हाम्रो अर्थतन्त्र बलियो बन्न सक्छ । साथै नेपाली युवाहरुलाई नेपालमा नै रहेर काम गर्न प्रोत्साहन मिल्ने किसिमका गतिविधिहरु राज्य मातहत नै सञ्चालन गर्नसकिए यहीँ नै ठूलो परिमाणमा उद्योगहरुको स्थापना र रोजगारी सृजना गर्न सकिन्छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij