
सुविन बज्राचार्यको परिवार पुख्र्यौंली रुपमा नै सुनचाँदी क्षेत्रमा संलग्न रहँदै आएको परिवार हो । पुस्ता हस्तान्तरण हुने क्रममा अहिले सुविनले यस व्यवसायलाई निरन्तरता दिएका छन् । व्यवसायको अलावा सुविन सामाजिक गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रुपमा संलग्न रहँदै आएका छन् । ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान महासचिव समेत रहेका उनले सुनचाँदी क्षेत्रको प्रवद्धन, नीतिगत सुधार र सुनचाँदी सम्बन्धी तालिम केन्द्र सञ्चालनको लागि निरन्तर पहलकदमी लिँदै आएका छन् ।
ललितपुरः कलामा सम्पन्न शहर
ललितपुर मुख्यतः कलायुक्त शहरको रुपमा चिनिँदै आएको छ । काष्ठकला, मुर्तिकला, सुनचाँदी रत्न आभूषण कला, प्रस्तर कला लगायत सबै किसिमका कलाहरु ललितपुर जिल्लाभर फैलिएका छन् । त्यस मध्ये पनि ललितपुरमा उत्पादित सुनचाँदी क्षेत्रको अलग्गै महत्व छ ।
सुनचाँदी बाह्य मुद्रा उपार्जनको राम्रो माध्यम
नेपालबाट निर्यात हुने चाँदीका सामानहरु उत्पादन हुने मुख्य स्थान समेत ललितपुर महानगरपालिकाको १६ नम्बर वडा नै रहँदै आएको व्यवसायी सुविन बताउँछन् । उनका अनुसार सुनचाँदी क्षेत्र मुद्रा उपार्जनको राम्रो माध्यम हुँदाहुँदै पनि नेपाल सरकारको झण्झटिलो प्र्रावधानको कारण यसको निर्यातमा केही गिरावट भने आएको छ । नेपालबाट निर्यात हुने तयारी वस्तु मध्ये सुनचाँदी समेत एक हो । तैपनि उच्च लागतको कारण नेपालमा उत्पादित सुनचाँदीजन्य सामानहरु अत्यन्तै न्यून मात्रै निर्यात भइरहेको अवस्था छ ।
व्यवसायमा उतारचढाव
बज्राचार्य सुनचाँदी व्यवसायमा संलग्न रहने क्रममा विगत १९ बर्ष देखि ललितपुर सुनचाँदी व्यवसायी संघमा निरन्तर सक्रिय रुपमा संलग्न छन् । यस क्रममा उनले सुनचाँदी व्यवसायका विभिन्न उतारचढावहरुलाई नजिकबाट महसुस गरेका छन् । सुनचाँदी क्षेत्रमा भ्याट लगाउनु हुँदैन भन्ने सम्बन्धमा सुविन आफूले निकै जोडतोडका साथ पहल गरेको सम्झन्छन् । सुनचाँदी व्यवसायमा समय–समयमा विभिन्न किसिमका समस्याहरु आइ नै रहन्छन् । मिसम्याच, रसायन, सुनको कम उपलब्धता, बीलबिजक लगायतका समस्याहरुलाई कसरी न्यूनीकरण गर्न सबैभन्दा पहिले व्यवसायीहरुलाई यस्ता नीतिगत पक्षबारे प्रशिक्षित गर्नुपर्ने सुविनको धारणा छ । साथै यस कार्यमा उनी सशक्त रुपमा क्रियाशिल समेत हुँदै आएका छन् ।
मूल्यमा उतारचढाव
सुनचाँदी क्षेत्रमा मूल्यको उतारचढावलाई सामान्य रुपमा नै लिइन्छ । अन्तर्राष्ट्रिय रुपमा डलरको मूल्यमा आएको परिवर्तनले नेपाल जस्तो विकासोन्मुख देशमा ठूलो असर पार्छ । सोही बमोजिम नेपालको सुनचाँदी क्षेत्र पनि प्रत्यक्ष रुपमा प्रभावित हुने गर्छ । 
व्यवसाय प्रति राज्यको दृष्टिकोण
नेपाल सरकारले सुनचाँदी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक बनाउन सकेको छैन । राज्यले निजी लगानीबाट सञ्चालनमा रहेका सुनचाँदी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ । यदि सरकारले राम्रो नीतिगत व्यवस्था गर्ने हो भने सुनचाँदी क्षेत्र नेपालका ठूलो परिमाणका युवाहरुलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने राम्रो माध्यम बन्न सक्छ । यद्यपि यस कार्यको लागि नेपाल सरकारले आफ्नो दृष्टिकोण परिवर्तन गरी जिम्मेवारपूर्वक आफ्नो अभिभावकत्व निर्वाह गर्नुपर्छ ।
हाम्रो आँकडाअनुसार नेपालमा अहिले २५ देखि ३५ लाखको हाराहारीमा सुनचाँदी व्यवसायीहरु नेपालभर फैलिएका छन् । यस क्षेत्रबाट करिब ३-४ लाख स्वदेशी नेपाली कालिगढहरुलाई रोजगारी सृजना हुँदै आएको छ । नेपालमा प्रयाप्त दक्ष जनशक्ति उपलब्ध हुन सक्ने अवस्था नरहेको कारण नेपालमा हुने सुनचाँदी प्रशोधन कार्यको लागि अहिले पनि करिब डेढ÷दुई लाख त विदेशी कालिगढहरुलाई नै काममा लगाउनुपरेको छ ।
औपचारिक शिक्षामा समेटिनुपर्छ
राज्यले राम्रो नीति बनाई नेपालमा सुनचाँदी क्षेत्रलाई पनि औपचारिक शिक्षामा समेट्नु जरुरी छ । यसो हुन सकेको खण्डमा नेपालमा रोजगारीको लागि बाह्य बजारबाट ल्याउनुपर्ने कालिगढलाई विस्थापित गर्न सकिन्छ ।
नेपालमा अन्य सबैजसो क्षेत्रमा लक्षता विकासको लागि तालिमहरु सञ्चालन गरिँदै आइएको छ । कतिपय तालिमहरु औपचारिक शैक्षिक कार्यक्रमको रुपमा समेटिएका छन् त कतिपय अनौपचारिक र केही छोटो अवधिको तालिमको रुपमा पनि पनि सञ्चालन गरिन्छन् । तर अहिले सम्म नेपालमा सुनचाँदी क्षेत्रमा काम गर्नको लागि न्यूनतम मापदण्ड सहितका कुनै पनि तालिमहरु सञ्चालन गरिएको छैन । यस्तो अवस्थामा सुनचाँदीको लागि पाठ्यक्रम आवश्यक छ भनेर हामीले राज्य पक्षलाई झक्झक्याउँदै आएका छौं ।
लकडाउनको असर
अहिले नेपालमा लकडाउनको कारण सुनचाँदी क्षेत्रमा निकै ठूलो प्रभाव परेको छ । नेपालमा यस क्षेत्रमा काम गर्नको लागि आवश्यक कालिगढको अभाव यस बीचमा हामीले भोग्नुप¥यो । आवश्यक जनशक्ति उपलब्ध हुन नसक्दा व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । भूकम्पको समयमा पनि व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।
प्रयाप्त सुन अभावः
अहिले पनि राज्यले सिजनमा व्यवसायीहरुलाई आवश्यकता बमोजिम प्रयाप्त सुन उपलब्ध गराउन सकेको छैन । विगतमा २० किलो उपलब्ध गराउँदै आएको सुन अहिले १० किलो मात्र उपलब्ध गराउँदै आइएको छ । यसले गर्दा बजारमा सुनको हाहाकार हुने गर्छ । बजारमा दैनिक ३० देखि ३५ किलो सुन माग भएपनि न्यून मात्र सुन उपलब्ध हुँदा व्यवसायीहरुको कारोबार खुम्चिन पुगेको छ । विगतमा झिटीगुन्टा मार्फत ५० ग्राम सम्म सुन ल्याउन पाउने व्यवस्था भएपनि अहिले यो व्यवस्था हटाइएको छ । बजारमा सुन नपाइने कारण सिजनमा व्यवसायीहरुले समस्या भोग्नुपर्ने अवस्था छ । साथै नेपालमा उपलब्ध सुनचाँदी र बहुमूल्य पत्थरहरुको राम्रोसँग प्रशोधन गरेर बाह्य बजारमा बिक्री गर्न सकेको खण्डमा नेपालमा राम्रो तवरले लाभ लिन सकिन्छ । यस बारेमा राज्यले उपयुक्त व्यवस्था गर्न सकेको छैन ।
तालिम सञ्चालनकाे लागि भएका पहलहरु
विगतमा ललितपुर उद्योग वाणिज्य संघ, व्यापार तथा निकासी प्रवद्धन केन्द्र लगायत सरोकारवाला निकायहरुसँगको सहकार्यमा सुनचाँदी क्षेत्रका छोटो अवधिका तालिमहरु ललितपुर सुनचाँदी व्यवसायी संघको पहलमा सम्पन्न भएका छन् । ती तालिमहरु निकै नै प्रभावकारी रहेको हामीले पाएका थियौं । विगतमा महिलाहरुलाई सिक्री बनाउने तालिम, परम्परागत बुट्टा काट्ने (जन्तर, क्लिप लगायत) तालिम लगायत हामीले सम्पन्न गरेका छौं । यद्यपि ती तालिममा सीमित सीटको कारण सबैलाई समेट्न सक्ने अवस्था रहेन । यस्तो अवस्थामा अब ठूलो जनशक्तिलाई लक्षित गरेर यस्ता तालिमहरु प्रदान गर्नुपर्ने आवश्यकता छ । यसबारेमा सिटिइभिटीमा कुराकानी गर्दा त्यहाँ न त सुनचाँदीको लागि पाठ्यक्रम छ न त सुनचाँदी क्षेत्रको लागि काम गर्न अग्रसरता लिन सक्ने र यस क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति नै छ । जसले गर्दा प्रक्रिया अघी बढ्न सकेको छैन ।
अन्त्यमा
सुनचाँदी तालिम सञ्चालन गर्ने कार्य निजी व्यवसायीहरुको मात्र अग्रसरताबाट सम्भव हुँदैन । यस क्षेत्रमा नयाँ व्यक्तिहरुलाई काम सिकाउन ठूलो प्रयोगशाला (कारखाना) स्थापना गर्नुपर्ने हुन्छ । यसको लागि लागत उच्च पर्न जान्छ ।
(बज्राचार्य ललितपुर चेम्बर अफ कमर्सका महासचिव हुन् । उनी ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान महासचिव समेत हुन् )
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij